उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री गुरुङ
फाइल तस्बिर
काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन् ।
शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानुनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने बताएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरू सबैको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने जिकिर गरे ।
गुरुङले सरकार मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिबद्ध रहेको प्रष्ट्याए । बजारमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणसँगै अहिले सुन काण्ड आएको भन्दै सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताए । उनले भ्रष्टाचारको लिङ्ग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अगाडि बढ्ने बताए ।
मन्त्री गुरुङले भने, 'मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिबद्ध छौं । सरकारको मिसन सुशासन कायम गर्ने हो । यो मुलुकमा सुशासन स्थापना गर्न र भ्रष्टाचार मुक्त बनाउनका लागि टिप्पणी उठाउनेहरूको हातमा मात्रै हतकडी लगाएर सुशासन स्थापना गर्न सकिँदैन भन्ने कुरामा हामी प्रष्ट हुनु आवश्यक छ । जसले टिप्पणी उठाउँछ, तीनका हातहरूमा हतकडी लगाउने र फेरि टिप्पणी उठाउन आदेश दिनेहरूलाई तिनै टिप्पणी उठाउनेहरूको हातमा हतकडी लगाउनेहरूलाई हतकडी लगाउने हातले फेरि आदेश दिनेहरूलाई सलाम ठोक्ने प्रवृत्तिको अन्त्य खोज्नुपर्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया