राजनीति

चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध एक अर्बको भ्रष्टाचार अभियोग

इकागज |
असार ९, २०७८ बुधबार १४:३१ बजे

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका चुडामणी शर्मासहितका पदाधिकारीविरुद्ध एक अर्ब बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  आयोगले बुधबार एक अर्ब ३३ लाख २० हजार तीन सय ८५ रुपैयाँ भ्रष्टाचार बिगो कायम गरी विशेष अदातलमा मुद्दा दायर गरेको हो । 

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले विज्ञप्ति जारी गरेर शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध मुद्दा दायर गरेको जनाएका छन् । शर्मा त्यो समयमा आन्तरिक राजस्व विभागका महानिर्देशक थिए ।


नेपाल सरकारले  २०७१ माघ २२ मा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ अनुरुप कर फछ्र्याैट गर्न समिति बनाएको थियो । समितिले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरूसँग कर फर्छ्यौट सम्झौता गरी नेपाल सरकारलाई प्राप्त हुने ठुलो मात्राको राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको विषयमा छानबिन गरेको थियो ।

आयोगका अनुसार, अनुसन्धान हुँदा करदाताहरूको विभिन्‍न कर शीर्षकमा कर वक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियपूर्वक रु.१,००,३३,२०,३८५।– (अक्षरुपी एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ) बक्यौता कर छुट दिएको पुष्टि हुन आएको आयोगले जनाएको छ । 

आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पुर्‍याइ बदनियतपूर्ण कार्य गरेको सप्रमाण पुष्टि हुन आएको आयोग ठम्याइ छ । 

त्यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय (क) मा परिभाषित कसुर गरेको पुष्टि हुन दाबी आयोगको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेबमोजिम बिगो कायम गरी दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद गरी दफा ७ बमोजिम जरीवाना सजाय हुन माग दाबी लिई विशेष अदालत ऐन, २०५९ को दफा ९ समेतको आधारमा आरोपपत्र दायर गरिएको रिसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 


Author

थप समाचार
x