संसदमा प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले विरोध गर्यो : सांसद पन्त
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा विरोध गरेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सांसद पन्तले संसदमा आज प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर विरोध जनाएको घटना संसदमा पहिलो पटक देखेको बताए । उनले सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिने कुरा संसदीय मान्यता विपरीत भएको जिकिर गरे ।
‘संसदमा बिरलै देखिने दृश्य आज देखियो । सामान्यतया संसद् सत्ता पक्षले चलाउन चाहन्छ, प्रतिपक्षले आफ्ना कुरा राख्न चाहन्छ । संसद् सुरु भएर मुख्य प्रतिपक्ष दलको सांसद माननीय ज्वाला साहलाई सभामुखले बोल्न समय दिनासाथ सत्ता पक्षका सबै सांसदहरू उठेर उहाँलाई बोलेको कुरा नसुनिने गरी होहल्ला गरेर बोल्नै नदिने अवस्था भयो । यो संसदीय मान्यताअनुसार भएन । आज संसद् चल्नै नदिने कुरामा यो भन्दा अघि पनि र आज पनि त्यो अवस्था देखियो,' उनले भने, 'यो भन्दा अघि मैले यो दृश्य संसदमा देखेको छैन । यो अत्यन्त दुःखलाग्दो र खेदजनक कुरा हो । लम्पी स्किन, बाढी पहिरोको समस्या थियो, संसदमा ध्यानाकर्षण गराउन चाहन्थ्यौँ । तर, सत्ता पक्षले नै विरोध गरेको छ । राजश्वले छानबिन गरोस्, ठीक, सिआइबीले छानबिन गरोस् तर त्यसलाई असर नपर्ने गरी सुन काण्डको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन राज्यलाई कसले रोकेको छ ? सुन तस्करको नायिकेसम्म पुग्न सरकारलाई कसले रोक्यो ।’
सांसद पन्तले सिआइबी र राजश्व अनुसन्धानलाई असर नपर्ने गरी सुन तस्करी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउन सरकारलाई केले रोकेको हो ? भन्दै प्रश्न गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया