राजनीति

विपद्पछिको उद्धार र राहतमा विशेष ध्यान दिनुपर्छ : गृहमन्त्री अधिकारी

इकागज |
असार ६, २०७८ आइतवार १७:५ बजे

काठमाडौँ : गृहमन्त्री खगराज अधिकारीले प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । आइतबार सिंहदरबारमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग छलफल गर्दै अधिकारीले प्राकृतिक प्रकोपको जोखिम न्यूनिकरणका साथै छिटोभन्दा छिटो उद्धार र राहत कार्यमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् । 

मन्त्री अधिकारीले मुलुकको समग्र शान्ति सुरक्षा र कोभिड संक्रमण रोकथाम र उपचारको व्यवस्थापनमा सातै प्रदेशसँग समन्वय गरेर अघि बढ्ने बताएको गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए । 
 
बैठकमा मन्त्रालयले शान्ति सुरक्षा र विपद् व्यवस्थापन कार्ययोजनाका विषयमा प्रस्तुतिकरण गरेको थियो । बैठकमा सातै प्रदेशबाट आएको सुझावलाई ग्रहण गर्दै संयुक्त रुपमा कार्यान्वयनमा लैजाने सहमति भएको प्रवक्ता दाहालले बताए । 


त्यस्तै बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुले प्रहरी समायोजन र संघीय प्रहरी ऐनलाई जतिसक्दो छिटोअघि बढाउन पनि मन्त्री अधिकारीलाई सुझाव दिएका थिए ।   


Author

थप समाचार
x