राजनीति

मार्क्सवादी ज्ञान केन्द्रको चौथो साधारण सभा सम्पन्न

इकागज |
भदौ १६, २०८१ आइतबार २१:५२ बजे

काठमाडौँ - मार्क्सवादी ज्ञान केन्द्रको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा शनिबार काठमाडौंमा उपलब्ध ज्ञान केन्द्रका आजीवन सदस्यहरू काठमाडौंमा र काठमाडौं बाहिर रहेका सदस्यहरू भर्चुअल माध्यमबाट एकसाथ भेला भई साधारण सभा सम्पन्न भएको हो। सभाले पुनःतिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ।

ज्ञान केन्द्रको वरिष्ठ उपाध्यक्षमा इन्द्रराज भट्टराई, उपाध्यक्षमा रेशमकुमार अधिकारी, महासचिवमा हुमनाथ न्यौपाने ‘सुदीप’, उपमहासचिवमा दुस्यान्त भट्टराई, सचिवमा सागर अधिकारी र कोषाध्यक्षमा राधिका ओझा चयन भएका छन्।


त्यस्तै, सदस्यहरूमा भीमप्रसाद सुवेदी, भूपनारायण यादव, त्रिविक्रम ज्ञवाली, सीता कडरिया, टीका ओली, डा.शंकर खतिवडा, आस्था घिमिरे, राजुराम सार्की भुल, मीनादेवी नेपाल र लक्ष्मण गुरुङ चयन भएका छन्। त्यस्तै सभाले ज्ञान केन्द्रका विभाग प्रमुख र प्रदेश अध्यक्ष समेत चयन गरेको छ। कोशीमा सीता कडरिया, मधेशमा भूपनारायण यादव, बागमतीमा सागर अधिकारी, गण्डकीमा भीम सुवेदी, लुम्बिनीमा गेहेन्द्र ढकाल, कर्णालीमा जयशंकर धिताल र सुदूरपश्चिममा राजुराम सार्की भुलप्रदेश अध्यक्षमा चयन भएका छन्।​

अध्यक्ष तिमिल्सिनाले ज्ञान केन्द्रले वैचारिक कामलाई अझ सशक्त ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए। नयाँ कार्यसमितिले मार्क्सवादी विचार निर्माणमा महत्त्वपूर्ण योगदानगर्ने विश्वास दिलाए। तिमिल्सिनाले मार्क्सवादी ज्ञान केन्द्रप्रतिको अपेक्षा र भरोसालाई मर्न नदिने प्रतिबद्धता जनाए।​

भेलामा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेतृ रेखा शर्माले कम्युनिस्ट राजनीतिक दलहरूले नयाँ पुस्तालाई गहिरो ढंगले राजनीतिकरण गर्न नसकेको र मार्क्सवादी दर्शन र वैचारिक रूपमा उभ्याउन नसकिरहेको अवस्थामा मार्क्सवादी ज्ञान केन्द्रको प्रयास निकै सह्रानीय रहेको बताएकी छन्। मार्क्सवादी विचार, राजनीति, संस्कार, संस्कृतिप्रति आस्थावान व्यक्तिहरूलाई जोडेर अगाडि बढिरहेको माउनले खुसी व्यक्त गरिन्।

‘मार्क्सवादको लक्ष्य हासिल गर्न विचार निर्माण आवश्यक छ। मानिसहरूलाई सचेत बनाउनुपर्नेछ। कम्युनिस्ट आदर्श र दर्शन अनुकूल आचरण र व्यवहार सञ्चालनको विषयमा सचेत गराउनुपर्नेछ,’ उनले भनिन्, ‘विज्ञान प्रविधिको विकास र बदलिँदो परिस्थिति अनुसारको मार्क्सवाद कस्तो हुने र कसरी ग्रहण गर्ने भन्ने विषयमा एउटा निष्कर्ष निकाल्नु पर्नेछ। यसतर्फ तपाईँहरूको प्रयासहरू केन्द्रित हुने र सफलता हासिल गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु।’

भेलामा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता प्रमेश हमालले मार्क्सवाद निरन्तर विकास हुँदै गएको सामाजिक विज्ञान भएकोले मार्क्सवादी दर्शनबारे सिकाइको प्रक्रियालाई अझ परिपक्व बनाएर लैजानुपर्ने बताएका छन्। सिकाइको कुरामा नयाँ पुस्तासँग आफूहरूमा निराशा रहेको उल्लेख गर्दै उनले मुलुकमा सर्वहारा वर्गको हकहितलाई स्थापित गर्न र नेपाली विशेषताको समाजवाद निर्माण गर्न मार्क्सवादको अध्ययन गर्न जरुरी रहेको बताए। नेपाल अनुकूलको समाजवादी कार्यक्रमको ढाँचा निर्माण निम्ति रणनीति तयार गर्ने दिशामा छलफल र बहसलाई केन्द्रित गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

 


Author

थप समाचार
x