राजनीति

‘संसद् हाइज्याक भयो’

इकागज |
साउन २९, २०८० सोमबार १६:२४ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले संसद हाइज्याक भएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठक पनि नेकपा एमालेले अवरूद्ध गर्दा स्थगित भएपछि सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै संसद् हाइज्याक भएको बताए । 

सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान एमालेले राखेपछि प्रतिनिधिसभाको सोमबारको बैठक पनि स्थगित भएको छ । सोमबार बैठक सुरु भएपछि एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए । 


त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुनील शर्मालाई बोल्न दिएका थिए । उनले बोलेलगत्तै एमालेका सांसद मानवीर राईले बोल्ने मौका पाएका थिए । उनले सत्तापक्षले सुन प्रकरणमा छानबिन गर्न कुनै मनसाय नदेखाएको र सरकारले अरुको कुरा नसुनेको भन्दै विरोध जनाएका थिए । त्यसपछि सत्ता पक्षबाट माओवादी सांसद हितराज पाण्डेले आतङ्ककारी शब्द प्रयोग भएकोमा नियमापत्ति जनाएका थिए ।

त्यसपछि पनि एमाले सांसदहरूले निरन्तर उठेर विरोध जनाएका थिए । एमाले सांसद नाराबाजीमा उत्रिएपछि बैठक आइतबारसम्मका लागि स्थगित भएको थियो । 

एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन नभएसम्म प्रतिनिधिसभा चल्न नदिने निर्णय गरेको थियो । जसका कारण प्रतिनिधिसभा र राष्ट्रियसभा लगातार स्थगित भइरहेको छ । 


Author

थप समाचार
x