राजनीति

सरकारबाट बाहिरिनु परेपछि माओवादीले प्रतिगमनको हल्ला चलायो : सञ्‍चारमन्त्री गुरुङ

इकागज |
भदौ १, २०८१ शनिबार १५:२० बजे

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारबाट बाहिरिनु परेपछि माओवादीले प्रतिगमनको हल्ला चलाएको बताएका छन् ।

तमु सञ्चारकर्मी संघ नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा गुरुङले कांग्रेस-एमाले मिल्दा प्रतिगमन हुन्छ भन्ने हल्ला चलाएर माओवादीले सरकारबाट हट्नु पर्दाको पीडा व्यक्त गरेको बताएका हुन् । पटक पटक सरकार परिवर्तनको प्रयोग भएपछि मुलुकमा स्थिरता कायम गर्न ठूला दुई दल मिल्नुपरेको उनले बताए ।


उनले मुलुकको परिवर्तनमा सबै दलको भूमिका महत्वपूर्ण रहेको भन्दै उपलब्धि मास्ने काम कसैले नगर्ने स्पष्ट पारे । गुरुङले कुनै दलको स्पष्ट बहुमत नआउँदा मुलुकमा देखिएको अस्थिरता अन्त्य गर्न निर्वाचन प्रणाली परिवर्तनको बहस चल्नु स्वभाविक भएको भन्दै यसका कारण कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको धारणा राखे ।

आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्दा सबैका सहमतिका साथ अघि बढ्ने उनले बताए ।

त्यस्तै मन्त्री गुरुङले संविधानमा सबैको अधिकारका कुरा रहेता पनि यसलाई व्यवहारमा लागू गर्नका लागि नीति कानुन आवश्यक रहेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने समेत बताए । 


Author

थप समाचार
x