कर्णाली प्रदेश सभा बैठक फेरि अवरुद्ध
बजेट ल्याएको ११ दिनसम्म पनि दफावार छलफल हुन सकेन
सुर्खेत : कर्णाली प्रदेश सभाको बैठक नेकपा एमालेले फेरि अवरुद्ध गरेको छ । शुक्रबार (आज) बसेको संसद्को १२ औं बैठकमा पूर्नवहाली भएका सांसदहरु प्रतिपक्षको सिटमा नबसेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । बजेट ल्याएको ११ दिनसम्म पनि दफावार छलफल हुन सकेको छैन ।
संसद् बैठकको सुरुवातमा एमालेका प्रमुख सचेतक गुलावजंग शाहले मुख्यमन्त्रीले एमालेकै कारण संसद अवरुद्ध गरेको भन्ने प्रचार गलत भएको दाबी गरे । ‘एमाले संसदमा एउटा मात्र छ त्यसकारण चार जना सांसदहरु प्रतिपक्षको सिटमा बस्नुपर्छ’ शाहले भने, ‘सरकारमा सामेल हुन उहाँहरूलाई दलको निर्णय चाहिन्छ कसरी सामेल हुनुभयो उहाँहरू ।’
‘कर्णाली सरकार बजेट ल्याउने पक्षमा थिएन । हामीले त्यसमा पहल गरेका थियौँ,’ उनले भने, ‘अहिले बजेट ल्याएको ११ दिन बित्दासम्म पनि दफावार छलफल भएको छैन ।’ शाहले बोले लगत्तै एमाले सांसदहरूले उठेर बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख राजबहादुर शाहीले बजेट जस्तो महत्वपूर्ण विषयमाथि छलफल गर्नुपर्ने भन्दै बसेर समस्या सुनाउन आग्रह गरेपनि एमाले सांसदहरुले उठेर विरोध गरेका हुन् । कर्णाली सरकारले ल्याएको बजेटमाथि ११ दिनदेखि दफावर छलफल हुन सकेको छैन् । बैठक अवरूद्ध भएपछि असार १३ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख राजबहादुर शाहीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया