राजनीति

उपयुक्त पशु ल्याब स्थापना गर्न सरकारलाई आरजुकाे सुझाव

इकागज |
साउन ३२, २०८० बिहीबार १९:१४ बजे

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सरकारले पशुमा लाग्ने रोगहरूको अनुसन्धान गर्न जरुरी रहेको बताएकी छिन् ।

बिहीबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद राणाले अहिले पशुहरूमा विभिन्न रोगहरू लागिरहेको भन्दै पशुमा लाग्ने रोगहरूको अनुसन्धान गर्न जरुरी रहेको बताएकी हुन् । उनले उपयुक्त पशु ल्याब स्थापना गर्न सरकारलाई सुझाव दिइन् ।


राणाले भनिन्, ‘भ्याक्सिनका लागि ल्याब तयार पार्न मन्त्री ज्युले शून्य बजेट छ भन्नुभएको छ । राम्रो पशु ल्याब ल्याउन सरकारलाई सुझाव दिनुपर्ने देख्छु मैले । हामी कृषि प्रधान देश भन्छौं तर, पशु स्वास्थ्य ल्याब राम्रो छैन भनिरहेका छौँ । यो रोगपछि के के आउँछ त ? सरकारले पशुमा लाग्ने रोगहरूको अनुसन्धान गर्न जरुरी छ ।'

उनले नेपाललाई कृषि प्रधान देश भनिए पनि उपयुक्त पशु ल्याब नहुनु दुःखद पक्ष रहेको बताइन् । सांसद राणाले यो रोग मान्छेमा पनि सर्छ कि क्या हो ? भन्दै प्रश्न गरिन् ।  

उनले भनिन्, 'यो त त भेक्टर डिजीज रहेछ । किर्नाबाट पनि हुने, लामखुट्टेबाट पनि हुने, डर चाही मलाई के लाग्यो भने यो रोग मान्छेमा पनि सर्छ कि क्या हो । धेरै रोगहरू जलवायु परिवर्तनले गर्दा लाग्ने गरेका छन् । ह्युमन ट्रान्सफर हुने चान्स पनि देखिइरहेको छ । पशु भ्याक्सिन उत्पादन गर्ने कुरा राम्रो हो । पशु पारासिटामोल समेत नपाएर मरेको भन्नेछ । सबैभन्दा धेरै गरिब ठाउँमा पशु संक्रमण भएको देखिएको छ । गरिब र धनी ठाउँमा न्याय दिलाउने गरि सरकारले राहत दिनुपर्छ । स्थानीय सरकार र प्रदेश सरकारसँग कत्तिको समन्वय गर्नुभएको छ ?’ 


Author

थप समाचार
x