राजनीति

एमाले विवाद

नेपाल समूहले भन्यो : तल्लो गह्राको पानी माथिल्लोमा उक्लन सम्भव हुन्‍न

प्रस्ताव समूहमा तोडफोड गर्न सकिन्छ कि भनेर फालेको पासा मात्रै

मधुसुधन भट्टराई |
जेठ २४, २०७८ सोमबार १६:९ बजे

काठमाडौँ : एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई तल्लो गह्राको पानी माथिल्लो गह्रामा जान असम्भव हुने जवाफ फर्काएको छ ।

ओलीले आइतबार राति पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार  रहेको भन्दै पार्टीमा पुनर्मिलनका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए । त्यो प्रस्तावबारे छलफल गर्न बसेको नेपाल–खनाल समूहका नेताहरूको बैठकले ओलीले अल्मल्याउनलाई आफूहरूको प्रस्तावविपरीत पासा फ्याकेको निकष्र्ष निकालेको हो ।


नेपाल समूहले २ जेठ २०७५ को एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित समितिमा फर्किए एकता सम्भव हुने ओलीसमक्ष प्रस्ताव राखेको थियो । त्यसको जवाफमा ओलीले ३ जेठ २०७५ पूर्वको अवस्थामा मुनर्मिलनको प्रस्ताव गरेका थिए । यसको जवाफमा नेपाल-खनाल समूहले ‘तल्लो गह्राको पानी माथिल्लो गह्रामा जान नसक्ने’ स्वीकार्न नसकिने बताएको हो ।
 
समूहका नेता तथा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले ३ गतेबाट २ गतेमा असम्भव हुने निष्कर्ष निकालेको र त्यसको जवाफ आजै लिखित रूपमा प्रस्तावका रूपमा बाहिर ल्याउने बताए । ‘तल्लो गह्राको पानी माथिल्लो गह्रामा जान सम्भव हुँदैन । दुई जेठमा पुग्यौँ भने पो त्यही अनुरुप तीन जेठमा जान सकिएला,’ ज्ञवालीले बैठकले निकालेको निष्कर्षबारे इकागजसँग भने, ‘अध्यक्ष ओलीले एकता गरौं त भन्‍नुभयो, तर, उहाँले त्यसभित्र जे–जे विषय राख्नु भएको छ । ती एकता गर्न मिल्ने खालका छैनन् ।’ 

३ जेठ २०७५ मा त तत्कालीन एमाले नै नरहेको निष्कर्ष बैठकको छ । ‘जेठ २ गते नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति, पोलिटव्यूरो र स्थायी समिति हो । उहाँले ३ जेठलाई आधार बनाउनु भएको छ । त्यो नेकपा बनिसकेको अवस्था हो । नेकपा बनेपछि त थुप्रै मानिस थपिएका छन् । ती सबै मानिसको एकता ओलीले भन्नु भएको छ । यहीनेरै ठूलो गडबडी छ । यसमै उहाँले एकता नचाहेको र जेठ २ मा पुग्‍न नचाहेको भन्‍ने देखिन्छ,’ बैठकमा नेताहरूको धारणा थियो । 

ज्ञवालीले तीन गतेबाट सुरु गरेर दुई गते फर्किने नक्कली कुरा भएको बताए । ‘त्यस्तो प्रस्तावमा आधारमा सहमति गरेर फर्किन नसकिने र यो प्रस्ताव अल्मल्याउन ल्याइएको हो, यसमा खतरनाक कुरा लुकेको छ’ ज्ञवालीले भने, ‘एकता गर्ने भन्‍नुभएको छ । वरिष्ठ नेताद्वयसहित ११ नेतालाई गरिएको कारबाही फिर्ता भएको छैन । नेतालाई कारबाही गर्ने अनि एकता गरौं भन्‍ने, भन्‍न खोजेको के ? रहस्य यसैभित्र लुकेको छ ।’
 
ओलीको प्रस्ताव समूहमा विभाजन गर्न सकिन्छ कि भनेर फालिएको पासा मात्रै रहेको उनले बताए । ‘हामीबीचमा कतै तोडफोड गर्न सकिन्छ कि भनेर फालिएको पासा हो । यसमा दाउपेच जोडिएको छ,’ उनले भने ।

संविधान मिचेर गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमा गरिएको हस्ताक्षर फिर्ता गर्न नसकिने बैठकले निर्णय गरेको छ । समूहले मिल्न विघटन असंवैधानिक हो, गल्ती गरे, आत्मालोचनासहित सच्याउँछु भन्‍नुपर्ने शर्त पनि राख्‍ने भएको छ । ‘संसद् विघटन गरेकामा आत्मालोचना गर्दै गल्ती गरे भन्‍नुपर्छ । हस्ताक्षर फिर्ता गर्न सम्भवै छैन । उल्टो उहाँले आत्मालोचना गर्नुपर्छ । विघटन गरेकोमा संविधान मिचेकोमा आत्मालोचना गर्नुपर्छ,’ ज्ञवालीले भने । 

समूहले कोभिडको बेलामा निर्वाचन हुँदैन, संविधान मिच्न पाइँदैन, संसद् विघटन गर्न हुँदैन, पूरै कार्यकाल चलाउनुस्, संसद्ले सरकार बनाउने कुरा हो । संविधान जोगाउ, लोकतन्त्र जोगाउ, कोभिडको बेलामा निर्वाचन हुँदैन भनेर सार्वजनिक प्रस्ताव आज बाहिर ल्याउने भएको छ । ज्ञवालीले लिखित प्रस्ताव बाहिर ल्याउने बताए ।
 
यता एमालेकै माधवकुमार नेपाल पक्षका अर्का नेता घनश्याम भुसालले पार्टी एकताको कुरा गर्दा आत्मसमर्पणको रूपमा व्याख्या गरेको भन्दै आपत्ति जनाएका छन् । भुसालले नेकपा एमाले विभाजन गर्न ‘सुकुलगुण्डा समूह’ तयार भएको हो कि भन्दै प्रश्‍न पनि गरेका छन् । 

‘फेरि हाम्राविरुद्ध अनर्गल प्रचार सुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन ।’

उनले लेखेका छन्, ‘त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन् ।’
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x