छानबिन विशेष समितिले सहकारी रकम अपचलनमा मुछिएका रास्वपाका सहमहामन्त्री आचार्यसँग बयान लियो
काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी रकम अपचलनमा मुछिएका रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यसँग बयान लिएको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले सहकारी रकम अपचलन विषयमा आचार्यसँग बयान लिएको हो । आचार्य सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनमा मुछिएका छन् । सहकारीबाट २०७८ पुस १२ गते विपिन कुमार आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको र उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको आरोप छ ।
समिति बयानका लागि हाजिर भएकाले दिएको बयानलाई सम्बन्धित व्यक्तिको हस्ताक्षर सहित रेकर्डमा राखिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि निष्कर्षमा पुग्न सरोकारवाला निकाय लगायत सहकारी ठगीमा मुछिएकाहरूलाई कारागारबाट झिकाएर पनि समितिले निरन्तर छलफल गरिरहेको छ । छलफलका साथै प्रतिवेदनको मस्यौदा निर्माणको काम पनि निरन्तर भइरहेको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।
यसअघि सदनमा सहकारी प्रकरणमा छानबिन गर्नुपर्ने आवाज उठेपछि गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया