राजनीति

टिप्पणी

एमाले विवाद उत्कर्षमा, अब कसरी होला छिनोफानो ?

पुष्पराज आचार्य |
साउन ३, २०७८ आइतबार १५:१८ बजे

काठमाडौँ– प्रमुख विपक्षी एमालेको विवाद उत्कर्षमा पुगेको छ । यसअघि पनि विवाद उत्कर्षमा पुगेको भनिए पनि अध्यक्ष केपी शर्मा ओलीले सत्ता लम्ब्याउन कारबाही र कारबाही फिर्ताको सिलसिला चलाउँदै आएकाले एमाले नेतृत्वको सम्बन्धमा ठूलो उतारचढाव देखिदैं आएको थियो । माधवकुमार नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि त्यी सांसदलाई एमालेका सांसद मान्न नसकिने ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताएका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिएलगत्तै नेपाल समूहका सांसदलाई कारबाही गर्न अध्यक्ष ओली तम्तयार रहेका छन् । 

यद्यपि सर्वोच्च अदालतले भने संविधानको धारा ७६ (५) अन्तर्गतको प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको छ । एमालेले कारबाही गरेपनि नेपाल पक्षका सांसदहरू स्वतन्त्र सांसदको हैसियतमा रहन सक्छन् । विश्वासको मतसँगै एमालेले पार्टीभित्रको अन्तर्द्वन्द्वलाई कसरी व्यवस्थापन गर्छ, प्रधानमन्त्री ओली अझै उग्र भएर पुनः कारबाही गर्ने अवस्थाले भने फागुनदेखिको विवाद क्रमशः निष्कर्षतर्फ अघि बढ्नेछ । जानकारहरूले बताएका छन् । 


प्राध्यापक कृष्ण खनाल ओलीले मौकापरस्ती अपनाउँदै आएकाले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी दिन एमालेभित्र समानान्तर अभ्यास अघि बढाउने र क्रमशः सत्ताच्यूत भएका ओलीको पार्टीमा शक्ति कमजोर हुने बताउँछन् । ‘ओलीले कारबाही गरेपनि उहाँहरूले समानान्तर एमाले चलाउनुहोला,’ खनालले भने, ‘तर, नेपालले जस्तो पार्टीको कल्पना गर्नुभएको छ । त्यो एमालेको विधानबाट अब सम्भव छैन । ओली ७० वर्ष पुगेपछि उनलाई नेतृत्वमै टिकाउन विधान नै संशोधन हुने पार्टीबाट उहाँको उद्देश्य कसरी पूरा होला र !’

अहिलेसम्मको घटनाक्रममा एमालेका सांसदहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी देखिन्छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन् । सर्वोच्च अदालतमा १४६ सांसदले हस्ताक्षरसहित संसद पाँच वर्षको बाँकी अवधि चलाउने गरी संविधानको धारा ७६ (५) अन्तर्गत सरकार दिन समर्थ रहेको व्यहोरासहित दायर गरेको रिट निवेदनमा अदालतले दिएको फैसलापछि केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका हुन् । 

असार २८ मा  सर्वोच्चको फैसला आउनु अघिल्लो एमालेको एकताका लागि ओली समूह र नेपाल समूहका नेताहरू सम्मिलित कार्यदलले १० बुँदामा सहमति जुटाएको थियो । उक्त सहमति भएपनि अदालतको फैसलापछि पदमुक्त भएका केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा पुगेर आफ्नै सरकार गिराउने माधव नेपालहरूलाई एमालेमा कुनै ठाउँ नरहेको भाषण गरेका थिए । 

शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकमा ओलीले कार्यदलको कुरा सुन्ने जमर्को गरेनन् । ओलीले यसअघिदेखि नै संकटमा पर्दा वरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ता गर्ने र आफूलाई सजिलो परेका बेला गालीगलौज र कारबाही जस्ता मौकापरस्ती उपाय अपनाउँदै आएका छन् । 

सर्वोच्च अदालतले फागुन २३ मा फैसला गरी एमाले र माओवादी भिन्न बनाइदिएपछि ओलीले यसअघि पनि माधवकुमार नेपालसँग चार पटक वार्ता गरेका छन् । पहिलो वार्ता एमालेको कार्यालय धुम्बाराहीमा दुवै पक्षका नेताहरूको उपस्थितिमा भएको थियो भने त्यसपछि एउटा वार्ता बुढानीलकण्ठस्थित एक व्यापारीको घरमा भएको थियो भने अरु दुईओटा वार्ता मेरियट होटलमा एक्लाएक्लै (वन–अन–वन) वार्ता भएको थियो । यद्यपि कुनै निष्कर्ष निस्किएन । नेता नेपालले ओलीमा ठूलो दम्भ र अहंकार भएकाले मिलेर जान सक्ने स्थिति नभएको बताउँदै आएका थिए ।

ओलीको ध्यान नेपाल समूहलाई ‘अल्मल्याउने’ र ‘उपयोग’ गर्नेमा देखिन्छ । ओलीले अपमान गर्ने, हुर्मत लिने, साइबर सेना लगाएर नेपाल समूहका नेताहरूको मानमर्दन गराएकोमा नेपाल समूहले आपत्ति जनाउँदै आएको छ । ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले दुई वा सो भन्दा बढी दलहरू मिलेर सरकार गठन गर्ने धारा ७६ (२) को व्यस्था अन्तर्गत सरकार गठनका लागि आह्वान गरेकी थिइन् । 

त्यसको समयसीमा सकिने अन्तिम दिन ओलीले नेपालसँग वार्ताका लागि बुढानीलकण्ठमा बोलाएका थिए । अलमल्याएर अर्को पक्षलाई निस्तेज पारेका ओलीलाई त्यसपछि राष्ट्रपतिले धारा ७६ (३) अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको नेताका रूपमा प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अस्तित्वमा रहँदा ओलीलाई पुष्पकमल दाहाल र माधकुमार नेपाल समूहले कारबाही गरेपछि ओलीले आफू पक्षमा केन्द्रीय सदस्यहरू थप्दै भनेका थिए, ‘म कसैलाई हटाउँदिन, कारबाही पनि गर्दिनँ ।’ तर फागुन २३ को फैसलाबाट एमाले र माओवादी छुट्टीएपछि भने उनले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने रवैया देखाउने र सत्तामा संकट परेपछि पुनः त्यसलाई फिर्ता लिएर वार्ता गर्ने मौकापरस्ती उपाय अपनाउँदै आएका थिए । 'ओलीले एमालेभित्र पुराना र अवसर पाइसकेकालाई होइन, नयाँलाई अवसर दिनुपर्छ भनेपनि आफू भने एउटा पनि पद छाड्न तयार देखिएनन् ।,' एमाले विवाद मिलाउन गठीत कार्यदलका एक सदस्यले भने, 'उनको रेवैयाले एमालेको एकता अनिश्चित बनेको छ ।'


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x