राजनीति

आफू पक्षीय नेताहरूसँग देउवाले भने : सभापतिमा उठ्छु, सहयोग गर्नुस्

इकागज |
असार ५, २०७८ शनिबार १६:११ बजे

फाइल तस्बिर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने बताएका छन् । पार्टीका प्रदेश एकका आफ्नो समूहका केन्द्रीय सदस्यहरूसँग देउवाले आफू आगामी महाधिवेशनमा उम्मेदवार बन्‍ने विचार गरेको भन्दै, सुझाव मागेका हुन् । 

छलफलमा सहभागी केन्द्रीय सदस्य मीन विश्वकर्माले देउवाले आफ्नो १४ औं महाधिवेशनमा सभापति बन्ने चाहना रहेको भन्दै सघाउन आग्रह गरेको जानकारी दिए । 


‘सभापतिमा मैले पनि विधानले दिएको कुरा गर्नै पर्ने होला । मेरौ जिम्मेवारी पनि छ । राष्ट्रिय राजनीतिमा सबैको समन्वयकारी भूमिका कांग्रेसले गरिरहेको छ । मैले गरिरहेको छु,’ देउवाको भनाइ उध्रित गर्दै विश्‍वकर्माले इकागजसँग भने, ‘पार्टीमा मैले गर्नु पर्ने थुप्रै काम बाँकी छन् । पहिलेको अवस्थामा पनि त्यति राम्ररी काम गर्न पाइएन । तसर्थ मैले उम्मेदवार बन्‍ने विचार गरेको छु, के गर्ने ?’

कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ । त्यसपछि महाधिवेशनका सन्दर्भमा र आफ्नो तयारीका सन्दर्भमा देउवाले छलफल सुरु गरेका हुन् । 

आफ्नै निवास बुढानीलकण्ठमा भएको छलफलमा देउवाले आफ्ना कमीकमजोरीलाई औपचारिक कार्यक्रममा नभइ, अनौपचारिक कार्यक्रममा औल्याइदिन नेताहरूलाई आग्रह गरेका थिए । ‘पार्टीमा देखिएका कमीकमजोरीलाई औपचारिक बैठकमा भन्दा अनौपचारिक बैठकमा औल्याइदिनुस् म सच्याएर अधि बढ्छु,’ देउवाको भनाइ उध्रित गर्दै विश्वकर्माले भने । 

विश्वकर्माका अनुसार छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, विश्वकर्मा, भिष्मराज आङ्दम्बे, सिता गुरुङ, रामकृष्ण भट्टराई, बाबुराम बस्‍नेत, डिला संग्रौलालगायत उपस्थित थिए । 

देउवाले यसपछि मौका मिलाएर प्रदेशपिच्छे नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् । देउवाको सचिवालयका अनुसार पार्टी सभापति भएकाले आफूलाई विश्वास लागेका नेताहरूसँग देउवाले महाधिवेशनबारे छलफल गरेका हुन् । त्यो छलफल अब निरन्तर रहने छ । 
 


Author

थप समाचार
x