राजनीति

कर्णाली प्रदेश : कांग्रेसबाट सहभागी दुई मन्त्रीले लिए सपथ

लक्ष्मी भण्डारी |
जेठ २३, २०७८ आइतवार १५:१९ बजे

 सुर्खेत : कर्णाली सरकारमा थपिएका दुई मन्त्रीले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । काँग्रेस सरकारमा सामेल भएसँगै दुई सांसदले आज मन्त्रीको सपथ ग्रहण गरेका हुन् । दिनबन्धु श्रेष्ठ र यज्ञ विसीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

मन्त्रीद्वयलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनिले सपथ खुवाएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई नियुक्त गरेका छन् । मन्त्रीद्धयले सपथ खाएसँगै कर्णाली सरकारले पूर्णता पाएको छ । अब कर्णालीमा मन्त्रालयको संख्या आठ पुगेको छ । 


मुख्यमन्त्रीको पद जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको काँग्रेसले दुई वटा मन्त्रालय माग गरेको थियो । पछिल्लो समय कांग्रेसले सामाजिक विकास मन्त्रालयबाट अलग्याएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभिएको युवा तथा खेलकुद कार्यक्षेत्रलाई सामाजिकमै ल्याउनुपर्ने शर्त राखेको थियो ।

विश्वासको मत पाए लगत्तै सरकारमा जाने सहमति भए पनि मन्त्रालयको संख्या ८ पुर्‍याएर कांग्रेसलाई एउटा मात्र दिन खोज्दा कांग्रेस सत्तामा गएको थिएन । काँग्रेससँग कुरा नमिलेपछि माओवादी केन्द्रले मन्त्रीमा सिफारिस भइसकेका विन्दमान बिष्टलाई ‘व्याक’ गर्दै कांग्रेसलाई दुईटा मन्त्रालय दिने निर्णय गरेको थियो ।

कर्णाली सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ३ जना र एमालेबाट फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका ३ जना छन् । र काँग्रेसका दुई जना मन्त्री छन् । 

पछिल्लो निर्वाचनपछि केन्द्र र प्रदेशको सरकारमा विपक्षीको भूमिकामा रहेको कांग्रेसले पहिलो पटक कर्णालीबाट सरकारमा जाने यात्रा सुरु गरेको हो ।  


Author

थप समाचार
x