राजनीति

सदनको अवरोध हटाउन शीर्ष नेताहरूबीच फेरि बैठक सुरु, जुट्ला त सहमति ?

इकागज |
साउन २२, २०८० सोमबार १६:४० बजे

काठमाडौँ– संसद् अवरोध हटाउने विषयमा सहमति जुटाउन शीर्ष नेताहरूबीच फेरि बैठक बसेको छ । बैठक सभामुख देवराज घिमिरेको पहलमा केही बेरअघि बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । 


सदनकाे अवरोध हटाउन शीर्ष दलका नेताहरू सोमबार दिँउसो १२ बजे पनि बैठक बसेको थिए । तर, उक्त बैठकबाट निष्कर्ष निस्किएन । निष्कर्ष ननिस्किएपछि पुनः बस्नेगरी बैठक​ स्थगित भएको थियो । 

दलहरूबीच सहमति जुट्न नसकेकै कारण प्रतिनिधिसभा करिब दुई सातादेखि बस्न सकेको छैन । बुधबार दिउँसो १ बजेलाई तय गरिएको बैठक पनि ४ बजेलाई सरेको थियो । तर, बैठक अझै सुरु हुन सकेको छैन । 

राष्ट्रियसभाको सोमबारको बैठक भने स्थगित भएको छ । बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक स्थगित भयो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधिसभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ ।
 


Author

थप समाचार
x