राजनीति

सहकारी छानबिन समितिले लियो रवि लामिछानेसँग बयान

इकागज |
भदौ ७, २०८१ शुक्रबार १७:४३ बजे

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले रास्वपाका सभापति रवि लामिछानेसँग बयान लिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले लामिछानेलाई बयानका लागि बोलाएको हो । गोर्खा मिडियामा विभिन्न सहकारीबाट गैरकानुनी रूपमा बचतकर्ताको रकम लगानी गरिएको बताइएको छ । यही विषयलाई लिएर केही महिनाअघि सदनमा हंगामा भएपछि छानबिन समिति गठन गरिएको थियो ।


गोर्खा मिडिया नेटवर्कमा काठमाडौँको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम लगायतका सहकारीबाट रकम सारिएको आरोप छ ।

त्यस्तै समितिले शुक्रबार नै गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग पनि बयान लिएको थियो । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसदले गत १५ गते छानबिन समिति गठन गरेको थियो । समितिको तीन महिनाको समय अवधि भदौ २३ गते सकिँदैछ । उक्त समय अवधिभित्रै प्रतिवेदन बुझाउने गरी प्रतिवेदनको मस्यौदा समेत तयार भइरहेको समितिले जनाएको छ । 


Author

थप समाचार
x