राजनीति

सुनुवाइ समिति : प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय

इकागज |
साउन २९, २०८१ मंगलबार १४:२४ बजे

काठमाडौँ- संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।

संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको समितिका सभापति पशुपतिशमशेर जबराले जानकारी दिए ।


सरकारले यही साउन १४ गते डा शङ्कर शर्मा (भारत), प्राडा कृष्णप्रसाद ओली (चीन), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका), चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य), डा शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया), प्रा धनप्रसाद पण्डित (इजरायल), रामकृष्ण भट्टराई (श्रीलङ्का) र रीता धिताललाई (पाकिस्तान) का निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

त्यस्तै नरेशविक्रम ढकाल (साउदी अरेबिया), प्राडा कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), सुनिल नेपाल (स्पेन), डा शैल रुपाखेती (जर्मनी), जङ्गबहादुर चौहान (रुसी महासङ्घ), रमेशचन्द्र पौडेल (कतार), सुम्निमा तुलाधर (डेनमार्क), डा नेत्रप्रसाद तिमिल्सिना (मलेसिया) र प्रकाशमणि पोखरेललाई (पोर्चुगल) लाई सिफारिस गरेको छ । उजुरी आह्वानसंगै समितिमा पनि प्रस्तावित राजदूतका विषयमा छलफल हुने सभापति जबराले जानकारी दिए ।

संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।


Author

थप समाचार
x