राजनीति

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको मन्तव्य

'राजनीतिक आग्रह र पूर्वाग्रहको प्रदूषणले मुलुकलाई गाँजेको छ'

पृथ्वीसुब्बा गुरुङ |
जेठ २७, २०७८ १३:५४ बजे

सभामुख महोदय

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ बाट नेपाल अछुतो रहेन । यसबीच हामीले धेरै योग्य मानिसहरु गुमायौं र पीडा र शोकले आक्रन्त पनि भएका छौं। यस्तो असहज अवस्थामा पनि सरकारको बचाउ र विश्वाशको मत माग्न विवस भएको छु। कोरोनाका कारण मृत्यु भएका सबै जनहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु। साथै शोक सन्तप्त परिवार जनप्रति हार्दिक समवेदना व्याक्त गर्दछु। बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको लामो र गौरवपूर्ण ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायत संघर्षको क्रममा जीबन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति सम्मान ब्यक्त गर्दछु। बेपत्ता, घाइते योद्धा र पीडितहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु। नेपालको युगान्तकारी परिवर्तनका लागि भएका राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको आन्दोलनमा अगुवाई गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्चसम्मान सहित स्मरण गर्न चाहन्छु।

यतिबेला हामी सत्य र तथ्यको बीच हाम्रा आन्दोलनका उपलब्धि, हाम्रा कार्यकालका प्रतिफल लेखाजोखामात्र गरिरहेका छैनौं, जनताका दैन्दिनका सवालहरुका समयोचित र यथोचित जवाफहरु पनि हाम्रा कर्म र कार्यवाट दिइरहेका छौं । यस बखत गण्डकी प्रदेशका जनता र तिनका सपना पूरा गर्ने कार्यमा अबिचलित रुपमा लागिरहने प्रतिज्ञा पनि गर्दछु। हामीले सत्तामा हुँदा र नहुँदा, पद पाउँदा र नपाउँदा बोल्ने भाषा र गर्ने व्यवहारहरु समान छन् र भविष्यमा पनि सोहि बमोजिम हुनेछन्।

राजनीति पानी जस्तै हो, तरल, स्निग्ध हुन्छ तर जीव र मान्छेको सम्पर्कले पानी प्रदूषित भए झै कञ्चन र स्निग्ध राजनीतिलाई दल र तीनका नेताका कुण्ठा, आग्रह, प्रति आग्रहका कारण फोहोरी बनाउन हुँदैन। राजनीतिलाई सत्ताको खुडकिलो मात्रै बनाउनु हुन्न र सोही अनुसारको ब्यबाहार गर्नु हुँदैन। संवैधानिक ब्यबस्था अनुसार गण्डकी प्रदेशका जनताको फैसला बमोजिम नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकार गठन भइ राष्ट्रिय जनमोर्चा समेतको समर्थनमा २०७४ फाल्गुन ४ वाट गण्डकी प्रदेशमा सरकार सञ्चालन गर्दै आइरहेको र राष्ट्रिय राजनीतिको उतार चढावका कारण २०७८।०१।२९ गते दोस्रो पटक गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो राजनीतिक दलक हैसियतले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार गठन गरी कामकाज गर्दै आइरहेको छु। नेकपा (एमाले) संसदीय दलको नेताको रुपमा गण्डकी प्रदेश सभामा सबभन्दा ठुलो राजनीतिक दलको नेताको हैसियतमा २०७८।०१।२९ गते दोश्रोपटक सरकार गठन गरी कामकाज गर्दै आइरहेको छु । यो ऐतिहासिक समय र अवसरका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने प्रदेश सभाका सम्पूर्ण माननीय सदस्यलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

सभामुख महोदय

गण्डकी प्रदेशका जनताका भावना, आकांक्षा र विश्वासको कदर गरेर नै यो प्रदेशलाई देशभरका प्रदेशहरुमा अब्बल प्रदेश, उत्कृष्ट प्रदेश सरकार र प्रभाबकारी प्रदेश सभा बनाउन हामी सफल भयौं। यो अब्बलताको यात्रामा मेरो नेतृत्वमा गण्डकी प्रदेशले अन्य प्रदेशलाई कतिपय क्षेत्रमा मार्गदर्शन गरेको छ। सीमित साधन स्रोत र बजेटका आधारमा हामीले प्राप्त गरेका उपलब्धिहरु लोभ लाग्दा छन्। संघीयताका कोसेढुङ्गा बनेका छन्। समृद्ध प्रदेश र सुखी नागरिक बनाउने जन आकाँक्षा पूरा गर्ने गरी दिगो विकास लक्ष्य पूरा गर्न सरकार पक्षधर दलहरु मात्रै नभै प्रतिपक्षी दलहरु समेत संग सहकार्य गर्दै आएका छौं।

सरकार सञ्चालन सुरु गरेदेखि नै 'समृद्ध प्रदेश र सुखी नागरिक' को प्रादेशिक आकांक्षा पूरा गर्न अल्पकालीन, मध्यमकालिन र दीर्घकालीन प्रादेशिक लक्ष्य तथा दिगो विकास लक्ष्य, बि.सं. २०८७ का प्रादेशिक लक्ष्यहरुलाई मध्यनजर गरी प्रमुख प्रतिपक्ष तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको अधिकतम् समन्वयमा प्रदेश सरकारले काम गर्दै आएको सर्वविदितै छ। तीन वर्षको छोटो अवधिमा नै प्रदेशका नागरिकले अनुभूति गर्ने गरी समृद्ध प्रदेश निर्माणको बलियो आधारशीला निर्माण गरेका छौं।

सभामुख महोदय

समृद्ध प्रदेश र सुखी नागरिकको आकाङक्षा हांसिल गर्न तय गरिएका अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन सोच, अन्तराष्ट्रिय प्रतिबद्धता, दिगो विकास लक्ष्य, प्रदेशका नागरिकको विकासको चाहना, जननिर्वाचित प्रतिनिधिमार्फत मुखरित जनभावना, विज्ञ तथा सरोकारवालाहरुले दिएका सुझावलाई आत्मसात गरी उपलब्ध सिमित स्रोत साधनको अधिकतम र दक्षतापूर्बक उपयोग गर्दै मेरो नेतृत्वको प्रदेश सरकारले बिगत ३९ महिनामा प्राप्त गरेका मुख्य मुख्य उपलब्धि निम्न अनुसार छन्:

• प्रदेश नीति तथा योजना आयोगको गठन गरी योजना तर्जुमा क्षेत्रमा उल्लेख्य कामहरु भएका छन्। योजनाबद्ध विकासबाट समृद्धि हासिल गर्न प्रदेशको अल्पकालिन, मध्यमकालीन र दीर्घकालीन सोच "समृद्ध प्रदेश र सुखी नागरिक" सहितको प्रथम पञ्चवर्षीय योजना (आ.व. २०७६/७७- २०८०/८१) कार्यान्वयनमा ल्याइएको छ।

• संवैधानिक व्यवस्था र संघीयताको मर्म बमोजिम ११ वटा मन्त्रालय र निर्देशनालय, केन्द्र तथा प्रतिष्ठान, जिल्लास्थित कार्यालय समेत १६१ वटा कार्यालयहरु तथा २,९०० जती कर्मचारीको दरबन्दी व्यवस्था गरी प्रदेश सरकारका सेवा प्रभावकारी रुपमा प्रवाह गर्ने व्यवस्था गरिएको छ।

• प्रदेशको नामकरण र राजधानी निर्धारण सहमतिमै गरी उदाहरणीय राजनीतिक सन्देश दिइएको छ।

• प्रदेशका समग्र आर्थिक सूचकहरु सकारात्मक दिशामा छन्। आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशको कूल ग्रार्हस्थ्य उत्पादन रु ३ खर्ब ४० अर्ब रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा कोभिड-१९ ले अर्थतन्त्रमा पार्ने जोखिम प्रभावकारी रुपमा व्यवस्थापन गरिएकोले कुल ग्रार्हस्थ्य उत्पादन रु ३ खर्ब ४४ अर्ब पुग्यो। आर्थिक वर्ष २०७७/०७८ को पहिलो नौ महिनालाई आधार मान्दा यस वर्षको कुल ग्रार्हस्थ उत्पादन रु ३ खर्ब ७२ अर्ब पुग्ने अनुमान छ। कोभिड- १९ को प्रभाव यथोचित मात्रामा व्यवस्थापन गर्न सकेमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रारम्भिक अनुमान छ।

• मूल्यवृद्धि बाञ्छित सीमाभित्रै छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा खाद्यवस्तुमा ३.४९ प्रतिशतले र अखाद्य वस्तुमा २.७९ प्रतिशतले गरी सरदर ३.४६ प्रतिशतले मात्र मूल्यवृद्धि भएको छ।

• प्रदेशले आर्थिक वर्ष २०७५/०७६ मा नेपाल सरकारबाट समानीकरण, समपुरक, विशेष र ससर्त अनुदान, रोयल्टी तथा राजस्व बाँडफाँडबाट प्राप्त रकम र प्रदेशले उठाएको राजस्व गरी जम्मा रु २१ अर्ब, ४७ करोड, ७० लाख, ९३ हजार, आर्थिक वर्ष २०७६/०७७ मा जम्मा रु २२ अर्ब, ४८ करोड, ३५ लाख, १० हजार र आर्थिक वर्ष २०७७/०७८ को चैत्र महिनासम्ममा रु १५ अर्ब, ५९ करोड, ९७ लाख, ४६ हजार स्रोत परिचालन गरेको छ।

• प्रदेश सरकार स्थापना भएपछि गण्डकी प्रदेशमा निजी क्षेत्रको लगानी उत्साहबर्द्धक छ। आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न वित्तिय संस्थाले उद्योग, व्यापार र सेवा क्षेत्रमा गरेको लगानी रु १ खर्ब ७६ अर्ब रहेकोमा आर्थिक वर्ष २०७५/०७६ मा १६.८६ प्रतिशतले बढेर रु २ खर्ब ६ अर्ब पुगेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा १९.८७ प्रतिशतले वृद्धि भएर रु २ खर्ब ४७ अर्ब पुग्यो भने आर्थिक वर्ष २०७७।०७८ को चैत्र मसान्त सम्ममा वित्तिय संस्थाको लगानी २५ प्रतिशतले बढेर रु ३ खर्ब ९ अर्ब पुगेको छ।

• वित्तीय संस्थाको निक्षेप संकलन आर्थिक वर्ष २०७४/०७५ मा रु १ खर्ब ८८ अर्ब रहेकोमा आर्थिक वर्ष २०७५/०७६ मा १६.६० प्रतिशतले बढेर रु २ खर्ब २० अर्ब पुगेकोमा आर्थिक वर्ष २०७६/०७७ मा ३९.७२ प्रतिशतले बढेर रु ३ खर्ब ८ अर्ब पुग्यो। आर्थिक वर्ष २०७७/०७८ को चैत्र मसान्त सम्ममा वित्तिय संस्थाको निक्षेप संकलन १२ प्रतिशतले बढेर रु ३ खर्ब ४४ अर्ब पुगेको छ।

• प्रदेश सरकारद्धारा सञ्चालित कार्यक्रमबाट वार्षिक प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल ५४,००० व्यक्तिलाई वार्षिक १०० दिन बराबरको रोजगारी सिर्जना भएको छ।

• हालसम्म ७,७९५ व्यक्तिलाई सिप विकास तालिम प्रदान गरिएको छ।

• प्रदेशको विशिष्टीकृत सेवा प्रवाहको लागि मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश लोकसेवा आयोग, गण्डकी विश्वविद्यालय, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, प्रदेश खेलकुद परिषद, ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक प्रतिष्ठान, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान र प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गरी सञ्चालन गरिएको छ।

• संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रले कार्यान्वयन गर्ने गरी २३ वटा प्रदेश गौरवका आयोजनाहरु पहिचान गरी प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको छ।

• कोभिड–१९ ले पर्यटन, यातायात, कृषि, उत्पादन तथा सेवा क्षेत्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्दै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्न उद्यमी तथा व्यवसायीहरुलाई निर्ब्याजी कर्जा उपलब्ध गराउन साना व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ।हालसम्म करिब ७,४०० निवेदकबाट करिब रु ८ अर्बको ऋण माग भएकोमा २०७८ वैशाखसम्म रु ५ अर्बको कर्जा प्रबाह गर्न राष्ट्र बैङ्कले वाणिज्य बैङ्कलाई स्वीकृति दिएको छ।

• मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी, बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरा भ्रमण, मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको तिब्बत र युनान प्रान्तका महामहिम गभर्नरको पोखरा भ्रमणबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन विकासमा टेवा पुगेको छ।

• मित्रराष्ट्र चीनको हेनान प्रान्तसँग गण्डकी प्रदेशको मितेरी सम्बन्ध स्थापना गरिएको छ ।प्रदेशका २० विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि उक्त प्रान्तले छात्रवृति प्रदान गरेको छ। अमेरिकाको वासिङटन प्रान्तका गर्भनर संग मुख्यमन्त्रीको भेट वार्ता सम्पन्न भएको छ। प्रदेशको उच्चस्तरिय टिमले चीनको हेनान र अमेरिकाको क्यालिफोर्निया तथा वासिङटन प्रान्तको भ्रमण गरेको छ।

• बेरोजगार युवाहरुलाई स्थानीय तहमा परिचालन गरी विकास निर्माण प्रक्रियामा सहभागी गराउने उद्देश्यले स्थानीय तहमा कृषि, स्वास्थ्य, शिक्षा, पशु, सर्भेयर तथा इन्जिनियरिङ क्षेत्रका १४८ जना स्वयंसेवकहरुको परिचालन गरिएको छ।

• सहायकस्तरका ११६ जना कर्मचारीलाई सेवाकालीन तालिम, २६३ जनालाई क्षमता विकास तालिम र ३८६ जनालाई कार्यादेश तयारी, प्रस्ताव लेखन, वित्तीय सुशासन, सार्वजनिक खरिद, आतिथ्यता व्यवस्थापन तथा सेवा प्रवाहमा कोभिड सुरक्षा सम्बन्धी विषयमा तालिम सञ्‍चालन गरिएको छ।

• मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको विशेष कक्ष (एक्सन रुम) लाई स्तरोन्ति गरी विकास आयोजनाको अनुगमन तथा मूल्याङ्कन गरिएको छ।नेपाल सरकार, स्थानीय तह तथा सरोकारवालासँगको सम्पर्क र समन्वयलाई प्रभावकारी बनाइएको छ। हेलो मुख्यमन्त्री कक्षमा प्राप्त गुनासा नियमित रुपमा सम्बोधन गर्ने गरिएको छ।

• महालेखा परीक्षकको विभागबाट औल्याइएको बेरुजुमध्ये हालसम्म ५५ प्रतिशत बेरुजु फर्र्छ्यौट भएको छ र बाँकी फर्र्छ्यौटको चरणमा छ।

• प्रदेशभित्र १९५ कि.मि. सडक कालोपत्रे तथा ढलान र ३६४ कि.मि. सडक ग्राभेल गरिएको छ। ३६ सडक पुलहरुको निर्माण सम्पन्न गरिएको छ। स्थानीय तहको केन्द्र जोड्ने सडक र एक निर्वाचन क्षेत्र एक सडक विकास कार्यक्रम अन्तर्गत गरी कुल ६३२ कि.मि. सडक कालोपत्रे गर्ने र ८३ वटा सडक पुलको निर्माण कार्य भइरहेको छ।

• प्रदेशमा हालसम्म १८ वटा झोलुङ्गे पुल निर्माण सम्पन्‍न भएका छन् भने ४४ झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेका छन्।

• प्रदेशका सबै नागरिकलाई आधारभूत खानेपानी सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत १०२ आयोजनाहरु सम्पन्न भई ५,४९८ घर परिवारका २९,५०६ जनसंख्या लाभान्वित भएका छन्। त्यसै गरी "एक घर एक धारा" कार्यक्रम अन्तर्गत २०५ वटा आयोजना सम्पन्न भई ६१,०६३ निजी धारा जडान गरिएको र यसबाट ३ लाख ३० हजार ७ सय जनता लाभान्वित भएका छन्। हाल ८९६ खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्।

• नयाँ सिँचाइ आयोजनाहरुबाट ४३,४८५ रोपनी जमिनमा बाह्रै महिना सिंचाई सुविधा पुगेको छ।पुराना तथा जीर्ण सिँचाइ आयोजनाको स्तरोन्नति र नवीकरणबाट २,०३,६७२ रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ। हाल निर्माणाधीन ३४७ सिँचाइ आयोजनाहरुबाट थप २,९७,८७२ रोपनी जमिनमा सिँचाइ सुविधा पुर्याइने छ ।

• गण्डकी प्रदेश उज्यालो प्रदेश कार्यक्रम प्रारम्भ गर्दा विद्युत सेवा पुगेका घर परिवार ८२ प्रतिशतवाट बढेर ९८.९ प्रतिशत पुगेको छ । सोमध्ये ९२.७९ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत र अन्यमा सौर्य उर्जा र लघु जलविद्युत आयोजनाबाट विद्युत सेवाको पहुँच पुर्याइएको छ ।

• नदी नियन्त्रण कार्य अन्तर्गत ५६.५ कि.मि तटबन्ध निर्माण गरिएको छ।सो कार्यबाट ३०,५३६ रोपनी जमिन उकास भएको छ। हाल ६५ वटा नदी नियन्त्रणका योजनाहरु कार्यान्वयनको चरणमा रहेका छन्।

• विपन्न तथा लोपोन्मुख समुदायको लागि सञ्चालित जनता आवास कार्यक्रम अन्तर्गत १,३२० भन्दा बढी घर निर्माण सम्पन्‍न भएका छन् भने २२५ घर निर्माणाधीन छन्।

• सवारी तथा यातायात सेवा प्रवाह सहज बनाउन ७ जिल्लामा कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ। यस आर्थिक वर्षमा ९,६२४ नयाँ लाइसेन्स वितरण तथा 30,658 लाइसेन्स नवीकरण गरिएको छ।

• निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत गत आ.व.मा ७९२ आयोजना सम्पन्न भएका छन् र चालु आ.व.मा ८४२ योजना कार्यान्वयन भइरहेका छन्।

• कृषि तथा पशुपन्छी विकास सम्बन्धी सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेशका सबै जिल्लाहरुमा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएको छ।

• कृषि उत्पादन, उत्पादकत्व र गुणस्तर वृद्धि गर्न सघाउने उद्देश्यले ८५ स्थानीय तहका ८७ गाउँमा "मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रम" कार्यान्वयनबाट ८,५०० कृषक घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन्।

• प्रदेशका प्राथमिकता प्राप्त बाली/वस्तुहरू उत्पादनको लागि गत आ.व. सम्म १४८९  मोडल फार्म सञ्चालन गरिएका छन्। यस आर्थिक वर्षमा थप ४५० मोडल फार्म स्थापना तथा विस्तार गर्न सहयोग गरिएको छ।

• युवावर्गको कृषि सम्बन्धी प्राविधिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी कृषि पेशामा आकर्षित गर्दै स्वरोजगारी तथा उद्यमशीलताको विकास गर्ने उद्देश्यका लागि व्यवसाय इन्कुवेशन कार्यक्रम मार्फत "लर्न एण्ड डु" तालिम कार्यक्रम सञ्चालन गरी इजरायली आधुनिक कृषि प्रविधि नेपालमा भित्र्याउनको लागि प्रदेशका युवालाई तालिमको लागि इजरायल पठाउने प्रक्रिया प्रारम्भ भएको छ।

• स्याउ उत्पादनमा आत्मनिर्भर हुने उद्देश्यले २७५ रोपनीमा उच्च घनत्व प्रविधिमा आधारित ४१,१३० बिरुवा रोपी स्याउ बगैँचा विस्तार गरिएको छ।साथै, थप १७५ रोपनीमा स्याउ बगैँचा विस्तार गर्ने कार्य अगाडि बढेको छ।

• विभिन्न बालीवस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै प्रदेशलाई मुख्य मुख्य कृषि उत्पादनमा आत्मनिर्भर बनाउन धान, मकै, आलु, अदुवा, सुन्तला, माछा जस्ता बालीवस्तुको १९१ वटा पकेट तथा ३४ वटा नयाँ ब्लक स्थापना गरिएको छ।

• हालसम्म १९२९ रोपनी खेतीयोग्य भूमिको चक्लाबन्दी गरिएको छ भने थप चालु आ.व. मा ३,००० रोपनी खेतीयोग्य भूमिको चक्लाबन्दी भइरहेको छ।

• कृषि उपजको (तरकारी, फलफूल, माछा, मासु र मह) उत्पादनोपरान्त हुने क्षति न्यूनीकरण गर्दै बजार प्रवर्द्धन गर्न १,४९५ मेट्रिक टन क्षमताका २ कोल्ड स्टोर र ४५ कोल्ड रुम निर्माण गरिएको छ। थप ५०० मे.टन भण्डारण क्षमताका ५ वटा कोल्ड स्टोर र ४३० मेट्रिक टन क्षमताका २० वटा कोल्ड रुम निर्माण कार्य भइरहेको छ।

• दूधको गुणस्तर कायम गर्दै बजार सुनिश्चित गर्नका लागि ३१ वटा दुग्ध चिस्यान केन्द्र स्थापनामा सहयोग गरिएको छ र थप १० वटा दुग्ध चिस्यान केन्द्र निर्माणको क्रममा रहेका छन्।

• खोरेत, भ्यागुते र चरचरे, पि.पि.आर. स्वाइन फिभर तथा रेबिज विरुद्ध बृहत् खोप कार्यक्रम सञ्‍चालन गरिएको छ।

• व्यवसायिक कृषि प्रणालीको प्रवर्द्धन गर्न १,४३९ वटा व्यावसायिक कृषि तथा पशुपन्छी फार्म स्थापना तथा विस्तारमा सहयोग गरिएको छ। यसवाट मह, तरकारी, फलफुल, नगदेवालि, माछा, मासु आदिको उत्पादनमा उल्लेख्य बृद्धि भएको छ।

• प्रदेशका मातहतका अस्पतालहरुमा कुल ३२५ शय्या रहेकामा यसलाई बिस्तार गरी ७६० शय्या बनाउने कार्य भइरहेको छ । सघन उपचार कक्षमा २४ थान भेन्टिलेटर जडान गरिएको छ।

• धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङ, लमजुङ, गोरखा, मध्यविन्दु, र संक्रामक तथा सरुवा रोग अस्पताल, पोखरामा २५ शय्याका दरले कूल १२५ शय्यालाई स्तरोन्नति गरिएको छ। धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङ, बेनी अस्पताल म्याग्दी, स्याङ्जा जिल्ला अस्पताल, दमौली अस्पताल तनहुँ र पर्वत अस्पतालमा डायलाइसिस सेवा सञ्चालनमा ल्याइएको छ।

• प्रदेशका जिल्ला स्थित अस्पतालहरुमा संक्रामक रोग व्यवस्थापनका लागि क्षमता विकास गर्दै कोभिड– १९ र अन्य संक्रामक रोगको उपचार गर्ने व्यवस्था गरिएको छ।

• सरकारी, सामुदायिक तथा निजी क्षेत्रहरुमा १,४१३ शय्या सहितका ४० आइसोलेसन केन्द्रहरु स्थापना गरी संक्रमितको व्यवस्थापन गरिँदै आएको छ।

• कोभिड-१९ को पिसिआर परीक्षणको लागि पोखरा, बागलुङ उप प्रादेशिक अस्पताल र मध्यबिन्दु अस्पतालमा समेत गरी दैनिक २,३०० ब्यक्तिको पिसिआर परिक्षण गर्ने ब्यबस्था मिलाईएको छ । अटो एक्ट्र्याक्सन मेसिन जडान गरी पिसिआर परीक्षणको क्षमता समेत विस्तार गरिएको छ।अक्सिजनको अभाव हुन नदिन ८ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ र ४ अस्पालमा अक्सिजन प्लान्ट जडानको तयारीमा छ। प्रदेशमा दैनिक १५०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ ।

• धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङलाई २०० शय्या को अस्पतालमा र ३ जिल्ला अस्पतालहरुलाई ५० शय्याको स्तरवृद्धि गर्ने कार्य प्रारम्भ भएको छ।कोभिड-१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार कोषको स्थापना गरी खर्चको व्यवस्थापन गर्दै आएको छ।

• लेखनाथ सामुदायिक लायन्स अस्पताल शिशुवालाई प्रदेश संक्रामक तथा सरुवारोग अस्पतालमा रुपान्तरण तथा सुदृढीकरण गरी कोभिड १९ को विशिष्टीकृत अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको छ ।

• प्रदेशमा हालसम्म कोभिड १९ विरुद्धको खोप १,२७,७४१ व्यक्तिले लगाएका छन्।

• ग्रामीण र दुर्गम स्थानका जोखिममा परेका ३९ जना गर्भवती/सुत्केरीहरूलाई सुविधा सम्पन्न अस्पतालमा आपतकालीन एयर लिफ्टिङ गरी उपचार गरिएको छ।

• पोखरा महानगरपालिका वडा नं. ३३ पशुपतिघाटमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्ने कार्य अगाडि बढेको छ।एक स्थानीय तह एक खेल मैदानको नीति अनुरूप ५६ गाउँपालिकामा खेल मैदान र २० नगरपालिकामा रङ्गशाला निर्माणमा सहयोग गरिएको छ।

• गुणस्तरीय अनुसन्धात्मक र व्यावसायिक उच्च शिक्षा प्रदान गर्न गण्डकी विश्वविद्यालय सञ्चालनमा ल्याइएको छ। विश्वविद्यालयले पहिलो चरणमा सूचना प्रविधि र खेल विज्ञान संकायमा पढाइ सञ्चालन गर्ने तयारी गरेको छ । पोखरा महानगरपालिका वडा नं ३२, ज्ञानकुञ्जमा विश्व विद्यालयको शैक्षिक तथा प्रशासनिक भवनहरुको निर्माण कार्य प्रारम्भ गरिएको छ।

• बजारको माग अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्न गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान सञ्चालनमा ल्याइएको छ। प्रतिष्ठानको लागि स्याङ्जाको फेदिखोला गाँउपालिकामा १६० रोपनी जग्गा प्राप्त गरी भौतिक पूर्बाधार निर्माण कार्यको तयारी भइरहेको छ।

• प्रदेशमा ३६ ज्येष्ठ नागरिक केन्द्रको निर्माण र २२ वटा केन्द्रको मर्मत सम्भारमा सहयोग गरिएको छ।

• प्रदेशका २७६ विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना, ५ नमुना आवासीय विद्यालय निर्माण, ३१७ विद्यालयको भवन निर्माण र १५४ विद्यालयमा विज्ञान प्रयोगशाला बनाउन सहयोग गरिएको छ।

• नयाँ १० मन्दिर तथा गुम्बा निर्माण गर्न र ८७ को मर्मत सम्भार गर्न सहयोग प्रदान गरिएको छ।

• मानब सेवा आश्रम कास्की, लमजुङ र बागलुङका भवन निर्माण गर्न सहयोग गरिएको छ।

• प्रदेशमा ३,९५२ सामुदायिक वन उपभोक्ता समूह, १,११९ कबुलियती वन उपभोक्ता समूह र ३४ वटा धार्मिक वन उपभोक्ता समूह गरी कुल ५,१०५ वटा वन उपभोक्ता समूह छन् । यी समूहमार्फत कुल ८,६१,००० हेक्टर वन क्षेत्रको संरक्षण र व्यवस्थापन भएको छ।वन क्षेत्रवाट हालसम्म २०,९३,५७४ क्युफिट काठ, २,८३७ चट्टा दाउरा र ७९,०९० के.जि. जडीबुटी उत्पादन गरिएको छ।२४ वटा समुदायमा आधारित जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना भई सञ्चालनमा आएका छन्।

• वातावरण संरक्षण कार्यक्रम अन्तर्गत ११ वटा उच्च प्रविधियुक्त नर्सरी स्थापना भई ७० लाख ४० हजार विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी शहरी पार्क, वन क्षेत्र, हरित पार्क, स्कुल क्षेत्र तथा निजी जग्गामा वृक्षारोपण गरिएको छ । १६८ वटा उद्यान तथा वनबाटिका र ६२ वटा सामुदायिक वनमा पर्यापर्यटनका गतिविधि सञ्चालन गरिएको छ ।

• मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नवलपुर जिल्लाका विभिन्न स्थानमा कूल ४,३१३ मिटर ढलानसहितको मेस वायर फेन्सिङ निर्माण गरिएको छ । विभिन्न जिल्लामा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिएको गरिएको छ।मानव-वन्यजन्तु व्यवस्थापन अन्तरगत रु २ करोड ८१ लाख ५८ हजार ७ सय ४६ रुपैयाँ राहतको रुपमा द्वन्द्व पीडितलाई बितरण गरिएको छ।

• फेवातालको संरक्षणका लागि पोखरा महानगरपालिकासँगको सहकार्यमा तालको उपल्लो तटीय क्षेत्रमा रहेका वेतयानी, लौरुक, अँधेरी र हर्पन खोलामा ४ वटा सिल्टेसन ड्याम निर्माण गरिएको छ। प्रदेशका अन्य जलाधार क्षेत्रमा ५० भन्दा पोखरीहरु निर्माण तथा मर्मतसम्भार गरिएको छ।बायो इन्जिनियरीङ प्रविधि मार्फत ५० वटा पहिरो रोकथाम र व्यवस्थापन गरिएको छ।

• पोखरा महानगरपालिका वडा नं. ३३ पुँडीटार र नवलपुरको लोकाहा खोलामा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको प्रकृया अगाडि बढाइएको छ।

• “एक स्थानीय तह, एक उद्योग ग्राम” कार्यक्रम अन्तर्गत घोषणा भएका २३ वटा उद्योग ग्राममध्ये १९ वटा उद्योग ग्राममा स्थानीय तहसँगको साझेदारीमा पूर्वाधार निर्माणको कार्य भइरहेको छ । थप २० स्थानीय तहमा उद्योग ग्राम स्थापनाको लागि सम्भाव्यता अध्ययन भइरहेको छ।

• ग्रामीण पर्यटन प्रवर्द्धन र गरिबी निवारणमा योगदान गर्न ३०८ वटा सामुदायिक होमस्टे स्थापना गरिएको छ।सामुदायिक होमस्टेमा आवद्ध ३,४०२ घरमा करिब ५,४२५ कोठा तथा ९,६६६ बेड उपलब्ध छन्।

• प्रदेशका १०५ पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माण तथा सौन्दर्यकरण गरिएको छ । १०५ कि.मि. पदमार्ग निर्माण तथा मर्मत सम्भार गरिएको छ।

• प्रदेश राजधानी पोखराबाट थप प्रमुख शहरहरु विराटनगर, भरतपुर, भैरहवा र नेपालगञ्जमा नियमित हवाई सेवा सञ्चालन गर्न हवाई सेवा प्रदायक संस्थाहरुसँग सहजीकरण गरिएको छ।

• प्रदेश सरकारको संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न आवश्यक पर्ने ४६ ऐन र १० नियमावली तर्जुमा गरी कार्यान्वयन गरिएको छ।

• प्रदेशका नागरिकहरुको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आफ्नो स्थायी भवनहरु नभएका २२ इलाका प्रहरी कार्यालय निर्माण कार्य भइरहेको छ।

• सूचना प्रविधि पार्कको पूर्वाधार निर्माणको लागि पोखरा महानगरपालिका वडा नं. १८ जामुनबोटमा ९६ रोपनी जग्गा प्राप्त गरी सम्भाव्यता अध्ययनको कार्य आरम्भ भएको छ।

• विपद्‍बाट प्रभावितको तत्काल खोज, उद्धार र राहत कार्यका लागि विपद् व्यवस्थापन कोषको रकम एक करोडबाट वृद्धि गरी पाँच करोड पुर्‍याइएको छ।

• विपद् उद्धारकर्मीको क्षमता अभिवृद्धिका लागि क्षमता विकास तालिम तथा आवश्यक उपकरणको व्यवस्था गरिएको छ।

• गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको भौतिक संरचना निर्माण गरी प्रहरी कर्मचारीको भर्ना, छनोट र तालिमको कार्य शुरु गरिएको छ।

• "गण्डकी समाज सभ्य समाज" कार्यक्रम अन्तर्गत प्रदेशका ६७ वटा माध्यमिक विद्यालयका कक्षा ९-१२ मा अध्ययनरत १८४५९ जना विद्यार्थीहरुबीच हामी सचेत छौँ अभियान सञ्‍चालन भएको छ।

• द्वन्द्व पीडित व्यक्ति तथा परिवारका लागि राहत कार्यक्रम अन्तर्गत द्वन्द्व पीडित २२७ जना व्यक्तिहरुलाई गोलभेँडा खेती, च्याउखेती र बाख्रापालन तालिम कार्यक्रम सञ्चालन भएको छ।

सभामुख महोदय

कोरोना महामारी नियन्त्रण र व्यवस्थापनकै क्रममा जिल्ला अस्पतालहरुमा आईसियु कक्ष, उच्च गतिको अक्सिजन उत्पादन र प्रबाह गर्ने व्यवस्था र भेन्टिलेटरको व्यवस्था मेरो नेतृत्वको सरकारले गरेको छ। अस्पतालहरुको स्तरोउन्नति गरिएको छ। शय्याहरु थप गरिएका छन् । डाइलसिस सेवा थप गरिएको छ। स्वास्थ क्षेत्रको दीर्घकालीन अवसरलाई ख्याल गरी गण्डकी विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल स्थापना गर्ने दूरदर्शिताको निर्णय गरिएको छ। गण्डकी प्रदेश सरकारले गरेका कामको मूल्यांकन र त्यसको प्रभाबकारिताको लागि प्रदेश सभाले अनुगमन र मूल्यांकन गरेकै छ।

लोकतन्त्रमा संबिधान, संवैधानिक व्यवस्था, ऐन, कानून महत्वपूर्ण कुरा हुन्। संवैधानिक दायराभित्र रहेर नै हामीले राजनीतिक विवादहरुको निरुपण गर्नुपर्दछ। अतितमुखी भएर होइन भविष्यदर्शी भएर हामीले काम गर्नुपर्दछ। नेपालको राजनीतिक विकासको अस्थिर इतिहास नदोहोरियोस्।जनताले सरकारप्रति अपनत्व र स्वामित्व ग्रहण गर्न सकुन् भन्ने ध्येयले नै हामीले संविधान वनाएका थियौं। तर आग्रह र पूर्वाग्रहका कारण मुलुकको राजनीति प्रदूषित भयो। यो प्रदूषणले गण्डकी प्रदेश सभालाई पनि गाँजेकै छ। मनोगत आग्रहका कारण एउटै पार्टी भएर सरकारमा काम गरिरहँदा अचानक नेकपा (माओवादी केन्द्र) सरकारबाट अलग भएपछि र राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएपछि उत्पन्न परिस्थितिको सामना गण्डकी प्रदेश सरकारले गरिरहेकै छ। यही अस्थिरताका बीच मैले दलहरुका बीच पुन: संवाद होस् विकल्प पनि तयार होस् भनेर मिति २०७८।०१।२६ गते राजीनामा गरेको थिएँ। तर दलहरुका बीच संख्यात्मक जोड नपुग्दा अहिले ठूलो दलको रुपमा संबिधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार सञ्चालन गरेर धारा १६८ को उपधारा (४) अन्तरगत विश्वासको मतका लागि उपस्थित भएको छु। विश्वाश प्राप्त हुँदा नीति तथा कार्यक्रम पेश गरी गण्डकी प्रदेश सभामा बजेट प्रस्तुत हुने नै छ। अन्यथा संविधानको व्यवस्था अनुसार अघि बढनुपर्ने व्यहोरा अनुरोध गर्न चाहन्छु।

अधुरा विकासका काम छोडेर राजनीतिक दाउपेचमा अल्झिनु र राजनीतिक अस्थिरता पैदा गर्नु न्यासंगत हुँदैन।मैले नेतृत्व गरेको नेकपा (एमाले) बाहेक अन्यदलहरुको प्रदेशसभामा बहुमत पुग्ने र बैकल्पिक सरकार गठन हुने सम्भावना पनि छैन। यो तथ्य एक महिना अगाडि परीक्षण भएकै हो।हामीले राज्यको पुनरसंरचना गरेपछि गठित प्रदेश सभा संविधानको कार्यान्वयन र संघीयताको सुदृढीकरणका लागि अगुवा सावित हुने विश्वास लिएको छु। प्रदेशलाई सुदृढ र अधिकार सम्पन्न बनाई संघीयतालाई बलियो बनाउने लडाईंमा प्रदेश सभाका सम्पूर्ण माननीय सदस्यहरुको साथ र सहयोग निरन्तर प्राप्त हुने विश्वास गर्दछु।

गण्डकी प्रदेशका जनताले दिएको म्यान्डेट नेकपा एमालेले ठूलो दलका रुपमा सरकार सञ्चालन गर्ने, म्यानडेटका आधारमा २०७४ साल फागुन ४ गते मेरो नेतृत्वको सरकार गठन गर्दा नेकपा (माओवादी) केन्द्र सहयात्री दल थियो। समयक्रममा एउटै दलमा सामेल भएका पनि थियौं तर राजनीतिक घटनाक्रम र सर्बोच्चको फैसलापछि दुबै दल छुट्टाछुट्टै भएका छौं तथापि सहकार्यको बाटो खुला नै छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा जस्ता राजनीतिक दलसँग पनि नेकपा (एमाले) ले सहकार्य गर्दै आएको छ।राजनीति सबै सम्भावना खुला भएको क्षेत्र हो र राजनीतिक दलहरु एक आपसमा मिल्ने र छुट्टिने राजनीतिक घटनाक्रमको उपज मात्र हो। जनतालाई केन्द्रमा राखेर सहकार्य गर्ने हो भने हामी सबैले प्रतिबद्धता जनाएको समृद्धिको यात्रा सहज हुने विश्वास लिएको छु।संघीयताको मर्म बमोजिम नेपालको संविधान को सहज कार्यान्वयन गर्दै प्रदेशको समग्र विकास र समृद्धिको यात्रामा सहकार्य गर्न पु:न यस प्रदेशसभाका सम्पूर्ण माननीय सदस्यहरुलाइ आह्वान गर्दछु।

कहिले काहीँ राजनीति तरल बन्छ । यतिवेलै सबैले संयमता लिनुपर्दछ। नेतृत्वको पहिचान पनि कठिनाइकै बेला हुन्छ। म गण्डकी प्रदेश सभा पूर्णकार्यकाल चलोस् र संघीयताको सवलीकरणमा काम गरोस् भन्ने चाहन्छु। यस विषयप्रति सबै माननीय सदस्यहरुलाई विषयप्रति गम्भीर हुन आग्रह गर्दछु र पु:न विश्वाशको मतका लागि आग्रह गर्दछु।

सभामुख महोदय

प्रदेश सरकारले लिएका समृद्धिका लक्ष्य पूरा गर्न केही महत्वपूर्ण कामहरु पूरा हुने चरणमा छन्। प्रदेश गौरवका आयोजना अन्तर्गत कोरला त्रिवेणी सडक, शालिग्राम कोरिडोर, प्रदेश प्रशासनिक भवन, प्रदेश सभा भवन, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवन निर्माणका कार्य प्रारम्भ गरिएको छ। त्यस्तै एक निर्वाचन क्षेत्र एक सडक र स्थानीय तहको केन्द्र जोड्ने सडक, एक-घर एक धारा खानेपानी योजना, प्रदेश शिक्षण अस्पताल निर्माण, गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक प्रतिष्ठानका पूर्वाधार निर्माण, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नति, प्रादेशिक औद्योगिक क्षेत्रको स्थापना जस्ता समृद्धिका कार्यक्रमहरु सुरुवात मात्र भएका छन्। आगामी दिनमा यी कामहरु पनि छिटै पूरा गर्ने विश्वास दिलाउन चाहन्छु। हालसम्म प्रदेशले प्राप्त गरेका उपलब्धिलाई सुरक्षित गर्दै समृद्ध प्रदेश निर्माणको महान यात्रामा मलाई विश्वाशको मत दिई सहयोग गर्न यस प्रदेश सभाका सम्पूर्ण माननीय सदस्यहरुमा हार्दिक अनुरोध गर्दछु।

सभामुख महोदय

विश्वव्यापी फैलिएको महामारीका बीच राजनीतिलाई अस्थिर वनाएर केबल सत्ताको दाउपेचमा मात्र केन्द्रित गर्नु हाम्रो युगको राजनीतिको दुखान्त पक्ष हो। राजनीति व्दन्द विषयमात्र होइन यो मेलमिलाप, एकता र विश्वाशको वलियो सिमेन्ट पनि हो। जसरी स-साना कणहरुलाई, इँटालाई, वालुवा र गिटीलाई सिमेन्टले जोडने काम गर्दछु, त्यसरी नै राजनीतिले समाज रुपान्तरणका लागि बहुलताका बीच एकता निर्माण गर्दछ। प्रदेश सभामा रहनुहुने सबै राजनीतिक दलका माननीयहरुलाई मेरो हार्दिक आग्रह छ विश्वाशको मत जाहेर गर्नुहोस् म अझै एकताबद्ध प्रयास मार्फत प्रदेश विकासको नेतृत्व प्रदान गर्ने बिश्वाश दिलाउन चाहन्छु। जय गण्डकी प्रदेश

पृथ्वीसुब्बा गुरुङ

मुख्यमन्त्री, गण्डकी प्रदेश सरकार

पोखरा, नेपाल

मिति: २०७८।०२।२५



Author

थप समाचार