राजनीति

कर्णाली सरकारमा सामेल हुँदै कांग्रेस

लक्ष्मी भण्डारी |
जेठ २०, २०७८ बिहीबार १६:२ बजे

सुर्खेत : कर्णाली प्रदेशमा नेपाली कांग्रेस सरकारमा जाने तयारी गरेको छ । दुईवटा मन्त्रालयसहित कांग्रेस सरकारमा जाने तयारी गरेको हो । 

प्रदेश सभा सांसद दिनबन्धु श्रेष्ठले बिहीबार नै कांग्रेस सरकारमा जाने तयारी गरेको बताए । ‘सरकारमा जाने  विषयमा तयारी भइरहेको छ’ सांसद श्रेष्ठले भने, ‘आज या भोलीसम्म मन्त्रीपरिषद्ले निर्णय गर्छ ।’ 


कांग्रेसले सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई पठाउने तयारी गरेको छ । मुख्यमन्त्रीको पद जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको कांग्रेसले दुईवटा मन्त्रालय माग गरेको थियो । 

पछिल्लो समय कांग्रेसले सामाजिक विकास मन्त्रालयबाट अलग्याएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभिएको युवा तथा खेलकुद कार्यक्षेत्रलाई सामाजिकमै ल्याउनुपर्ने सर्त राखेको थियो । मुख्यमन्त्री निकट स्रोतले आज बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयको कार्यक्षेत्र हेरफेरको निर्णय गर्ने बतायो । 

विश्वासको मत पाए लगत्तै सरकारमा जाने सहमति भए पनि मन्त्रालयको संख्या ८ पुर्‍याएर कांग्रेसलाई एउटा मात्र दिन खोज्दा कांग्रेस सत्तामा गएको थिएन । कांग्रेससँग कुरा नमिलेपछि माओवादी केन्द्रले मन्त्रीमा सिफारिस भइसकेका विन्दमान विष्टलाई ‘ब्याक’ गर्दै कांग्रेसका लागि दुइटा मन्त्रालय दिने निर्णय गरेको थियो । 

कर्णाली सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ३ जना र एमालेबाट फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका ३ जना छन् । हाल ३५ सदस्य रहेको प्रदेशसभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।  
 


Author

थप समाचार
x