राजनीति

'केपी ओली नमारे कांग्रेसले नजित्‍ने रहेछ'

इकागज |
जेठ २९, २०७८ शनिबार ११:१४ बजे

काठमाडौँ : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कुनै भयानक षडयन्त्र हुँदै गरेको टिप्पणी गरेका छन् । बागमती प्रदेश सभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्‍न तयार रहेको अभिव्यक्ति दिएपछि बाँस्कोटाले यस्तो बताएका हुन् ।

केपी ओली नमारे कांग्रेसले नजित्‍ने रहेछ भन्‍दै बाँस्कोटाले ट्‍वीट गरेका छन् । 'केपी ओली नमारे कांग्रेसले नजित्‍ने रहेछ, प्रधानमन्त्रीमाथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ' बाँस्‍कोटाले ट्‍वीट गरेका छन् 'नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ ? ओली विरोधी गठबन्धन नै यसमा सामेल त छैन ? कांग्रेसको आधिकारिक भनाई चाहिन्छ । एमालेहरू सचेत बन ।'


वैद्यले दिएको अभिव्‍यक्‍तिप्रति नेकपा एमाले आपत्‍ति जनाएको छ । शनिबार विज्ञप्‍तिमार्फत प्रधानमन्‍त्री ओलीको हत्या गर्ने बारे दिएको धम्कीलाई गम्‍भीर रूपमा लिएको जनाएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि तयार रहेको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको एमालेको ठहर छ ।

'बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रूपमा लिएको छ,' प्रवक्‍ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्‍तिमा भनिएको छ, 'प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।'

त्‍यस्तै नेपाली कांग्रेसले पनि विवादास्‍पद अभिव्‍यक्‍ति दिएका आफ्‍ना सांसद वैद्यलाई अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ । शनिबार विज्ञप्‍तिमार्फत प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्‍नसमेत सचेत गराएको जनाएको छ ।

'बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षणलगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको छ,' प्रवक्ता विश्‍वप्रकाश शर्माद्वारा जारी विज्ञप्‍तिमा भनिएको छ, 'प्रदेश संसदीय दलको नेतृत्व मार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेत समेत गराइएको छ ।'


Author

थप समाचार
x