राजनीति

नेपालमा धेरै जेलमा बस्‍नुपर्ने मान्छे सत्ताको कुर्सीमा बसेका छन् : डा. बाबुराम भट्टराई

इकागज |
जेठ ३०, २०७८ आइतबार १०:१६ बजे

काठमाडौँ : जनता समाजवादी पार्टीका संघीय परिषाद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीव गुरुङ (दीपक मनाङे)ले नयाँ जीवन र भूमिका चाहेमा त्यसमा उनलाई बञ्‍चित गर्न नहुने बताएका छन् । समाजिक सञ्जाल फेसबुकमा डा. भट्टराईले उनीमाथि पूर्वाग्रह राख्‍न पनि नहुने बताएका छन् । 'रत्‍नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं । त्यसैले राजीव गुरुङहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ?  किन पूर्वाग्रह राख्‍ने ?,'  डा. भट्टराईले फेसबुकमा लेखेका छन् ।

आफूले मनाङेलाई भेटेको भन्दै भएका विभिन्‍न टीकाटिप्पणीलाई अन्यथा मान्‍न नहुने उनले लेखेका छन् । मानिस जन्मजात अपराधी नहुने र समाज/राज्यले अपराधी बनाउने उनको तर्क छ ।


'मेरो सुविचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अपराधी हुन्‍न । समाज/राज्यले मान्छेलाई अपराधी बनाउॅछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ।अत:अपराध/अपराधी एक सापेक्ष अवधारणा हो,' डा. भट्टराईले लेखेका छन् ।

उनले नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा बसेको बताएका छन् । 'मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्‍न जेल/बन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ- नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्;अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन् । त्यही सोचका साथ आफु प्रम छॅदा मैले जेलसुधारनिम्ति तत्कालीन सांसद देवी खॅड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ,जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन,' डा. भट्टराईले लेखेका छन् । 


Author

थप समाचार
x