राजनीति

जसपाको ठाकुर समूहको आयोगमा दाबी

७ पुसमा कार्यकारिणी समितिबाट पारित भई बाहिर नल्याएका दुई निर्णय यी हुन्

थपिएका २० सदस्यबारे समेत जानकारी

इकागज |
असार ६, २०७८ आइतबार ११:९ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर समूहले २०७७ पुस ७ गते गरिएका तीन निर्णयमध्य एउटा आन्दोलनसम्बन्धी निर्णयमात्रै सार्वजनिक गरिएको बताएको छ । दुई निर्णय पार्टीसँग सम्बन्धित रहेकाले सावर्जनिक नगरिएको भन्दै सो समूहले अहिले आवश्यक परेकाले निर्वाचन आयोगमा बुझाएको जनाएको छ । 

निर्वाचन आयोगमा बुझाएको र इकागजलाई प्राप्त त्यो बैठकको पहिलो निर्णय निर्णयमा लेखिएको छ, 'आजको बैठकले जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार पार्टीका पहिलो वरियताका अध्यक्ष मा. श्री महन्थ ठाकुरलाई प्रदान गर्ने निर्णय गरियो ।'


त्यस्तै दोस्रो निर्णयमा लेखिएको छ, 'अब उपरान्त केन्द्रीय कार्यकारिणी समितिको बैठक दुवै जना अध्यक्षले सहमतिमा बोलाउन सक्नेछ वा पहिलो वरियताको अध्यक्षले आवश्यकता अनुसार बोलाउन सक्नेछ । वैठकबाट भएको निर्णय प्रमाणिकरण तथा पार्टीको आधिकारीक पत्राचारको आधिकार पहिलो वरियताको अध्यक्षलाई दिने निर्णय गरियो ।'

समूहले असार एक गते यी निणयको माइन्यूटसहित निर्वाचन आयोगमा बुझाएको छ । आयोगमा १३९२ नम्बरमा दर्ता भएको निर्णयसहित १२ प्रकारका कागजात पनि समावेश गरिएको छ । 

तर अर्को समूहले भने त्यो मितिको बैठकमा अध्यक्ष ठाकुरलाई एकल अधिकार दिने विषयमा कुनै निर्णय नभएको अर्का अध्यक्ष उपेन्द्र यादव समूहले बताएको छ । प्रवक्ता डम्बर खतिवडाले शनिबार विज्ञप्ति निकालेर त्यस दिनको बैठकमा ठाकुरलाई एकल हस्ताक्षरको अधिकार दिने कुनै निर्णय नभएको उल्लेख गरेका छन् । 

ठाकुर समूहका कार्यकारिणी सिमिति सदस्य केशव झा भने उनको त्यो दाबी स्वीकार्न तयार छैनन् । झाले पुस ७ गतेको बैठकले तीन निर्णय गरेको र दुई निर्णय पार्टीसँग सम्बन्धित भएकाले बाहिर नल्याइएको बताए । उनले भने, 'अहिले अर्को पक्षबाट जुन दाबी आएको छ । त्यो सत्य होइन । पुस ७ गते कार्यकारिणी समिति बैठकले तीन निर्णय गरेको थियो । दुई पार्टीका आन्तरिक काम लाग्‍ने र बाहिर ल्याउन आवश्यक खालका थिएनन् । र ल्याइएन । अहिले आवश्यक पर्‍यो  र ल्यायौँ ।'  

सत्ता समीकरणका विषयमा देखिएको विवाद जसपामा अहिले चरमोत्कर्षमा पुगेको छ । ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको छ भने यादव समूह विपक्षी गठबन्धनमा छ । 

एकले अर्कालाई पार्टीबाट निकाल्ने क्रम पनि चलिरहेको छ । 

पार्टीको आधिकारिकता लिन दुवै पक्षले कसरत गरिरहेका छन् । ठाकुरले आफूलाई ७ पुसमा दिइएको अधिकार भन्दै कार्यकारिणी समितिमा आफ्ना पक्षका नेताहरूलाई थपेर आफ्‍नो पक्षमा बहुमत पुर्‍याएका छन् । तर यादव समूहले ठाकुर समूहले कीर्ते गरेको र त्यसदिन यससम्बन्धी कुनै निर्णय नभएको बताउँदै आएको छ । 

ठाकुरले आफूले पाएको अधिकार प्रयोग गरेर २० जनालाई कार्यकारिणी समितिमा थपेका छन् । इकागजलाई प्राप्त कागजातमा डा. विजयकुमार सि‌ह, परमेश्वर साह सुडी, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, अभिराम शर्मा, बाबुलाल साह, रमेशप्रसाद कुर्मी, विजय गुप्ता, जयप्रकाश ठाकुर, सुरेश कुमार मण्डल, सत्रजीत यादव, सन्तोष मेहता, राजीव झा, उपेन्द्र महतो, अरविन्द साह, अर्जुनप्रसाद उप्रेती, सुरेन्द्र झा, कृष्णकुमार सिंह, मुकेश शुमार झा, र एकवाल मियाँलाई थपिएको उल्लेख छ ।


 


Author

थप समाचार
x