राजनीति

चन्‍द नेकपा निकट १२ जनसंगठनको संयुक्‍त विज्ञप्‍ति

नेपाली भू-भाग हुँदै मानसरोवर जाने सडक निर्माण रोक्‍न माग गर्दै भारतीय राजदूतलाई पत्र

इकागज |
असार १, २०७८ मंगलबार १४:२० बजे

काठमाडौँ : नेत्र विक्रम चन्‍द नेतृत्‍वको नेकपा निकट १२ जन वर्गीय संगठनले त्रिदेशीय बिन्दुभन्दा वर नेपाल तर्फको भू-भाग (लिपुलेक, कालापानी र लिम्पियाधुरा) हुँदै मानसरोवर पुग्‍ने सडक निर्माण रोक्‍न माग गर्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई पत्र पठाएका छन् । मंगलबार १२ जनसंगठनले संयुक्‍त रूपमा जारी गरेको विज्ञप्‍ति इमेलमार्फत राजदूत क्‍वात्रालाई पठाइएको अनेरास्‍ववियू (क्रान्‍तिकारी)का अध्यक्ष चिञ्‍जीवी ढकालले जानकारी दिए । 

पत्रमा भारतले सडक निर्माण गरिरहेकोप्रति आफूहरूको गम्‍भीर ध्‍यानाकर्षण भएको भन्‍दै तत्‍काल निर्माणको काम रोक्‍न चेतावनी दिइएको छ । दुई देशबीचको सीमा समस्‍या कूटनीतिक रूपमा आपसी समझदारीमार्फत समाधान गर्न सकिने विश्‍वास व्‍यक्‍त गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकताको सम्मान गर्नुपर्ने माग पत्रमा गरिएको छ।


भारतले नेपाली हुँदै तिब्बतको धार्मिकस्थल मानसरोवर पुग्ने बाटो निर्माणलाई फेरि तीव्रता दिएको छ । केही दिनअघि भारतका रक्षामन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा सडक निर्माण गर्ने सुरक्षा निकाय बोर्डर रोड अर्गनाइसेजन (बीआरओ) ले ‘कैलाश मानसरोवर यात्राको लागि नयाँ बाटो निर्माण गरेको’ भन्दै प्रसंशा गरेका थिए । 
 


Author

थप समाचार
x