कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिँदैनन् : प्रकाश ज्वाला
काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले आइतबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा मन्त्री ज्वालाले सरकारले अहिले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा निर्ममतापूर्वक काम गरेको भन्दै यस्तो बेलामा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुको कुनै तुक र अर्थ नहुने स्पष्ट पारेका हुन् ।
वर्तमान सत्ता–गठबन्धन संसद्को पूरा अवधिसम्म कायमै रहने उनले बताए । उनले एक क्विन्टल सुन तस्करीबारे सिआईबीले छानबिन गरिरहेको उल्लेख गर्दै अनुसन्धान जरैसम्म पुग्ने र दोषीहरूमाथि कारबाही हुने दाबी गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणदेखि सुन तस्करीसम्मको कुरा गर्दा, सरकारले दोषी नछुट्ने र निर्दोष नफस्ने ढंगले अनुसन्धान गरिरहेको उनको भनाइ छ । यस्तै, ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको मन्त्री ज्वालाको दाबी छ ।
मन्त्री ज्वालाले निर्माण व्यवसायीहरूको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण भएको र माग पूरा गर्नतर्फ लागेको स्पष्ट पारे । निर्माण व्यवसायीहरूको भुक्तानीको मागको विषय जायज भएको उनले बताए ।
उनले आफू मन्त्रालयमा आएपछि भौतिक पूर्वाधार र यातायात दुवै क्षेत्रमा राम्रो काम गरेको जिकिर गरे । उनले यातायात व्यवस्थामा अस्तव्यस्तता रहेको स्वीकार्दै सो क्षेत्रमा पनि सुधारका कार्यक्रम अघि बढाएको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया