राजनीति

एमालेका ‘घाटे वैद्यहरू’का कथा-व्यथा

आकाश क्षेत्री |
जेठ १०, २०७८ २०:४८ बजे

काठमाडौं : २६ बैशाख, २०७८ । एमालेजनलाई ‘औडाहा’ भएको दिन । सिंहदरबारस्थित लेखा समितिको हल बन्द थियो । त्यो हलमा कुनै औपचारिक बैठक थिएन । जहाँ एमालेका विद्रोही सांसदहरूको भेला थियो । तिनको छलफल सकिएको आधा घन्टा भइसकेको थियो । तर, कुनै सांसदहरू हलबाट बाहिर निस्किएका थिएनन् ।

अचानक सांसद रामकुमारी झाँक्री बाहिर निस्किइन् । पानी खोजिरहेकी रहिछन् । संचारकर्मीले छेवैमा रहेको अर्थ समितिको हलमा पानीका बोत्तल हुन सक्ने अनुमान लगाए । अर्थ हलतिर दौडिँदै झाँक्रीले भनिन्- ‘साथीहरूलाई औडाहा भयो रे क्या !’
  
एमाले नेताहरू राजनीतिक इतिहासमा ‘विचित्र लिला’ लेख्दैछन् । जसका पटाहरू अनेक छन्, किस्साहरू अनेक छन् । जसमध्येका एउटा किस्सा त्यही लेखा समितिको हलले पनि देख्यो । 


बैशाख २५ गते एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरू पदबाट राजीनामा दिन सिंहदरबारस्थित संसद् सचिवालयमा जम्मा भएका थिए । तर, यो खेमाले राजीनामा दिएन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘अल्टिमेटम’ दिएर फर्कियो । 

२५ बैशाख साँझ ७ बजे दिइएको ‘अल्टिमेटम’ २६ बिहान ९ बजे सकिनेवाला थियो । दिउँसो १ बजे प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा ‘विश्‍वासको मत’ लिँदै थिए । तर, वरिष्ठ नेता नेपाल समूहका सांसदहरू भने लेखा समितिको हलमा राजीनामा बुझाउन जम्मा भएका थिए ।
 
अघिल्लो साँझ दिएको ‘अल्टिमेटम’ले कामै गरेको थिएन । खेमामा मतभेत सुरु भइसकेको थियो । राजीनामाको विकल्प खोज्नुपर्ने माग सांसदहरूले राख्‍न थाले । अन्ततः एमालेको यो खेमा राजीनामा दिने निर्णयबाट पछाडि हट्यो । सहमति भयो, प्रधानमन्त्रीले ‘विश्वासको मत’ लिने बैठकमै उपस्थित नहुने ।

एमालेका ‘घाटे वैद्यहरू’ले हार मानेका थिएनन् । बैठक सकियो । नेपाल खेमाका शीर्ष नेताहरूले लेखा समितिको हल छाडिसकेका थिए । तर, केही युवा सांसदहरू हलमै बसिरहेका थिए । तिनै सांसदहरूलाई हो ‘औडाहा’ भएको । 

घाँटी सुकेपछि झाँक्रीले ‘औडाहा’ भएको भन्दै पानी खोज्न हलबाट बाहिर निस्किएकी थिइन् । केही समयपछि गोकर्ण विष्ट पनि बाहिर निस्किए । बैठक सकिएपछि पनि केही संचारकर्मीहरू त्यहीँ थिए । विष्ट अनौपचारिक रूपमा गफ गर्ने मुडमा देखिन्थे ।
 
विष्टले अनौपचारिक रूपमै एउटा कथा सुनाए  । कथा ‘घाटे वैद्य’को थियो । कथा यसरी सुरु हुन्छ :
कुनै मान्छे बिरामी हुन्छ, उसलाई देश विदेशका ठूलाठूला अस्पतालमा पुर्‍याइन्छ । तर, बिरामीको स्वास्थ्य ठीक हुँदैन । उसको स्वास्थ्य झनै बिग्रिन्छ । डाक्टर बिरामी ठीक नहुने घोषणा गर्छन् । सबैले आश मार्छन् । स्वास्थ्य अवस्था निकै कमजोर भएपछि अन्ततः बिरामीलाई घाटमा पुर्‍याइन्छ । तर, बिरामीलाई घाटमा पर्‍याएपछि झिनो आशा बाँकी नै हुन्छ । घाटमा कुनै डाक्टर हुँदैन । घाटमा बस्ने वैद्यले नै बिरामीको उपचार गर्छ । बिरामी बाँच्‍ने आशा त कसैलाई हुँदैन, तर घाटे वैद्यले बिरामीलाई अन्तिम प्रयास गरिरहन्छ ।

एमालेभित्रका प्रभावशाली युवा नेता विष्टले कथालाई टुंग्याएनन् । बरु उनले घाटे वैद्यको विशेषता सुनाए । उनले भने, ‘घाटे वैद्यको काम अन्तिमसम्म पनि बिरामीलाई बचाउने प्रयास गर्नू नै हो । विष्टले अन्त्यमा भने, ‘हामीले एमालेभित्र घाटे वैद्यको काम गरिरहेका छौँ, हेरौँ के हुन्छ ।’
 
विष्टको कथामा रहेको बिरामी सत्तारुढ नेकपा एमाले थियो । जो घाटमा पुगिसकेको थियो, तर एमालेमा केही युवा नेताहरूले एमाले फुट जोगाउन प्रयास गरिरहेका थिए । उनीहरू एमाले घाटमा पुगिसकेको संकेत गरिरहेका थिए । आफूलाई ‘घाटे वैद्य’को रूपमा चित्रित गरिरहेका थिए ।

त्यसो त, त्यही ‘घाटे वैद्य’को कथा जनमोर्चा नेता चित्रबहादुर केसीले कुनै बेला संसदभित्रै सुनाएका थिए, त्यो पनि एमालेकै हकमा । खासमा एमालेमा बेलाबखत स्पष्ट निर्णय लिन नसक्ने सन्दर्भ जोड्दै ‘घाटे वैद्य’ले सिकिस्त बिरामीका हकमा हात मात्रै हल्लाएको कथासँग जोडेका थिए  । जब बिरामी मर्थ्यो, अनि मुख खोल्थे, मैले मर्छ भनेको होइन । तर जब बाँच्थ्यो । तब मैले बाँच्छ भनेको होइन भनी घाटे वैद्यले जस लिन खोज्थ्यो रे । उनले एमालेको ‘द्वैध चरित्र’माथि व्यंग्य कस्‍न ‘घाटे वैद्य’ सूत्र प्रयोग गरेका थिए ।

वरिष्ठ नेता नेपाल समूहबाट विष्टसहित योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत र ओली समूहबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेललगायतका नेता ‘घाटे वैद्य’को भूमिकामा थिए । प्रधानमन्त्री ओलीले विश्‍वासको मत लिनुअघि सिंहबारबारमा यी सबै ‘घाटे वैद्य’ले छलफलसमेत गरे । तर, वरिष्ठ नेता नेपाल समूह आफ्नो निर्णयबाट पछाडि हटेन । नेपाल पक्षका सांसदहरू प्रधानमन्त्री ओलीले विश्‍वासको मत लिने बैठकमा उपस्थित भएनन् । र, विश्‍वासको मत फेल भयो । 

ओलीको सदाबहार रणनीति हो, ‘अरुलाई प्रयोग गर्ने र फुटाउने, आफू शक्तिशाली हुने र त्यसपछि प्रयोगमा आएका फालिदिने ।’ त्यो स्वभाव हेर्दा घाटे-वैद्यहरू घर न घाटको हुने निश्‍चित छ ।

अब एमाले वृत्त निर्णयक मोडमा थियो । अर्कोतिर ‘घाटे वैद्य’ लागिरहेकै थिए । यतिकैमा नेपाली राजनीतिमा ‘विचित्र लिला’को अर्को अध्याय सुरु भयो । ३० बैशाखमा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त भए । ओलीले लिएको विश्वास मतदानमा सहभागी नभएका २८ सांसदको समर्थनमा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका थिए । ओली-नेपालबीच एमालेभित्र विवाद टुंग्याउन कार्यदल बनाउनेसमेत सहमति भयो । यो सहमतिपछि घाटमै पुगेको एमालेले अलिअलि सास फेर्न थाल्यो । तर, त्यसैमा नयाँ अड्को देखापर्‍यो, राष्ट्रिय सभा उपनिर्वाचन । 

स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा र रामबहादुर थापा दुवै एमालेको समर्थन प्राप्त उम्मेदवार थिए । अप्ठ्यारो परिस्थितिमा ओलीलाई साथ दिएका थापा र ओलीका कदमलाई ‘प्रतिगमन’ भन्‍ने देवकोटा टक्करमा थिए । ६ जेठमा भएको उपनिर्वाचनमा देवकोटा विजयी भए । ओलीले यो जितलाई सहनै सकेनन् । यही दिन सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घन्टे म्याद जारी गरिन् ।

यही बिन्दुबाट सास फेर्न थालिरहेको एमाले फेरि छट्पट्टिन थाल्यो । यतिबेलासम्म ‘घाटे–वैद्य’ तितर–बितर हुन थालिसकेका थिए । एमालेका वरिष्ठ नेता नेपाल खेमा विपक्षी गठबन्धनमा सामेल भयो र नयाँ सरकार गठन गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई अघि सार्‍यो । 

तर, एमाले जोगाउन आफूलाई ‘घाटेवैद्य’ चित्रित गर्ने नेपाल खेमाका नेता भट्टराई ओली खेमातिर पुगे । उनले देउवाको पक्षमा हस्ताक्षर गरेनन् । उनले फेसबुकमा लेखे, ‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज  । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्‍ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेँ कि गलत गरेँ इतिहासको कठोर मूल्यांकनमा खडा छु ।’

७ जेठको मध्यरातमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनः विघटन गरेर निर्वाचन घोषणा गरिदिए । एमालेको नेपाल खेमा पनि विपक्षी गठबन्धनमा उभियो । जब प्रधानमन्त्री ओलीविरुद्ध आवाज उठाउने मामिला अगाडि आयो नेपाल खेमाका घाटे वैद्यहरू ओली खेमातिर देखिए । जसमध्येका पहिलो व्यक्ति थिए, ‘उनै भट्टराई ।’

तर, सोमबार एमाले जोगाउन लागेका थप घाटे वैद्यहरूले विपक्षी गठबन्धनबाट छुट्टिए । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न तयार पारिएको पत्रमा वरिष्ठ नेता नेपाल समूहका थप ३ सांसदले हस्ताक्षर गरेनन् । जसमा गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडी छन् । 

एमाले जोगाउने अभियानका ‘घाटे-वैद्यहरू’ आफै बिरामी हुने अभियानमा लागेका छन् । कोही स्वार्थका कारण र कोही राजनीतिक भविश्यका कारण युवा नेताहरू ओली खेमामा गएका हुन् । तर तिनीहरूको भविष्य सुरक्षित छैन । किनभने ओलीको सदाबहार रणनीति हो, ‘अरुलाई प्रयोग गर्ने र फुटाउने, आफू शक्तिशाली हुने र त्यसपछि प्रयोगमा आएका फालिदिने ।’

ओलीकाे एमालेभित्र घाटे वैद्यहरूकाे अवस्था के होला ? ओलीको स्वभाव दोहोरिएला ? हामीसँग पर्खने समय छ ।



Author

आकाश क्षेत्री

संसदीय मामिलाको रिपोर्टिङ गर्ने क्षेत्री राजनीतिक संवाददाता हुन्।


थप समाचार