कर्णालीका किसानलाई सुनको हलो दिन्छौं : मन्त्री शाही
सुर्खेत : कर्णालीका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट कर्म गर्ने किसानलाई सुनको हलो प्रदान गरिने बताएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार आयोजित ‘१८औं राष्ट्रिय धान दिवस-२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा मन्त्री शाहीले आगामी आर्थिक वर्षदेखि उत्कृष्ट काम गर्ने कृषकलाई सुनको हलोले सम्मान गर्ने बताए ।
प्रदेशमा कृषि उत्पादनमा वृद्धि गर्नुका साथै कृषकहरुलाई प्रोत्साहनको लागि पनि सुनको हलो प्रदान गर्ने कार्यक्रम ल्याएको बताए । ‘आगामी वर्षको नीति कार्यक्रम तथा बजेटमा कृषक प्रोत्साहनको कार्यक्रमलाई समावेश गरेका छौ’ कृषिमन्त्री शाहीले भने, ‘कर्णाली सरकारले कृषिमा आत्मनिर्भरताको विकास गर्न उत्कृष्ट कृषक सहित अन्य कृषकलाई पनि सम्मान गर्ने कार्यक्रम राखेको छ ।’
शाहीले कर्णालीमा कोदो, फापर, मकै, चिनो, कागुनो जस्ता रैथानी बाली उत्पादन गर्न लाग्नुपर्नेमा जोड दिए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले धान खेतीको महत्वलाई बुझेर सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आएको बताए । प्रदेशमा धान खेती कम हुने भएपनि सबैभन्दा अग्लो स्थानमा धानको खेती हुने भएकाले यहाँको महत्व उच्च रहेको उनले बताए ।
धान खेती मासिँदै जाँदा पोषण तथा खाद्य सुरक्षा सुनिश्चित हुन नसक्ने भएकोले खेती योग्य भूमि बचाउन सरकारदेखि नागरिक तहसम्मले जिम्मेवारीका साथ लाग्न उनले आग्रह गरे । अघिल्लो वर्षदेखि ‘मेरो किसानः मेरो अन्नदाता’ भन्ने नारा ल्याएको प्रदेश सरकारले अब कृषिलाई आधुनिकीकरण गरी व्यवसायिकतामा जोड दिने नीति अख्तियार गरेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया