राजनीति

प्रधानमन्त्रीलाई सुझाव– ४६ यताका सबै उच्च पदस्थका फाइल खोल्नुस्, हामी साथ दिन तयार छौँ

इकागज |
साउन १९, २०८० शुक्रबार १३:२९ बजे

काठमाडौँ– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २०४६ यताका सबै उच्च पदस्थहरूका फाइल खोल्न सुझाव दिएका छन् । काठमाडौँ कमलादीस्थित प्रज्ञा भवनमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई सदस्यहरूले २०४६ यताका सम्पूर्ण उच्च पदस्थ कर्मचारीदेखि नेतासम्मको फाइल खेल्न सुझाव दिएका हुन् । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्रबहादुर थिङले प्रधानमन्त्रीलाई अधिकांश सदस्यहरूले सबै उच्च पदस्थको फाइल खोल्न र त्यसका लागि आफूहरूले साथ दिने प्रतिबद्धता व्यक्त गरेको बताए । ‘प्रधानमन्त्रीले देशलाई सुशासनको जुन गति दिन खोज्नुभएको छ । त्यसमा अधिकांश सदस्यहरूले प्रतिबद्धता जनाउनुभएको छ । उहाँलाई २०४६ साल यताका सम्पूर्ण उच्च पदस्थ कर्मचारीदेखि नेताको फाइल खोल्न पनि सुझाव दिनुभएको छ,’ उनले भने, ‘उहाँले त्यो आँट गर्नुपर्ने र आँट गरेर पार्टी र सिंगो देशले प्रधानमन्त्रीलाई साथ दिनेछ ।’


बैठकमा सदस्यहरूले सुन तस्करी काण्डमा पार्टीकै नेता जोडिए पनि कारबाही गर्न सुझाव दिएको पनि उनले सुनाए । देशलाई सुशासनको गति दिन आफूहरूले प्रधानमन्त्रीलाई निर्मम हुन बताएको उनले उल्लेख गरे । ‘हामीले भनेका छौँ– देशलाई परिवर्तनको दिशातर्फ अगाडि बढाउनु तपाईंले जनयुद्धमा जुन हिम्मत देखाउनुभयो, भ्रष्टाचारविरोधी अभियानमा पनि त्यही हिम्मत देखाउनुहोस्,’ उनले भने, ‘हामीले उहाँलाई भनेका छौँ, यसपालिको जनयुद्ध सहरबाट सुरु गर्नुपर्छ ।’

माओवादीको केन्द्रीय समिति बैठक बुधबारदेखि जारी छ । आज बैठकको तेस्रो दिन हो । 


Author

थप समाचार
x