कार्यसूचीमै प्रवेश नगरी कर्णाली प्रदेशसभा बैठक स्थगित
एमालेको आन्तरिक किचलोले प्रदेशसभा प्रभावित
सुर्खेत : पटक पटक अवरुद्ध भएको कर्णाली प्रदेश सभाको बैठक नेकपा एमालेले फेरि अवरुद्ध गरेको छ । आइतबार बसेको संसदको १३ औं बैठक पनि कार्यसूचिमै प्रवेश नगरिकनै अवरुद्ध भएको छ । संसद बैठक अवरुद्ध हुन बजेट ल्याएको १३ दिनसम्म पनि दफावार छलफल हुन सकेको छैन ।
एमाले संसदीय दलले निलम्वित गरेका तीन सांसद प्रवेश गरेपछि एमाले सांसद आक्रोशित भएका एमाले संसदीय दलका नेता यामलाल कँडेलले सर्वोच्च अदालतको आदेश अनुसार उनीहरू एमालेको सांसद भएको र दलीय आचरण अनुसरण गर्नुपर्ने भन्दै आक्रोस पोखे । दलीय आचरण अनुसार अघि नबढे स्वीकार्य नहुने नेता कँडेलले बताए ।
‘हामीले चाहेर वा खोजेर हारगुहार गरेरे होइन उहाँहरूलाई सर्वोच्च अदालतले नै एमाले संसदीय दलको सदस्यको हैसियतमा फर्काइदिएको हो’, आक्रोशित हुँदै कँडेलले भने, ‘सर्वोच्चको आदेश अनुसार नै सभामुखज्यूले पत्र पढेर सुनाउनु भएको हो उक्त पत्र अनुसार सभाभित्रको बसाइ व्यवस्थापन गर्न आवश्यक छ ।’
निलम्वनमा परेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक एवम शहरी विकास मन्त्री अम्मरबहादुर थापा सहभागी भएका थिए । एमालेले उनीहरूलाई संसदीय काम र कारवाहीमा सहभागी गराउन नपाइने माग गरेको छ ।
‘सर्वोच्चले जेठ २७ गते अन्तरिम आदेश दिएर एमालेमै चारजनालाई फर्काइदिएको हो । त्यसमध्ये प्रकाश ज्वाला आइसक्नुभएको छ र तीनजना अहिलेसम्म आउनु भएको छैन’ नेता कँडेलले भने, ‘हामीले तीन पटक उहाँहरूलाई दलको बैठकमा सहभागी हुन पत्र पठाइसकेका छौ ।’
वैशाख ३ गते फ्लोर क्रस गरेर संसदीय दलको निर्णयविरुद्ध जाने चारैजनालाई कारबाही एमालेले गरेको हो । संसदीय दलको सदस्य र पार्टीको साधारण सदस्यबाटसमेत हटाएको थियो । सर्वाैच्च अदालतले सांसद पदको पूर्नबहाली गरेसँगै एमाले संसदीय दलले चार जना सांसदलाई प्रतिपक्षको सिटमा बस्न आग्रह गरेको थियो । दलले भनेबमोजिम प्रकाश ज्वाला प्रतिपक्षको सिटमा बसेका छन् भने तीन जना मन्त्रीहरु सत्तापक्षकै कुर्सीमा बसेपछि एमाले संसदीय दलले तीन जनालाई निलम्बन गरेको हो ।
नेता कँडेलले कर्णाली सरकार जनसत्ताकै अभ्यासअनुसार चलेको आरोप लगाए । ‘वर्तमान सरकार संविधान अनुसार होइन जनसत्ताकै अभ्यास अनुसार अघि बढेको छ’ उनले भने ‘सरकार नेपालको संविधान अनुसार चल्नुपर्छ ।’ आज बसेको बैठक पनि एमालेका सांसदहरूले अवरुद्ध गरेपछि अर्को बैठक असार १८ गते दिउँसो दुई बजे बस्ने गरी स्थगित भएको सभामुख राजबहादुर शाहीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया