श्रीलंकाली राजनीतिमा राजापक्ष परिवारको असुरक्षित राज
काठमाडौँ- गोताब्य राजापक्ष दुई वर्षअघि श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित भए । उनी आफू त राष्ट्रपति भइहाले, उनको परिवारका सदस्यहरू पनि सरकारमा छन् । तर पनि उनी चिन्तित छन् ।
कारण, सरकारमा परिवारका सदस्यहरू धेरै भएकोमा होइन । बरु थोरै भएकामा चाँहि चिन्ता हो । झट्ट सुन्दा यो, गोताब्यमाथिको व्यङग्यझैँ लाग्न सक्छ । तर गोताब्यको क्रियाकलाप यस्तै छ ।
गोताब्यका भाई महिन्दा प्रधानमन्त्री हुन् । सन् २०१५ मा निर्वाचनमा पराजित हुनुअघि उनी १० वर्ष श्रीलंकाका राष्ट्रपति रहे । गोताब्यका अर्का भाई चमाल सिंचाई मन्त्री छन् । चमालका छोरालाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । महिन्दाका छोरा नमाल पनि मन्त्री हुन् । उनको भागमा युवा तथा खेलकुद मन्त्रालय छ । अनि उनी डिजिटल प्रविधि तथा उद्यम विकास मन्त्रायल पनि हेर्छन् । तर राज्य मन्त्रीको हैसियतमा । मन्त्रालयका काम कारबाहीबाट फुर्सद निकालेर उनी सामाजिक सञ्जालमा झुमिन्छन् ।
गोताब्यका अर्का भाई हुन्, बासिल । ६९ वर्षीय बासिललाई राजापक्ष परिवारको ‘बे्रन’ मानिन्छ । उनी परिवारका लागि राजनीतिक र अन्य रणनीति बनाउन व्यस्त रहन्छन् । राजापक्ष परिवारले श्रीलंका पोडुजना पेरामुना (एसएलपीपी) नाम गरेको नयाँ पार्टी स्थापना गर्दा बासिलको भूमिका उल्लेख्य रहेको बताइन्छ । एसएलपीपीको सहयोगमा राजापक्ष परिवार सत्तामा फर्कियो । एसएलपीपीलाई निर्वाचनमा विजय गराउन बासिलको डिजिटल माध्यममा प्रचार प्रसार गर्ने काइदा निर्णायक सावित भयो । आलोचकरू बासिलले सामाजिक सञ्जालको प्रयोग गरी जातिय ध्रुविकरण गराएको आरोप लगाउँछन् । जसले बहुसंख्यक सिंहालीलाई एसएलपीपीको पक्षमा मत जाहेर गर्न प्रेरित गर्यो ।
हुन त श्रीलंकामा निर्वाचनको माहेल छँदा बासिल भने जेलमा थिए । त्यो पनि भ्रष्टचारको मुद्दामा । जेलबाटै उनले सबै रणनीति बनाए । र, जेलबाट निस्कने बित्तिकै मन्त्री बने । बासिललाई मन्त्री बनाउन संविधान नै संशोधन गर्नुपर्ने अवस्था थियो । किनभने उनी अमेरिकी पासपोर्टधारी हुन् । त्यसकारण संविधानतः उनले श्रीलंकामा उच्च ओहोदाको जिम्मेवारी पाउने थिएनन् । अनि उनलाई मन्त्री बनाउन संसद्मा सिट पनि खाली गराउनु पर्ने थियो । अन्ततः गत साता उनी अर्थ मन्त्री बने ।
बासिलले अर्थ मन्त्रालय सम्हाल्दै गर्दा श्रीलंकाली अर्थतन्त्र खराब अवस्थामा छ । यस्तोमा श्रीलंकाले अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग सहयोग माग्ने अनुमान गरिएको छ । तर राजापक्ष सरकारसँग चीनसमक्ष थप आर्थिक सहयोग माग्ने उपाय पनि छ । जसलाई उसले प्रयोग गर्न सक्छ । अनि श्रीलंकाका लागि आइएमएफको ढोका ढकढकाउनु भन्दा मित्र चीनसमक्ष पुग्न नै सहज हुन्छ ।
राजापाक्ष परिवारबाट जे जस्तो निर्णय आउँछ, त्यसको मुख्य उदेश्य आफ्नो परिवारलाई फाईदा पुर्याउने नै हुन्छ । यस्तोमा बासिलको नयाँ कदम के हुन सक्छ ? सायद आर्थिक अवस्था सुधार गर्न आवश्यक गृहकार्य गर्ने । जसले राजापाक्ष परिवारलाई पुन सत्तामा फर्काउन सक्छ । हुन त संसद् र राष्ट्रिपतीय निर्वाचन आउन पर्याप्त समय बाँकी छ । फेरि राजापाक्ष परिवार सत्तामा फर्कने सम्भावना बलियो छ भन्ने अवस्था पनि नरहेको बताइन्छ । यसका विविध कारण छन् ।
पहिलो कारण त ७२ वर्षीय महिन्दाको स्वास्थ्य नै हो । प्रधानमन्त्री महिन्दाको स्वास्थ्य हालका दिनमा खराब हुँदै गएको हल्ला चलिरहेको छ । हुन त बासिलले सरकारमा महिन्दाको स्थान लिन सक्छन् । प्रधानमन्त्री बन्न सक्छन् । तर उनले महिन्दाको लोकप्रियतालाई प्रतिस्थापन गर्न भने सक्ने छैनन् । राजापक्ष परिवारले पाएको ख्यातीको मुख्य कारण नै महिन्दा हुन् ।
महिन्दा सरकार वा राजनीतिमा नभएको खण्डमा राजापक्ष परिवारका बाँकी सदस्यहरूले शक्ति सन्तुलन गुम्न नदिन उल्लेख्य भूमिका खेल्नु पर्ने हुन्छ । हुन त गोतब्य आफैँ पनि शक्तिशाली छन् । रक्षा मन्त्रालय उनकै नेतृत्वमा छ भने खुफिया एजेन्सी पनि उनी नै चलाउँछन् । सन् २००९ मा श्रीलंकाले गृहयुद्धलाई बलपूर्वक टुङगो लगाउँदा उनै गोतब्य रक्षामन्त्री थिए । त्यसकारण सुरक्षा मामिलामा उनी अनुभवी छन् । त्यसकै नतिजा हो, विभिन्न सुरक्षा विभागमा उनी निकट नेतृत्वमा रहेको ।
यद्यपि गोताब्यका पनि सीमितता छन् । उनीसँग श्रीलंकाली नागरिक ढुक्क छैनन् । गोतब्या सन्काहा भएकाले कतिबेला के निर्णय गरिदिन्छन् टुङ्गो नहुने बताइन्छ । उनका अगाडि केही समस्या पनि छन् । विदेशबाट आयात हुने रासायनिक मलमा प्रतिबन्ध लगाइएपछि कृषक आक्रोशित छन् । गृहयुद्धका पीडितहरू असन्तुष्ट र आन्दोलित छन् । राष्ट्रिय रक्षा विश्वविद्यालय ऐनका कारण प्राध्यापक तथा शिक्षकहरू आन्दोलित छन् ।
फेरि एसएलपीपी भित्रै पनि असन्तुष्टि छ । पार्टीमा राजापाक्ष परिवार हावी भयो भन्दै असन्तुष्टि जाहेर भइरहेको छ । फेरि श्रीलंकाली नागरिकको स्वभाव पनि विचार गर्नुपर्ने आवश्यकता छ । श्रीलंकाली इतिहासले के देखाउँछ भने, त्यहाँका नागरिक आफूलाई मन नपरेको सरकारविरुद्ध उत्रिन्छन् । त्यसकारण राजापक्ष परिवारको सरकारमाथि बलियो पकड हुनु उनीहरू आफ्नै लागि कमजोरी पनि हो । (दी इकनमिस्टबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया