राजनीति

जनताको सेवालाई पहिलो प्राथमिकता दिनेछु : नवनियुक्त मन्त्री साह

इकागज |
साउन २९, २०८० सोमबार १४:१० बजे

काठमाडौं–नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताएकी छिन् ।

सोमबार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी उनले आफ्नाे मन्त्रालयले आम नागरिकलाई दिने सेवा सहज ढंगले अघि बढाउने कामलाई आफूले प्राथमिकता दिने बताएकी हुन् ।


सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री साहले आम नागरिकको लागि मन्त्री पदको जिम्मेवारी लिएकाले संविधानले दिएको जिम्मेवारी अनुसार आफू अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । पार्टीले दिएको निर्देशन अनुसार भन्दा पनि संविधानको व्यवस्था अनुसार आफूले काम गर्ने उनको भनाइ थियो ।

जनमत पार्टीको तर्फबाट साह मन्त्री पदमा नियुक्त भएकी हुन् । यसअघि माओवादी केन्द्रको तर्फबाट सो मन्त्रालयको जिम्मेवारी लिनुभएका अमनलाल मोदीलाई साउन २८ गते आईतबार (हिजो) मन्त्री पदबाट फिर्ता बोलाइएको थियो । जनमत पार्टी एक मन्त्रीसहित पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको थियो । अब्दुल खानलाई प्रधानमन्त्री दाहालले खानेपानी मन्त्रालयको जिम्मेवारी दिए पनि चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत पार्टी सरकारबाट बाहिरिएको थियो ।
 


Author

थप समाचार
x