राजनीति

निधिले देउवासँग भने : म सभापतिमा उठ्छु, सहयोग चाहियो

जवाफमा देउवाले भने : जो पनि उठ्न पाउँछ

इकागज |
असार ५, २०७८ शनिबार २१:१३ बजे

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई पार्टीको १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् । आज दिउसो बुढानिलण्ठस्थित सभापति देउवाको निवासमा भएको छलफलमा निधिले देउवालाई आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् । 

देउवाले आज बिहान र दिउँसो प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का आफूनिकट केन्द्रीय सदस्यलाई  आफू सभापति उठ्ने भएकोले महाधिवेशन प्रतिनिधि ल्याउनदेखि नै सहयोग गर्न भनेका थिए । देउवाले महाधिवेशनमा आफू नै सभापति उठ्ने बताएपछि बोलेका उपसभापति निधिले  आफूलाई सहयोग गर्न देउवालाई आग्रह गरेका थिए ।


‘मैले पहिले पनि तपाईंलाई भेटेर भनेको हुँ- सभापतिमा मलाई सहयोग गर्नुस् भनेर,’ निधिको भनाइ उध्रित गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘यतिन्जेल मैले तपाईंलाई सहयोग गरेँ। अब तपाईंकै सहयोगमा म सभापति जित्‍ने हो ।’

निधिले देउवालाई प्रधानमन्त्रीमा तयाी गर्न सुझाएका थिए। ‘तपाईं प्रधानमन्त्री हुने हो। तयारी गर्नुहोस्,’ निधिले भने । 

तर देउवाले सभापति उठ्न जो पनि पाउने बताउँदै भने ‘सभापति उठ्ने हो भने उठ्नुस् । जो पनि उठ्न पाउँछ नि, मैले पनि अब एक कार्यकालका लागि तयारी गरिसकेँ। म उठ्ने हो।’ छलफलमा निधिसँगै आनन्द ढुंगाना, गंगीलाल यादव, महेन्द्र यादव र शम्भुलाल श्रेष्ठसहितका नेताहरू सहभागी थिए । 

सभापति देउवाले भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरूसँग पनि भेटेर आफू सभापति उठ्ने भएकोले त्यसैअनुसार सहयोग गर्न आग्रह गर्ने तयारी गरेका छन् ।


Author

थप समाचार
x