राजनीति

कांग्रेसमा विवाद : पूर्वजिल्ला सभापति र पूर्वसांसदकै सदस्यता खोसियो

सन्तोष अधिकारी |
साउन १, २०७८ शुक्रबार १९:५ बजे

काठमाडौँ : नेपाली कांग्रेसले आफ्नै पूर्व जिल्ला सभापति तथा पूर्वसांसदको क्रियाशील सदस्यता खोसेको छ । आफ्नो पक्षमा बहुमत पुर्‍याउन नेताहरू क्रियाशील सदस्यता वितरण तथा नवीकरणमा एकले अर्कोलाई हस्तक्षेप गरिरहेका छन् । 

यही चपेटामा परेका नेता हुन् कांग्रेस बाराका पूर्व सभापति लालबाबुसिंह भूइहार । उनीसहित बारा, धनुषालगायतका जिल्लाका कांग्रेसी नेता-कार्यकर्ता कांग्रेस मुख्यालय सानेपामा धर्ना दिइरहेका छन् ।


उनले आफूमात्रै नभई कांग्रेसकै उमेद्वार भएर जिल्ला विकास समितिको सभापति निर्वाचित भइसकेका राजेन्द्र यादव, कांग्रेसकै जिल्ला कार्यसमितिका सदस्य प्रमोद यादवको सदस्यता नवीकरण नगरी नाम हटाएको भन्दै आपत्ति जनाए ।

'पार्टी कब्जा गर्ने, पार्टी होइन गुट बलियो बनाउने खेल खेलिरहेका छन्,' भूइहारले इकागजसँग भने, 'हामी जो कांग्रेस भनेरै लागियो, केश सेतै भइसक्यो । कति दु:ख गरेर संगठन बनायौँ अहिले केही नेता आएर हामीलाई नै कांग्रेसको सदस्यताबाट हटाउँछन् । योभन्दा दु:ख लाग्दो क्षण अरु के हुन्छ ?' नेपाल विद्यार्थी संघका सहमहामन्त्री भइसकेका राजेश रौनियारको पनि सदस्यता नवीकरण नगरी सदस्यता खोसिएको छ ।

भूइयारसँगै सानेपामा धर्नामा बसेका अर्का नेता हुन् धनुषाको सबैला नगरपालिकाका नगरप्रमुख समेत रहेका विजयशंकर प्रसाद शाह । उनी कांग्रेसबाटै उमेद्वार बनेर मेयर निर्वाचित भएका हुन् । तर, उनको पनि कांग्रेसको ढड्डाबाट क्रियाशील सदस्यता गायब पारिएको छ । उनको पनि सदस्यता नवीकरण नगरी नाम हटाइएको हो । 

उनले सबैला नगरपालिका -९ मा पहिले १६० जना क्रियाशील सदस्य रहेको १८३ जना थप भएको जानकारी पाएको बताए । दोब्बरभन्दा बढी सदस्य थप हुँदा आफूले केही जानकारी नपाएको उनको गुनासो छ । 'म नगरपालिकाको मेयरमात्रै होइन,' इकागजसँगको कुराकानीमा उनले भने, 'म त कांग्रेसको नगर सभापति पनि हुँ नि । अनि नगरपालिकामा क्रियाशील सदस्यता थप हुँदा, सदस्यता नवीकरण  हुँदा नगरसभापतिलाई कुनै जानकारी नहुने भन्‍ने हुन्छ ? हामी यो ज्यादती सहनुहुन्न भनेर पार्टी कार्यालयको मूलढोकामै धर्ना बसेका हौँ ।'

उनले धर्नाबारे पार्टी सभापति र क्रियाशील सदस्यता छानबिन समितिलाई जानकारी गराइसकेको पनि बताए । उनले आफूसँगै त्यहाँको वडा सभापतिलाई पनि कुनै जानकारी नभएको बताए । उनले क्षेत्रीय सभापतिले वडा सभापतिको हस्ताक्षर कीर्ते गरेर सदस्यता वितरण तथा नवीकरणको पत्र पठाएको आरोप पनि लगाए ।

उनले नगरपालिकाको १३ वटै वडामा क्रियाशील सदस्यता वितरण तथा नवीकरणमा नगरसभापतिको हैसियतमा आफ्नो हस्ताक्षर नभएको पनि बताए । 'नगरपालिकाभित्र सदस्यता वितरण तथा नवीकरण भयो भनिएको छ,'  उनी भन्छन्, 'तर, कुनै पनि सदस्यको फाइलमा मेरो हस्ताक्षर छैन ।' 

सानेपामा धर्ना बस्ने अर्का नेता हुन् संविधान सभा सदस्य रामअयोध्याप्रसाद यादव । उनले पनि वडा सभापतिको हस्ताक्षर कीर्ते गरेर क्रियाशील सदस्ता वितरणमा मनलाग्दी गरेको भन्दै आक्रोश पोखे । 'यहाँ कुनै कुनै वडामा त वडा सभापतिले जम्मा ४० वडा फारममा हस्ताक्षर गरे । तीमध्ये २० फारम भराउने २० वटा गायब बनाउने अनि थप ४० वटा फर्जी फारम बनाएर पठाउने काम भएको पाइयो,' यादवले भने ।

के भन्छ छानबिन समिति ?

छानबिन समितिका सदस्य प्रदीप पौडेल बारा, धनुषालगायतका जिल्लाको विवाद आउनुमा महाधिवेशन मुखमा सदस्यता वितरण गर्नुलाई दोषी ठान्छन् । 'चार/पाँच वर्ष निदाएर बस्छन् जब महाधिवेशन आउन लाग्छ त्यो बेलामात्रै सदस्यताको काम गरिने परिपाटी छ त्यसले निम्त्याएको समस्या हो,' उनी भन्छन्, 'सदस्यता वितरणलाई भोट बैंकको रुपमा लिन थालियो त्यसैले विवाद चुलियो ।'

कांग्रेस महाधिवेशन १६ भदौका लागि तय भएको छ । महाधिवेशन कार्यतालिका अनुसार असार मसान्तसम्म क्रियाशील सदस्यता छानबिन समितिले सबै काम टुंग्याएर सभापति शेरबहादुर देउवालाई अन्तिम नामावली बुझाउनुपर्ने हो तर विवादका कारण यो टुंगिनै सकेको छैन । क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई बुझाउने समय असार ३० नै थियो । तर छानबिन समितिभित्रै विवाद चर्किँदो छ ।

गत असार ४ गते बसेको केन्द्रीय समितिको बैठकले साउन १२ मा वडाको अधिवेशन, साउन १६ मा गाउँ/नगरपालिकाको अधिवेशन, साउन २० मा प्रदेश सभा क्षेत्रको अधिवेशन,  साउन २३ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, साउन २६ मा जिल्ला अधिवेशन र प्रदेश अधिवेशन भदौको १ र २ गते गर्ने निर्णय गरेको थियो । अहिले कांग्रेसभित्र यो तालिका हेरफेर गर्नेबारे छलफल पनि सुरु भएको छ ।


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x