राजनीति

पक्राउ पुर्जी जारी भएपछि चन्द्रदेव जोशीले भनेः ललिता निवासबारे निर्णय हुँदा म मन्त्री थिइनँ

इकागज |
साउन २२, २०८० सोमबार १२:३ बजे

फाइल तस्बिर

काठमाडौँ-  पूर्वमन्त्री चन्द्रदेव जोशीले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफूलाई पक्राउ पूर्जी जारी भएपछि अनुसन्धान गर्ने निकायलाई पूरा सहयोग गर्ने बताएका छन् । नेता जोशीले सोमबार फेसबुकमा स्टाटस लेखी आफूलाई पक्राउ पूर्जी जारी भएपछि अनुसन्धान गर्ने निकायलाई पूरा सहयोग गर्ने बताएका हुन्।

२०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषदमा निर्णय हुँदा आफू मन्त्री पदमा नरहेको समेत प्रष्ट पारेका छन् ।


‘वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा मेरो पुरै समर्थन छ । देशमा नासुरको रुपमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो । लगातार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ । अनुसन्धान निकायलाई मेरो पूरा सहयोग रहनेछ,’ उनले भनेका छन्,’ मन्त्रिपरिषदबाट मैले त्यसअघि नै असोज ४ गतेको मितिमा राजीनामा गरिसकेको थिएँ । म २०६९ जेठ ३ देखि असोज ४ गते सम्ममात्र तत्कालीन बाबुराम भट्टराई मन्त्रिपरिषदमा रहेको हुँ । म पछि तत्कालीन मन्त्रिपरिषदका अर्का सदस्य टोपबहादुर रायमाझीले मैले सम्हाल्दै आएको मन्त्रालय सम्हालेको जानकारी त्यसबखत पाएको हुँ ।‘

मन्त्री छोडेपछि भएको निर्णयबारे आफूलाई थाहा नभएको प्रस्ट पारेका छन् । ‘पछिल्लो समय समाचार माध्यम नै मेरो जानकारीका श्रोत भएका छन्,’ उनले उल्लेख गरेका छन् ।

 


Author

थप समाचार
x