राजनीति

राप्रपामा रेखा थापाको विद्रोह : के पार्टी रिटायर्डहरूको सरोकार समूह मात्र हो ?

इकागज |
असार ५, २०७८ शनिबार १४:३७ बजे

काठमाडौँ : नेपाली सिनेमाकी अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले पार्टीको निर्णयप्रति असहमति जनाएकी छन् । केन्द्रीय विशेष समिति गठनको विषयमा प्रश्न उठाउँदै थापाले राप्रपामा विद्रोह गरेकी हुन् ।

राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले गरेको निर्णयप्रति थापाले विमत्ति जनाएकी छन् । शनिबार बसेको राप्रपा बैठकले  यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गरेको थियो । थापा तत्कालीन राप्रपा नेपालकी केन्द्रीय सदस्य हुन् । 


पार्टीको निर्णयबारे फेसबुकमा टिप्पणी गर्दै थापाले महिलालाई बहिष्कार गरेको बताएकी छन् । थापा राप्रपाअघि तत्कालीन माओवादी पार्टीमा आवद्ध थिइन् । थापाले फेसबुकमा लेखेकी छन् :

कुन चाहिँ रा.प्र.पाले देश हाँक्ने हो ? त्यो रा.प्र.पा जस्ले देशमा को को मान्छे बस्छन् थाहा पाएको हुन्छ, न्युनतम लैङ्गिक साक्षरता राख्छ, मौलिक वैचारिक नमुना पे गर्छ, सभ्यताको माग अनुसार इतिहासलाई उन्नत व्याख्या गर्छ, युवा र श्रमिक वर्गमा स्थापित हुँदै जान्छ र संस्थालाई लोकतान्त्रिकरण गर्छ ।

वा त्यो रा.प्र.पा जो महिलालाई बहिष्करणको नमुना देखाउँछ, मजदुर, किसान, श्रमिक र युवासँग डराउँछ, विरासतको रुपमा राजनीतिलाई कोठे बनाउँछ, बहसमा उत्रिँदैन- सम्झौतावादी राजनीति गर्छ, अवैज्ञानिक रुपमा पार्टी सञ्चालन गर्छ, आत्मसुरक्षाभन्दा अरु सोच्दैन र सधैं रक्षात्मक सोचले ग्रस्त हुन्छ, जनप्रिय मान्छे लत्याउने र आर्थिक हैसियतमा निर्णय गर्दछ ।

कुन चाहिँ रा.प्र.पा वैकल्पिक शक्ति बन्ने हो ? कुन चाहिँ रा.प्र.पा मौलिक रुपमा सबैको पार्टी हो ? कुन चाहिँ रा.प्र.पा उदाउँदो रा.प्र.पा हो ? कुन चाहिँ रा.प्र.पा नाम मात्रको पार्टी हो ? कुन चाहिँ रा.प्र.पा व्यवहारमा- वयस्क र रिटायर्डहरुको सरोकार समूह मात्र हो ? कुन रा.प्र.पा हामी सबैको रा.प्र.पा हो ?


Author

थप समाचार
x