राजनीति

कांग्रेसमा आसन्न संकट

झाङ्गलझुङ्गलमा कांग्रेस, राष्ट्रिय राजनीतिमा भूमिकाबारे अलमल

पुष्पराज आचार्य |
साउन २, २०७८ शनिबार २१:३३ बजे

काठमाडौँ–  आगामी निर्वाचन केन्द्रित राजनीतिक ध्रुवीकरण तीव्र बन्ने स्पष्ट संकेत देखिएको छ । एमाले र माओवादीबीचको एकता भङ्ग भएपछि यसको नेतृत्व गरेका दुई अध्यक्ष दुई ध्रुवका शक्ति निर्माण गर्ने अभियानमा देखिन्छन् । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जनता समाजवादीका महन्थ ठाकुर, राजेन्द्र महतो समूह तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापा लगायत नजिकिएका छन् । अर्को ध्रुवमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललेएमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई, नेकपाका नेता नेत्रविक्रम चन्द, मोहन वैद्य लगायतसँग संवाद अघि बढाएका छन् ।


दाहालको समूहले संविधान र लोकतन्त्र भनिरहेको छ भने ओली नेतृत्वको शक्ति भने संशोधनवादी चरित्रको देखिन्छ । यो ध्रुवीकरणले वाम शक्तिसँग गठबन्धन गरिरहेको नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा कस्तो भूमिका हुन्छ भन्ने चासो बढ्दै गएको छ । नेपाली कांग्रेस नेता महेश आचार्य सबैजसो दलहरू कमजोर (फ्रजाइल) भएको अवस्थामा अहिले मुलुकको राजनीतिक कोर्स कसरी अघि बढ्छ भन्ने नै स्पष्ट नभएको बताउँछन् । 

एमालेमा जारी विवादपछि राजनीतिक ध्रुवीकरणले एउटा आकार ग्रहण गर्ने देखिन्छ । त्यसले संसदको आयु पनि निर्धारण गर्छ । यदि मुलुक निर्वाचनमा नै जाने भयो भने ध्रुवीकरणको प्रक्रिया अझै तीव्र हुने देखिन्छ । 

संसदीय फ्लोरमा वाम शक्तिहरूसँग सहकार्य गरेको नेपाली कांग्रेसका लागि राष्ट्रिय मुद्दामा स्वतन्त्र विचारले अघि बढ्ने ठाउँ पनि गठबन्धनले अतिक्रमण गरेको खण्डमा त्यो प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेसका लागि घाटाको सौदा साबित हुने बताउँछन् नागरिक समाजका अगुवा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल । एमालेभित्रको विवाद र संसदीय अंकगणितले सरकारको नेतृत्व संविधानको ७६ (५) अन्तर्गत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातमा आएपनि यसका सीमितताहरू छन् । जसले राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिकालाई खुम्च्याएको छ । 

नेपाली कांग्रेस र माधवकुमार नेपाल समूहले भड्किला, अपरिपक्व र अन्तरर्निर्मित अस्थिरता  (इनबिल्ट इन्स्टेबिलिटी)भएका दलसँग कसरी सहकार्य गर्लान् ?

देउवाका लागि आगामी दिनमा गठबन्धनसँग कति सम्झौता गर्ने या नगर्ने भन्ने चुनौती एकातिर छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा नै ओलीको विकल्पको खोजी दल फुटेर पुरानै दलहरू बनेपछि सत्ताको नेतृत्व कांग्रेसको भागमा आइपुगेको हो । ‘कम्युनिष्ट पार्टीभित्रको आन्तरिक समस्याका कारण अहिलेको अवस्था सिर्जना भएको हो । उनीहरू धृतराष्ट्रको अँगालोमा थिए, जसको निरन्तरता सम्भव थिएन,’ नेपाली कांग्रेसका नेता महेश आचार्य भन्छन्, ‘कम्युनिष्टहरूकै कारण मुलुकमा विघ्न समस्या आउँदैछ भनेर हामीले भनेका थियौं । निर्वाचन घोषणापत्रमा अवसरवादी चरित्र को हो भनेर जनतालाई चिनाएका छौं । अन्ततः त्यस्तै भयो पनि ।’

संसदलाई बचाउन पनि सरकार दिनुपर्ने बाध्यात्मक अवस्था र संसदको अंकगणितले सत्ताको नेतृत्व कांग्रेसले पाएपनि सत्ताको चावी (सत्ता टिकाउने आधार) ऊसँग छैन । अहिलेको अवस्थामा कांग्रेस माओवादीसँग फेरी लगनगाँठो कस्न आइपुगेको छ, जसले अघिल्लो निर्वाचनका बेला गठबन्धन सरकारलाई धोका दिएर एमालेसँग एकता घोषणा गरी निर्वाचनमा होमिएको थियो । ‘गठबन्धन भित्र पनि हरेक दलका आफ्ना स्वार्थ र रणनीति हुन्छन् । त्यसमा कांग्रेस अलमलिनुपर्ने कारण नै छैन,’ राजनीति शास्त्रका प्राध्यापक कृष्ण खनाल भन्छन्, ‘यस्ता रणनीतिक गठबन्धन निश्चित प्रयोजनका लागि बन्छन् ।’ 

खनालले एमालेको उदाहरण दिदैं माधवकुमार नेपाल समूहले समानान्तर रूपमा एमालेका गतिविधिलाई निरन्तरता दिन गाह्रो हुने भन्दै अन्ततः ओलीबाहेक अन्य वामपन्थी दलहरू मिलेर २०७४ मा जस्तै नयाँ वाम गठबन्धन तयार गर्न सक्ने सम्भावना रहेको बताए । ‘त्यो अवस्थाले राष्ट्रिय राजनीतिमा पर्ने प्रभावबारे कांग्रेस स्पष्ट हुनुपर्छ,’ उनले भने । 

संसदीय अंकगणितले सत्ताको नेतृत्व हात पारे पनि कांग्रेसले राष्ट्रिय राजनीतिमा आफ्नो 'स्पेस' गुमाउँदैछ ।

नेपाली कांग्रेसका नेता महेश आचार्यले खासगरी आफूलाई कम्युनिष्टका रूपमा चिनाउने पार्टीहरूमा निहीत अवसरवादी संस्कार र परिपक्वताको अभावका कारण मुलुकमा समस्या उत्पन्न भएको भन्दै कांग्रेसले प्रणालीको रक्षा गर्ने र मुलुकलाई स्थायित्व दिने भरपर्दो संस्थाको रूपमा आफूलाई सुदृढ गर्दै लैजानुपर्ने बताउँछन् । नेपालका कम्युनिष्ट पार्टीहरूमै अन्तर्निर्मित अस्थिरता रहेको र संसदमा परीक्षण समेत भैनसकेका शक्तिहरूसँग पनि एकताको चर्चाले उक्त गठबन्धनमा रहेको कांग्रेसलाई जत्तिकै असमञ्जस्यता ओलीले  टिक्न नदिए अर्को कम्युनिष्ट पार्टीको परिकल्पनामा रहेका माधवकुमार नेपाल समूहलाई समेत हुनसक्ने जानकारहरू बताउँछन् । 

यद्यपि ओली समूहले भने आफ्नो सरकार नेपाली कांग्रेसका कारण नभई एमालेकै अन्तर्द्वन्द्वका कारण ढलेकाले कांग्रेससँग ठूलो तिक्तता नभएको उल्लेख गरेको छ । दक्षिणपन्थ र वामपन्थको यो झाङ्गलझुङ्गलले कांग्रेस शिथिल हुने हो कि यसलाई रणनीतिको रूपमा लिएर संविधान र लोकतन्त्रको पक्षमा लड्ने स्वतन्त्र र सुदृढ शक्तिका रूपमा स्थापित गर्छ त्यो समयक्रमले निर्धारण गर्ने प्राध्यापक खनालको भनाइ छ । 
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x