राजनीति

गण्डकी प्रदेश

सहमति कार्यान्वयन नभए लाखु लखेटाइ लखेट्छौँ : जसपा

इकागज |
असार ६, २०७८ आइतवार १७:५० बजे

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल अहिले समस्यामा छन् । मन्त्रिपरिषद विस्तारमा दलहरूबीच संख्यामा सहमति जुटेपनि मन्त्रालय भागभण्डामा अझै सहमति जुट्न सकेको छैन । सबै दलले ठूला मन्त्रालय दाबी गरिरहँदा मुख्यमन्त्री समस्यामा छन् । 

दलहरूले अडान नछाड्दा दबाबमा परेका मुख्यमन्त्री थप दबाबमा परेका छन्, आफ्नै एकल निर्णयले । मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका हरिशरण आचार्यसँग ३ बुँदे लिखित सहमति गरेको खुलेको छ, जुन अहिले मुख्यमन्त्रीमाथि नै आत्मघाती सावित हुन सक्छ । 


दलहरूबीच मन्त्रालयको भागभण्डा, नियुक्तिका विषय नमिल्दा ११ बजे डाकिएको बैठक ढिला गरी १२ बजेमात्र बसेको थियो । सो दिन जनता समाजवादीले कांग्रेससँग लिखित सम्झौता खोजेपछि दलहरूको बैठक बस्दा किचलो आएको प्रष्ट हुन्थ्यो । ४ गते विश्वासको मत लिनु अघिमात्र जनता समाजवादीले धेरै किचलो ल्याएपछि मुख्यमन्त्री पोखरेलले लिखित सम्झौता गरेका हुन् । 

३ बुँदे सहमतिमा अर्थ मन्त्रालयसहित २ मन्त्रालय समाजवादीले पाउनुपर्ने, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनु पर्ने र दलीय मान्यता पाउन १० प्रतिशतको व्यवस्था हटाउनु पर्ने बुँदा छन् । विश्वासको मत नदिने डरले ४ असारमा मुख्यमन्त्री पोखरेलले गरेको सहमति अहिले उनकै लागि आत्मघाती सावित भएको छ । जनता समाजवादीका संसदीय दलका नेता तथा मन्त्री हरिशरण आचार्य आफ्नो दलले अर्थ मन्त्रालयमा दाबी नछाड्ने बताउँछन् । मुख्यमन्त्रीले सहमति गरिसकेको अवस्थामा आफूहरूलाई अर्थसहित २ मन्त्रालय नदिए सरकारविरुद्ध विद्रोह गर्ने आचार्यले बताए । 

अहिले कांग्रेस, माओवादीले प्राकृतिक न्यायको सिद्धान्तको बिगुल फुकेपनि समाजवादीलाई नै त्यो लागु हुने आचार्यले बताए । ‘माओवादीले सभामुख र ४ मन्त्रालय, कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, अनि हामी चाहिँ अरुले छाडेको चोइटा समाउनुपर्ने ?’ आचार्यको प्रश्न छ । 

थ्रेसहोल्ड हटाउने सहितका तीनवटै बुँदाबाट कुनै एकमा सरकार नमाने पनि आफूहरू विद्रो थाल्ने र ‘लाखु लखेटाइ’ लखेट्ने आचार्य बताउँछन् । ‘हामी दल सानो होला तर हाम्रो साथ बिना उनीहरूको सरकार बन्दैन, सानो भनेर हेप्न मिल्दैन,’ आचार्यले भने, ‘सहमतिबाट भाग्न खोजे लाखु लखेटाइ लखेट्छौं ।’

कांग्रेसले ठूला नियुक्ति आफैँसँग राख्न लागेकाले पनि आफूले अर्थमन्त्रालयको दाबी नछाड्ने आचार्य बताउँछन् । ‘नीति योजना आयोगमा आफ्नै मान्छेलाई ल्याएर शपथ गराइसकियो, अब हामीले किन दाबी छाड्ने, हामी व्याक हुने कुरा आउँदैन,’ आचार्यले भने । 

सांसद धनमाया लामा पोखरेल माओवादीमा राजनीतिक नैतिकताको कमी देखिएको बताउँछिन् । आफूले रोजेको मन्त्रालय नपाए सरकारमै जान्नँ भन्नु अनुचित रहेको र गठबन्धनको सहमतिविपरित रहेको उनले बताइन् । माओवादीले तत्कालिन नेकपामा पनि विद्रोह मच्चाएको र अहिले गठबन्धनमा पनि समस्या ल्याउने माओवादी रहेको लामा बताउँछिन् ।

‘हिजो पनि नेकपामा हुनुहुन्थ्यो, २ महिना प्रतिपक्षीमा बसेर अहिले फेरी सत्तापक्ष बन्नुभएको छ, यो त्यो मन्त्रालय पाइनँ भने सरकारमै जान्नँ भन्नु नैतिकता विपरित हो,’ उनले भनिन्, ‘दल सानो भएपनि अर्थमा हाम्रो दाबी हो, मुख्यमन्त्रीमै पनि हुन सक्थ्यो, माओवादीले यो हुन्न, त्यो हुन्न भन्न मिल्दैन ।’

राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापा अहिले आफूहरूको गठबन्धनको भावना विपरित गएर अनावश्यक किचलो ल्याइएको बताउँछिन् । आफूहरूले सत्ताप्राप्तिका लागि मात्र आन्दोलन नगरेको र रोजाइका मन्त्रालय नपाए सरकारलाई साथ दिन्नँ भन्नु केटाकेटी पारा रहेको थापा बताउँछिन् । ‘हाम्रो मिसन के हो ? केका लागि लड्यौं भन्ने भुलेर केटाकेटी तरिकाले यो चाहियो त्यो चाहियो भनेर बस्न मिल्दैन,’ थापा भन्छिन् । 


 


Author

थप समाचार
x