राजनीति

विरोध खतिवडा भन्छन् : संसद्लाई स्थायित्व दिन १४६ सांसदले देउवालाई विश्वासको मत दिनुपर्छ

पुष्पराज आचार्य |
असार ३०, २०७८ बुधवार ११:२ बजे

काठमाडौँ : बहिर्गमन हुँदै गर्दा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘मेरो सदिच्छा छ, संसद पूर्ण कार्यकाल चलोस् । तर त्यसमा मलाई शंकै छ ।’ त्यसलगत्तै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा मन्त्रीमण्डलमा माओवादी केन्द्रलाई अर्थ मन्त्रालय दिएर आफ्ना विश्वासपात्र बालकृष्ण खाँडलाई गृहमन्त्री बनाएपछि ओली निकट एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमा नव नियुक्त प्रधानमन्त्रीको प्राथमिकता अर्थ नभएर गृह मन्त्रालयमा भएपछि देश निर्वाचनमा जाने उल्लेख गर्दै स्ट्याटस लेखेका छन् । 

सर्वोच्चको फैसलापछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्चको फैसलापछि देशले नयाँ राजनीतिक कोर्स लिएकाले अब आफूले शेरबहादुर देउवालाई विश्वासको मत नदिने र एमालेको एकता सुदृढ गर्न लाग्ने प्रतिक्रिया दिएपछि घटनाले नयाँ मोड लिएको थियो । नेपालको उक्त अभिव्यक्तिपछि देउवा सरकारले विश्वासको मत नपाउने र संसद पुनः विघटन भएर ६ महिनाभित्र निर्वाचन हुने धेरैले लख काटेका थिए । 


अहिलेको सबैभन्दा पेचिलो प्रश्न पनि यही हो । के देउवाले विश्वासको मत पाउँछन् त ? संघीय संसदमा एमाले एकढिक्का हुँदा उसको १२१ सीट छ भने प्रधानमन्त्री देउवाको दलको जम्मा ६३ सीट मात्र छ । त्यस्तै पहिलो चरणमा देउवासँग सत्ता सहकार्य गरेको माओवादीको ५३ सीट अनि बाँकी जनता समाजवादी पार्टीको ३४ सीट राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र गरी चार सीट छन् । जनता समाजवादी पार्टी एकढिक्का छैन । उपेन्द्र यादव र बाबुराम भट्टराईको समूहले देउवालाई प्रधानमन्त्री बनाउने गरी हस्ताक्षर गरेका छ भने महन्थ ठाकुर र राजेन्द्र महतोको समूहले ओली सरकारमा सहभागिता जनाएको थियो । यद्यपि औपचारिक रूपमा उक्त दल विभाजन भैसकेको छैन । 

संसदीय अंकगणित अनुसार एकमत हुँदा देउवाले विश्वासको मत पाउने सम्भावना कम छ । तर सर्वोच्च अदालतमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४६ सांसदले विश्वासको मत दिनुको विकल्प नहुने एमालेका सांसद विरोध खतिवडा बताउँछन् । ‘१४६ सांसदले सर्वोच्च अदालतमा हामी संसदको स्थायित्व कायम गर्छौं, पूर्ण कार्यकाल चलाउँछौं भनेर हस्ताक्षर बुझाएको होइन ?,’ उनले प्रश्न गरे, ‘उनीहरूले अब संसदलाई स्थायित्व दिने प्रतिवद्धताबाट पछि हट्नु अदालतको अपमान हुन्छ ।’ त्यसकारण देउवालाई विश्वासको मत दिने या नदिने भन्ने प्रश्न नै नभएको उनले बताए । 

‘१४६ सांसदले धारा ७६ (५) अनुसार प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर गरेका हौं, सोही अनुसार अदालतले फैसला दिएको हो,’ उनले भने, ‘यो वास्तवमा संसद पूर्ण कार्यकाल चलाउने प्रतिवद्धता हो । यो नै यो संसद पूर्ण कार्यकाल चल्छ, स्थायित्व पाउँछ भन्ने आधार हो । यसमा थप केही प्रश्न नै हुन सक्दैन ।’
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x