राजनीति

एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

इकागज |
साउन २६, २०८० शुक्रबार १३:३६ बजे

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधको कारण प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि स्थगित भएको छ । सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको मागसहित एमालेले प्रतिनिधिसभा बैठक स्थगित भएको हो । 

बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएका थिए । सत्तापक्षका सांसदले बोल्ने समय माग्दै उठेर अवरोध गरेका थिए । साहले बोलेलगत्तै एमाले सांसदहरु नाराबाजीसहित रोस्टमअगाडि उभिए थिए । त्यसपछि घिमिरले सांसदहरुलाई बस्न आग्रह गरेका थिए । तर, एमालेका सांसदहरुले आफ्नो अडान नछाडेपछि सभामुख घिमिरेले कार्यसूचीका सबै विषय हटाएर सोमबारसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिए । 


एमालेले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समितिको माग गर्दै दुई सातादेखि संघीय सदनअन्तर्गतका दुवै सदन अवरुद्ध पार्दै आएको छ । एमालेको विरोधकै कारण शुक्रबारको राष्ट्रिय सभाको बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । साउन १० गतेयता दुवै सदनको बैठक बस्न सकेको छैन । 
 


Author

थप समाचार
x