राजनीति

संसदीय पद्धतिका निम्ति फैसलाले नयाँ ढोका खोलेको छ : अधिवक्ता ओमप्रकाश अर्याल

इकागज |
असार २८, २०७८ सोमबार १४:२ बजे

काठमाडौँ ः संविधानको रक्षाका निम्ति सर्वाेच्च अदालतको संवैधानिक इजलासले स्वतन्त्र र निर्भीकतापूर्वक आफ्नो फैसला सुनाएको छ । यो धेरै खुसीको कुरा हो । हामीले जसरी सार्वभौम नागरिकको थलो प्रतिनिधि सभा निरन्तर क्रियाशील हुनुपर्छ भन्ने पक्षमा वकालत गरेका थियौ, त्यसलाई बलियो हुने गरी अदालतबाट आदेश आएको छ ।   

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा संविधान र संसदीय पद्धतिमाथि भएका प्रहार निस्तेज गर्नुपर्छ भन्ने माग थियो । त्यो माग अदालतद्वारा स्थापित भएको छ । सर्वाेच्च अदालतले ठहर खण्डको अन्तिमको मात्रै ठहर मात्र सुनाइएको हुँदा प्रधानमन्त्री–राष्ट्रपतिका विषयमा के बोलिएको छ भन्ने हेर्न पाइएको छैन । अदालतले संविधानमाथिका गम्भीर खतराबारे बोलेको छ । 


सर्वाेच्च अदालतले संविधानतः जसरी पनि प्रतिनिधि सभा बचाउनुपर्छ, संसदीय स्थायित्वको सिद्धान्तलाई स्थापित भएको छ । संसद् बचाउन सांसदले ह्वीप पनि उल्लंघन गर्न सक्छन् र सांसदहरुमा त्यो अधिकार अन्तर्निहित छ भन्ने देखाएको छ । संसदलाई बचाउने र संसदको रक्षा गर्ने सन्दर्भमा अन्तर्निहित अधिकार प्रयोग गर्न सकिन्छ भन्ने मान्यता स्थापित भएको छ ।

दलको नेताले गडबडी गरेको खण्डमा पनि सांसदहरुले आफूमा अन्तर्निहित अधिकार प्रयोग गरेर संसद बचाउन सक्छन् । अकालमै संसद विघटनबाट बचाउन सक्छन् भनी संविधान ७५ (५) को व्याख्या भएको छ ।

सर्वाेच्च अदालतको आजको यो फैसला एकदमै ऐतिहासिक हो । संसदीय प्रणाली भएका मुलुकमा यस्तो किसिमको प्रचलन पढ्न पाएका थिएनौँ । आज जुन फैसला आयो यसले नयाँ अध्याय स्थापित गरेको छ । संसदीय पद्धतिका निम्ति यो फैसलाले नयाँ ढोका खोलेको छ भन्ने मलाई लाग्छ । यो हालसम्मका विधिशास्त्रभन्दा एक कदम अघि बढेर आदेश आएको छ ।

अब जसरी कुनै प्रधानमन्त्रीले प्रतिनिधि सभामाथि बारबार खेलवाड गरिएको थियो । त्यसमा पूर्णतः ढोका बन्द गरिएको छ । संसदबाट सरकार बन्ने स्थिति हुँदासम्म प्रतिनिधि सभा विघटन हुँदैन भन्ने मान्यता स्थापित भएको छ । संसदबाट सरकार बन्ने आधार रहेसम्म कसैले पनि राष्ट्रपति–प्रधानमन्त्रीले जसरी स्वविवेकीय अधिकार हो भन्दै आएका थिए, त्यो असंवैधानिक हो भन्ने आदेश अदालतबाट भएको छ ।

अब संसद बचाउनु सांसदको कर्तव्य हो भन्ने मान्यता स्थापित भएको छ । संविधान र संसदको रक्षाका लागि जसरी पनि एउटा निकास निकाल्नुपर्छ भन्ने कर्तव्य सम्झाइदिएको छ ।  


Author

थप समाचार
x