राजनीति

गण्डकीमा नयाँ सरकार भोलि

इकागज |
जेठ २८, २०७८ शुक्रबार १८:५९ बजे

 पोखरा  : गण्डकी प्रदेशले आज नयाँ सरकार नपाउने भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबै प्रक्रिया र विपक्षीले बुझाएको दाबी हेरेर भोलि कदम चाल्ने बताएकी छन् ।  उनले भनिन्, ‘आवश्यक परे म तपाईंहरुलाई बोलाउँछु, मैले संविधान बमोजिम नै काम गर्ने हो ।’

कांग्रेस नेतृत्वको गठबन्धन बहुमत दाबी गर्दै प्रदेश प्रमुख कहाँ गएको थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमत दाबी गरेर आउन दलहरूलाई आह्वान गरेपछि विपक्षीहरू प्रदेश प्रमुख कहाँ गएका हुन् ।


कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २ (कृष्ण थापा बाहेक), जनता समाजवादीका २, स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे)को हस्ताक्षरसहित उपस्थित भएका थिए । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएपछि प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेकी हुन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका थिए । अविश्वासमा ३० र १ जना तटस्थ बसेका थिए। १ सांसद अनुपस्थित रहे । जनमोर्चाका कृष्ण थापाले तटस्थ बसेका थिए । यसअघि कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर गठबन्धनले अविश्वास प्रस्ताव समेत ल्याइएको थियो ।

२ वैशाखमा अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा पेश भएको थियो । तर अविश्वास प्रस्तावमा मतदान हुन पाएन । १५ वैशाखको बैठकमा मतदान हुने कार्यसूची भए पनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए । पछि कार्यव्यवस्थाको बैठकले २७ वैशाखमा अविश्वासमा मतदान हुने निर्णय गरेको थियो ।  


Author

थप समाचार
x