राजनीति

झापाको विद्यालय शिलान्यास गर्दै प्रधानमन्त्रीले भने : ३० वर्षमा नभएको विकास ३ वर्षमा भयो

'डेढ वर्ष कोभिड र आफ्नै पार्टीसँग लड्यौँ'

इकागज |
असार ८, २०७८ मंगलबार १७:३० बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विगत ३० वर्षमा नभएका विकास पछिल्ला तीन वर्षमा देशभरी भएको दाबी गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटरबाटै गौरादह नगरपालिका वडा न. ६ स्थित डोरामारी मावि विद्यालय भवनको भर्चुअल शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

'जम्मा दुई वर्ष मात्र राम्ररी काम गर्ने वातावरण पाइयो, त्यसपछि डेढ वर्ष त कोभिडसँग लडेर र कहिले के नाममा कहिले के नाममा आफ्नै पार्टीबाट समेत भााँजो हाल्ने प्रयाससँग लड्नु पर्‍यो,' उनले भने। हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर  पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले काम गर्ने भिजन र अठोट भएको सरकार हुनु र नहुनुमा कति अन्तर हुन्छ भन्ने कुरा यसले स्पष्ट गरेको समेत उल्लेख गरे । अहिले पनि देशलाई ताजा जनादेश तिर जान नदिने, चौतर्फी प्रयास भइरहेको भनाई उनको थियो । ‘न त भएको सरकारलाई काम गर्न दिने न त वैकल्पिक सरकार नै दिने यस्तो अवस्थाबाट पार पाउनका लागि जनतामा जान सरकार कृतसंकल्पित छ’, उनले भने ।

भवन शिलान्यासबाट डोरामारीका जनताको  भौतिक सुविधा सम्पन्न आधुनिक भवनमा शिक्षा दिने आकांक्षाले मूर्त रुप पाउन आँटेको धारणा उनको थियो । आफूले चुनावकै बेलामा पनि जनताको यस्तो आकांक्षा बुझेको र अहिले सोचेभन्दा राम्रो भवन डोरामारी माविलाई उपलब्ध हुने अवस्था बन्नु खुसीको विषय भएको धारणा पनि उनको थियो ।

यसका साथै अहिले दमक औद्योगिक पार्कको निर्माणबारे लगानी बोर्डमा छलफल भइरहेको तथा हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गबारे असाधारण काम भएको पनि उनले उल्लेख गरे ।

‘तर देशलाई अघि बढन नदिने र विकास गर्ने सरकारलाई ढालेर छोड्ने विभिन्न रंगका तत्वहरु कृयाशिल छन् । आफ्नै पार्टीको सरकार ढालेर अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन खोज्ने सम्मको निर्लज्ज तत्वहरु मेरै पार्टीमा देखा परे,' उनले भने ।

अहिले आफ्ना प्रतिद्वन्द्वीहरुले आफ्नो व्यक्तिगत नभई लोकतान्त्रिक अभ्यासको विरोध गरेको र अनैतिक समाज निर्माण गर्ने प्रयास भएको पनि प्रधानमन्त्रीले बताए । सामाजिक सञ्जालमा प्रयुक्त भाषाले हाम्रो गौर पूर्ण भाषालाई अधोपतनतर्फ लगिँदै गरिएको पुष्टी गर्ने समेत उनले उल्लेख गरे । सम्बोधनमा प्रधानमन्त्री ओलीले विद्यालय भवन निर्धारित समयमै एवं गुणस्तरमा सम्झौता नगरी विद्यालय भवन निर्माण सम्पन्न हुने विश्वास पनि प्रधामन्त्रीले व्यक्त गरे ।   



Author

थप समाचार
x