राजनीति

युवराज कार्कीलाई राजदूतमा नियुक्त नगर्न सर्वोच्चको आदेश

इकागज |
असार १३, २०७८ आइतबार १८:१७ बजे

फाइल फोटो

काठमाडौँ : बहराइनका लागि सिफारिस भएका युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । कार्कीको शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

आइतबार न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासले कार्कीलाई राजदूतमा नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।मन्त्रिपरिषदले भने राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेर कार्कीलाई राजदूतमा सिफारिस गरेको थियो । मन्त्री भैसकेका व्यक्तिलाई स्नातक तह पास गर्नुपर्ने व्यवस्था हटाएर सरकारले निर्देशिका संशोधन गरेको थियो ।


सोही व्यवस्था अनुसार कार्कीलाई राजदूत सिफारिस गरेको थियो । २०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा कार्की सामान्य प्रशासन मन्त्री भएका थिए । वैशाख तेस्रो हप्ता बसेको मन्त्रिपरिषद्ले कार्कीलाई बहराइनका लागि नेपाली राजदूत पदमा सिफारिस गरेको थियो।

राजदूतमा सिफारिस भएका कार्कीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता दीपकविक्रम कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

 
 


Author

थप समाचार
x