राजनीति

कांग्रेस रुपान्तरणमा लागेका नेताले भने : प्रहरी अधिकारीको सरुवाले निष्पक्ष छानबिनमा गम्भीर प्रश्‍न उठ्यो

इकागज |
भदौ ७, २०८० बिहीबार १४:१३ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सात नेताले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरेका  प्रहरी अधिकृतको सरुवाप्रति आपत्ति जनाएका छन् ।

बिहीबार जारी गरिएको विज्ञप्‍तिमा भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुलाई अस्वाभाविक रुपमा सरुवा गरिनुले निष्पक्ष छानबिन माथि नागरिक तहमा गम्भीर प्रश्न उठेको बताइएको छ । नागरिक तहमा भएको आशंकाबाट राज्य पन्छिन नमिल्ने उनीहरूको धारणा छ ।


१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीको सरुवा गर्‍यो । त्यसैगरी, गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीको पनि सरुवा गरेको छ ।

‘विभिन्न चर्चित भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुलाई अस्वाभाविक रुपबाट सरुवा गरिनुले निष्पक्ष छानबिन माथि नागरिक तहमै गम्भीर प्रश्न उठेको छ । यो आशंका मात्र हो भनेर राज्य पन्छिन मिल्दैन,’ विज्ञप्‍तिमा भनिएको छ ।

नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवा नेताहरु मधु आचार्य, डा. गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, रञ्जित कर्ण, देवराज चालिसे, भुपेन्द्रजङ्ग शाही, भरत बहादुर खड्का र सुवास लोहनीले विज्ञप्ति निकालेर प्रहरी सरुवाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल सुधार नहुनुमा अनियन्त्रित भ्रष्टाचार भएको उनीहरुको निष्कर्ष छ ।

‘अहिले अनुसन्धानका क्रममा रहेका नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास जग्गा काण्ड तथा क्विन्टल सुन प्रकरणलाई निष्पक्ष रुपमा अघि बढाइ सरकारले तार्किक निष्कर्षमा पर्छ’ विज्ञप्तिमा बताइएको छ ।

भ्रष्टाचारका घटनाहरूको को छानबिनमा कुनै प्रकारको नेतागत वा पार्टीगत लेनदेन, साँठगाँठ वा पक्षधरता मान्य नहुने उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विधिको शासन सरकार संचालनको अभ्यासमा मात्र होईन पार्टी संचालनमा पनि देखिनु पर्ने बताइएको छ । विधि र पद्धतिको कमजोर उपस्थितिले पार्टी संचालनलाई गति दिदैन , संगठन क्षतिग्रस्त हुने उनीहरूको भनाइ छ ।

नेपाली कांग्रेसले भरखरै गठन गरेका भ्रातृसंगठनहरुमा विधानको गम्भीर उल्लंघन गरेको उनीहरूले आरोप लगाएका छन् । ‘नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको वैधानिक व्यवस्था विपरीत भीमकाय तदर्थ समिति गठन गरिएकोमा हाम्रो असहमति छ, गंभिर आपत्ति छ,’ विज्ञप्‍तिमा प्रस्ट पारिएको छ,’ यसबाट सम्बन्धित संगठन र नेपाली कांग्रेस कसैको पनि हित हुदैन भन्ने हाम्रो प्रष्ट ठहर छ ।‘

जिल्लामा काम गरिरहेका साथीहरुलाई हतोत्साहि तुल्याउने, संगठनलाई कमजोर बनाउने यसप्रकारको निर्णय अविलम्ब फिर्ता गर्न उनीहरूले माग गरेका छन् । पार्टीले तोकेको समयसीमा भित्र महाधिवेशन सम्पन्न गर्नेतर्फ केन्द्रीत रहन उनीहरूले आग्रह गरेका छन् ।

कैलाली र पर्सा जिल्लाको संगठन निर्माण र परिचालनमा उल्लेख्य योगदान गरिरहेक लोकराज भट्ट "आगो" र क्षेत्रीय सभापति अरबिन्द गुप्तामाथि निराधार गरिएको कारबाही अबिलम्ब फिर्ता लिन माग गरेका छन् ।

नेपाली कांग्रेस रुपान्तरण अभियानको प्रेस विज्ञप्ति 

१ नेपालको वर्तमान परिस्थिति पछिल्ला बिकसित राजनीतिक घटनाक्रमहरुका कारण थप पेचिलो बन्दै गएको छ। मुलतः लोकतान्त्रिक शासन प्रणालीलाई सबल तथा सफल बनाउने आधार भनेकै सुशासन हो।सुशासनलाई सुनिश्चित गर्ने प्रमुख बिषय भ्रष्टाचारको नियन्त्रण हो। तर यस विपरीत नेपालमा अनियन्त्रित भ्रष्टाचार सस्थागत हुदै गईरहेको देखिन्छ। यसै क्रममा हाल अनुसन्धानका क्रममा रहेका नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास जग्गा काण्ड तथा सुन तश्करी प्रकरणको अनुसन्धान निष्पक्ष रुपमा अघि बढोस र तार्किक निष्कर्षमा पुगोस भन्ने जनचाहनालाई सरकारका पछिल्लो गतिविधिमा सन्तोष गर्ने ठाऊ दिएको छैन। हामि स्पष्ट गर्न चाहन्छौ कुनैपनि बहानामा यसमाथि भईरहेको अनुसन्धान प्रभावित हुनु वा रोकिनु हुदैन, भ्रष्टाचारका घटनाहरुको छानवीनमा कुनैं प्रकारको नेतागत वा पार्टीगत लेनदेन, साँठगाँठ वा पक्षधरता कदापि मान्य हुने छैन । यसका अतिरिक्त हाम्रो स्पष्ट माग छ भ्रष्टाचार सम्बन्धि यति, ओम्नी, वाइडबडी, फोर जी, सेक्युरिटी प्रिंटिंग प्रेस लगायतका सम्पूर्ण फाइल खोलि अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाईयोस । भ्रष्टाचारमुक्त समाज नेपाली काग्रेसको प्रतिवद्दता हो र यस कदममा वर्तमान सरकारलाई नेपाली कांग्रेसले पूर्ण रुपमा साथ सहयोग पुर्याउनु पर्दछ ।यसै बिच विभिन्न चर्चित भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुलाई अस्वाभाविक रुपबाट सरुवा गरिनुले निष्पक्ष छानबिन माथि नागरिक तह मै गम्भीर प्रश्न उठेको छ। यो आशंका मात्र हो भनेर राज्य पन्छिन मिल्दैन ।

२. नेपाली कांग्रेस विगत आठदशक देखि बिधिको शासन स्थापनाका लागि अनवरत सघर्षरत नेपालको पुरानो प्रजातान्त्रिक राजनीतिक दल हो। बिधिको शासन सरकार संचालनको अभ्यासमा मात्र होईन पार्टी संचालनमा पनि देखिनु पर्दछ। विधि र पद्धतिको कमजोर उपस्थितिले पार्टी संचालनलाई गति दिदैन , संगठन क्षतिग्रस्त हुन्छ। यस सन्दर्भमा नेपाली कांग्रेसले भरखरै गठन गरेका भ्रातृसंगठनहरुमा बिधानको गम्भीर उल्लंघन भएको तर्फ हाम्रो ध्यान आकर्षित भएको छ। खासगरि नेपाल बिद्यार्थी संघ र नेपाल तरुण दलको बैधानिक व्यवस्था बिपरित भिमकाय तदर्थ समिति गठन गरिएकोमा हाम्रो असहमति छ, गंभिर आपत्ति छ। यसबाट सम्बन्धित संगठन र नेपाली कांग्रेस कसैको पनि हित हुदैन भन्ने हाम्रो प्रष्ट ठहर छ। यसैगरी नेपाल महिला संघ केन्द्रीय तदर्थ समितिले विभिन्न जिल्लामा कार्यरत पुराना तथा निर्वाचित सभापतिहरुलाई अपदस्थ गरेको खबर प्राप्त भएका छन। जिल्लामा काम गरिरहेका साथीहरुलाई हतोत्साहि तुल्याउने, संगठनलाई कमजोर बनाउने यसप्रकारको निर्णय अविलम्ब फिर्ता लिन तथा पार्टीले तोकेको समयसीमा भित्र महाधिवेशन सम्पन्न गर्नेतर्फ केन्द्रीत रहन स्पष्ट निर्देशन दिनुपर्दछ भन्ने हाम्रो आग्रह छ।

३. यसै बिच बिभिन्न जिल्लामा देखिएका विवाद तथा समस्या हरूलाई मर्यादित र विवेकपू्र्ण रूपमा समाधान गर्न पार्टी गंभीर हुनुपर्नेमा त्यस्तो तदारुकता देखिएको छैन। तर यस विपरीत विपरीत कैलाली र पर्सा जिल्लाको संगठन निर्माण र परिचालनमा उल्लेख्य योगदान गरिरहेका क्रमशः श्री लोकराज भट्ट "आगो" र क्षेत्रीय सभापति श्री अरबिन्द गुप्तालाई कार्वाही गरिएको प्रचार गरिएको छ। उनीहरु माथिको निराधार कारबाही अबिलम्ब फिर्ताको माग समेत गर्दछौं।  जय नेपाल !

नेपाली कांग्रेस रुपान्तरण अभियान गुरुराज घिमिरे- कोशी रञ्जित कर्ण- मधेस मधु आचार्य- बागमति देवराज चालिसे -गण्डकी डा.गोबिन्दराज पोख्रेल- लुम्बिनी भुपेन्द्रजङ्ग शाही- कर्णाली भरत बहादुर खड्का- सुदुरपश्चिम सुवास लोहनी- डायस्पोरा


Author

थप समाचार
x