राजनीति

प्रधानमन्त्री ओलीद्वारा कमल थापा लिखित पुस्तक लोकार्पण

इकागज |
भदौ १०, २०८१ सोमबार १७:३८ बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले लेखेको ‘नाकाबन्दी र भूराजनीति- कूटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक पुस्तकको लोकार्पण गरेका छन् ।

थापाले पुस्तकलाई ६ खण्डमा बाडिएको र परराष्ट्रसम्बन्धी विभिन्न घटनाक्रमलाई उल्लेख गरिएको बताएका छन् । पुस्तकमा एकीकृत महाकाली सन्धि तथा २०७२ सालमा देशको नयाँ संविधान जारी भएपछि परराष्ट्रमन्त्रीका रूपमा थापाले निर्वाह गरेको भूमिका र त्यसैको सेरोफेरोमा रहेर आफ्ना अनुभूति अभिव्यक्त गरेका छन् ।


पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले सन् १९५० को शान्ति तथ मैत्री सन्धि तथा त्यसयता विकसित दुई देशबीचको सम्बन्धका विविध आयामलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए । विशेषगरी नाकाबन्दीका समयमा भएका घटनालाई थापाले इमान्दारीपूर्वक पुस्तकमा प्रस्तुत गरेको र लामो किसिमबाट विषयवस्तुलाई नतन्काएको पनि उनले उल्लेख गरे । सीमा समस्या, चीनसँगको सम्बन्ध, विभिन्न राष्ट्रप्रमुखहरूसँगको भेट लगायतका विषयवस्तुलाई पुस्तकमा समावेश गरिएको उनले जानकारी दिए ।

उक्त पुस्तक आत्मकथा नभएको पनि थापाले स्पष्ट पर्दै थापाले मुलुकको भूराजनीति, सुरक्षा एवं सामरिक मामिलामा नेपाल र भारतबीच अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिए ।

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन परम्परागत परिभाषा परिमार्जनको आवश्यकता औंल्याउँदै लेखक थापाले आपसी सम्बन्धलाई नयाँ सिराबाट समीक्षा गर्नुपर्ने बताए । लेखक थापा तत्कालीन प्रधानमन्त्रीत्रय लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा परराष्ट्रमन्त्री थिए ।

थापाका यसअघि ‘कर्नेल छत्रबहादुर थापा : एक पटकको सैनिक जीवनभरको सैनिक’ र ‘द्वन्द्व व्यवस्थापन र चुनौती’ पुस्तक प्रकाशित छन् । 


Author

थप समाचार
x