राजनीति

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

इकागज |
जेठ २७, २०७८ बिहिवार १८:३ बजे

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन असफल भएका छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका छन् । अविश्वासमा ३० र तटस्थमा १ मत खसेको छ ।  १ सांसद अनुपस्थित रहे । जनमोर्चाका कृष्ण थापाले तटस्थमा मत हालेका हुन् ।

यस्तै युवा तथा खेलकुद मन्त्री दिपक मनाङे अनुपस्थित रहे । अब प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको १६८ (५) बमोजिम सरकार गठनका लागि आह्वान गर्नेछिन् । कुनै एक सांसदले आफूसँग बहुमत भएको दाबी गर्दै प्रदेश प्रमुखकहाँ गएपछि नयाँ सरकार गठन हुनेछ । यसरी गठन हुने नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।


कांग्रेस नेतृत्वको गठबन्धनमा ४ दल गुरुङ सरकार ढाल्न लागेका थिए । कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर यो गठबन्धनले अविश्वास प्रस्ताव समेत ल्याएको थियो । २ वैशाखमा अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा पेश भएको थियो । तर अविश्वास प्रस्तावमा मतदान हुन पाएको थिएन ।

१५ वैशाखको बैठकमा मतदान हुने कार्यसूची भएपनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए । पछि कार्यव्यवस्थाको बैठकले २७ वैशाखमा अविश्वासमा मतदान हुने निर्णय गरेको थिया । मतदान हुनु एक दिन अघि मुख्यमन्त्री गुरुङले राजीनामा दिएर मार्ग प्रशस्त गरेका थिए ।

प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमत दाबी गरेर आउन विपक्षीलाई समय दिएपनि उनीहरु जान सकेनन् । र ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा पृथ्वीसुब्बा नै दोहोरिएका थिए । २९ वैशाखमा दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले १ महिनामा विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यताका कारण आज विश्वासको मागेका थिए ।


Author

थप समाचार
x