राजनीति

‘सिन्धुपाल्चोक र मनाङमा विशेष प्याकेज ल्याएर जनताको जीवन रक्षा गर्नुपर्छ’

इकागज |
साउन ७, २०७८ बिहीबार २०:२५ बजे

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले मनाङ र सिन्धुपाल्चोकमा विशेष प्याकेज ल्याएर त्यहाँका मानिसको जीवन रक्षा गर्नुपर्ने बताए । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले मनाङ र सिन्धुपाल्चोकमा विशेष प्याकेसहितका कार्यक्रम राखेर त्यहाँका मानिसको जीवन रक्षा गर्नुपर्ने बताएका हुन् । गृहमन्त्री खाणले नागरिकको जीवन रक्षाका लागि नै राज्य बनेको भन्दै जनता पहिलो प्राथमिकतामा रहेको बताए ।  नेपालमा प्राकृतिक विपद्हरु हरेक वर्ष कल्पना गरेभन्दा धेरै भएको उनको भनाइ छ ।   

खाणले वातावरणमा आएको परिवर्तन र पृथ्वीमा बढिरहेको तापक्रमको वृद्धिले पनि चुनौती थपिएको बताए । ‘हामीलाई तीव्र रुपमा विकास चाहिएको छ, सबै जनतालाई सेवा सुविधा चाँडै दिऔँ भनेर सोचिरहेका छौँ, यसले पनि कतिपय ठाउँमा प्राकृतिक विपद्हरु बाढी पहिरो वा डुबान भोग्नु परेको छ,’ उनले भने, ‘नारायणगढ मुग्लिन सडकमा यति ट्राफिक चाप बढ्यो । त्यसैले त्यो सडक साँघुरो भयो । यसलाई फोरलेन बनाउन सकियो भने मात्र पनि जनतालाई सुविधा हुन्थ्यो भनेर पहाड तासियो ।’ 


सिन्धुपाल्चोकको बाढीमा परेका अधिकांश घरहरु नक्सा पास नभई बनाएको उनको भनाइ छ । उनले अहिले सरकारले घटनाको गहन अध्ययनभन्दा तत्काल जीवनको रक्षा गर्ने कुरालाई प्राथमिकतामा राखेर काम गरेको बताए ।   


Author

थप समाचार
x