राजनीति

केपी ओली पार्टी एकताविरुद्ध लागेको प्रष्ट भइसक्यो : माधवकुमार नेपाल

इकागज |
असार ७, २०७८ सोमवार २०:४ बजे

काठमाडौँ : नेकपा एमालेबा निर्वाचित कर्णाली प्रदेश सभा सदस्यमाथिको कारबाहीलाई अदालतले उल्ट्याइदिएपछि अध्यक्ष केपीशर्मा ओलीले भ्याकेटमा जाने निर्णय गरिसकेका छन् । ओलीको उक्त निर्णयलाई लिएर एमालेकै नेता माधवकुमार नेपालले आपत्ति जनाएका छन् ।

नेपालले भ्याकेटमा जाने निर्णय पार्टी एकता भंग गर्ने खालको भएको पनि टिप्पणी गरेका छन् । नेपालले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेशका संसद्हरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रष्ट बुझ्न सकिन्छ ।’


नेपालले पार्टी एकता जोगाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा कमजोरीको रुपमा लिएको भन्दै एकता विरोधीहरुसँग सावधान हुन पनि आग्रह गरेका छन् । 
‘स्थायी समितिका नेतामाथि कथित कारबाही,  फेरि उहाँहरू सँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्‍न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो,’ उनल लेखेका छन्, ‘सत्ता जोगाउन संविधानका विरोधी  र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ, सहजै देख्न सकिन्छ ।’ 

नेपालले ओलीलाई एकता विरोधी तत्व पनि भनेका छन् । ‘असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरू र एकता विरोधी तत्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु’ उनले लेखेका छन्  ।  


Author

थप समाचार
x