राजनीति

‘बर्खे बिदामा चन्‍द’ : दौडधुप के का लागि ?

विनोद देवकोटा |
साउन ८, २०७८ शुक्रवार १०:० बजे

काठमाडौँ- ‘दुई वर्षे भूमिगत जीवन’पछि नेत्रविक्रम चन्द सार्वजनिक भएको साढे चार महिना भयो । साढे चार महिनाको अवधिमा चार महिना बढी समय उनी गृहजिल्ला कपिलवस्तुमै व्यस्त भए । केन्द्रीय समितिदेखि भेला र प्रशिक्षणसमेत उतै केन्द्रित भए । हुनत बेलाबेलामा उनी काठमाडौँ आउँथे । तर, काम सकेर कपिलबस्तु फर्किहाल्थे । 

कोभिड महामारीका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै उनी असार अन्तिममा काठमाडौँ आए । त्यसपछि उनी कपिलबस्तु फर्केका छैनन् । काठमाडौँमै भेटघाटमा सक्रिय छन् । सुरु(असार २९)मा उनले नेकपा नेता हेमन्तप्रकाश वलीलाई भेटे । हिरासतमै स्वास्थ्यमा समस्या देखिएपछि वली अस्पताल भर्ना भएका थिए । (हाल रिहा भइसकेका छन् ।) वलीलाई भेटेको भोलिपल्ट चन्द नेकपाको सचिवालय बैठक बस्यो ।


काठमाडौंमै बसेको बैठकले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र राजनीतिक मुद्दामा दलका नेताहरूसँग भेटघाटलाई तीब्रता दिने निर्णय गर्‍यो । बिहान सचिवालय बैठक सकेर ३० गते नै चन्दले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेटे । भेटमा सचिवालय सदस्य धर्मेन्द्र सदस्यसमेत सामेल थिए । दाहालसँगको भेटबाट सुरु भएको चन्दको बर्खे भेटघाट त्यसपछि बाक्लियो । उनले क्रमसः एमाले अध्यक्ष ओलीसहित, नेता माधव नेपाल, जसपा नेता डा. बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य, एमालेमा रहेको पूर्व माओवादी नेतागायतसँग चरणबद्ध छलफल गरिरहेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरिसकेका छन् । सुरुमा चन्द र सचिवालय सदस्य बास्तोला भेटघाटमा सहभागी थिए भने अहिले प्रवक्ता खड्गबहादुर विश्वकर्मासमेत सामेल छन् । 

कसलाई कहिले भेटे ?
- २०७८ असार ३० गतेः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा भेट

- असार ३१ गतेः नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट, लगत्तै नेपाल-दाहालसँग संयुक्त भेट ।

- साउन १ गतेः जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईसँग भेट 

- अर्थमन्त्री जनार्दन शर्मासँग भेट

- साउन २ गतेः नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यसँग भेट

- साउन ३ः पूर्वमाओवादी(हाल एमाले) नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साहसँग भेट । 

- साउन ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट 

- साउन ६ गते प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट

प्राय सबै मुख्य दलका नेताहरूसँगको भेटघाटपछि अब थप केही नेताहरूलाई भेट्ने कार्यक्रम छ । यसबाहेक सहिद परिवार र केही कानुन व्यवसायी र नेताहरूसँग पनि व्यक्तिगत भेटघाट भएको कार्यालयसचिव असल क्षेत्रीले जानकारी दिए । उनकाअनुसार अब नेकपा (मसाल)का महासचिव मोहनविक्रम सिंह, जसपा अध्यक्ष उपेन्द्र यादव र नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलाई भेट्ने कार्यक्रम छ ।

दौडधुप के का लागि ?
पछिल्लो समयको दौडधूप केका लागि ? यसमा चन्द नेकपाका नेताहरूको रेडिमेड जवाफ छ, ‘सरकारसँग भएको तीन बुँदे कार्यान्वयनका लागि । योबाहेक अरु कुनै विषय नभएको उनीहरूले दाबी गर्छन् । चन्द नेकपाले तीन बुँदे सहमति सरकारसँग गरेको हो । सरकारलाई नभनी दलका नेताहरूसँग तीन बुँदेका विषयमा के कुराकानी गर्नुहुन्छ ? सचिवालय सदस्य धमेन्द्र बास्तोलाले थोरै खुलाए, ‘वर्तमान व्यवस्थाको विकल्प खोज्नुपर्छ भन्‍ने हाम्रो भनाइ हो । वर्तमान व्यवस्थाबाहिर बृहत् कम्युनिष्ट एकता हाम्रो एजेण्डा हो ।’ उनले फेरि बचाउ गरे । ‘तर, अहिलेको छलफलमा यस विषयमा कुराकानी भएको छैन । हामी सहमति कार्यान्वयनमै केन्द्रित छौँ ।’

नेकपा नेताहरू प्राय मिडियामा बोल्न मान्दैनन् । केही कुरा बोल्ने जिम्मा प्रवक्ता विश्वकर्मा र तत्कालीन वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेलाई दिइएको छ । तर, उनीहरू अक्षर अक्षर केलाएर मात्रै बोल्छन् । जवाफ रेडिमेड हुन्छ, ‘तीन बूँदे कार्यान्वयनका लागि वातावरण बनाउन राजनीतिक घेटघाट ।’  तत्कालीन वार्ता टोलीका सदस्य चलाउने पनि सहमति कार्यान्वयनका लागि आग्रह गर्न भेटघाट भइरहेको बताए । 

दलका नेताहरूसँग एक चरणको छलफल सकिएपछि यहाँहरूको निष्कर्ष के हो ? सचिवालय सदस्य बास्तोलाले भने, ‘अहिलेको राजनीति धेरै अस्थिर भयो भन्‍ने प्रायः सबै दलको छ । व्यक्त गरे पनि नगरे पनि,’ उनले भने, ‘एउटा एउटा स्टेप त चालिरहेका छन् । तर, त्यो स्थायी छैन । परिवर्तन सबैले चाहेका छन् । तर, कसले आँट गर्ने भन्‍ने कुरा छ । अहिलेको व्यवस्थाप्रति सबैमा संसय छ । फेरि पनि अस्थिरता नै आउँछ भन्‍ने छ । चुनावपछि पनि आउने यस्तै अस्थिरता नै हो भन्‍ने छ ।’ उनले आफूहरूले प्रगतीशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादको विषय स्पष्ट रूपमा राखेको बताए । अहिलेको राजनीतिक समस्याको समाधान पनि यही भएको उनको दाबी छ । 

हाल एमालेमा रहेको पूर्व माओवादी नेता टोपबहादुर रायमाझीले आफूहरूबीच राजनीतिक विषयमा छलफल भएको जानकारी दिए । चन्दसँग लामो समय सहकार्य गरेका रायमाझीले चन्द नेकपाका मुद्दामा आफूले सक्दो पहल गर्ने वचन दिएको समेत बताए । ‘उहाँहरूलाई पछिल्लो समय शान्ति प्रक्रियामा ल्याउन पनि मैले योगदान गरेको थिएँ,’ उनले भने, ‘हाम्रो राजनीतिक भेटघाट हो । उहाँहरूले आफ्ना कुरा राख्‍नु भयो । उहाँहरूको कुरा तत्काल जनमत संग्रहमा जाऔ भन्‍ने छ । दोस्रो एकीकृत जनक्रान्ति भन्‍नुहुन्छ । तत्कालीन कार्यनीति भनेको जनमत संग्रह हो । कार्यदिशा भनेको एकीकृत क्रान्ति भन्‍ने छ । त्यसलाई कार्यन्वयन गरौं भन्‍ने छ । हामीले पनि अब हतियारबन्द युद्धको जरुरी छैन । शान्तिपूर्ण तरिकाले जनतासँग भोट मागेर परिवर्तन ल्याउन सकिन्छ भन्‍ने कुरा राख्यौँ । अब समावजादी क्रान्तिका लागि अगाडि बढ्नुपर्छ । भेटघाटलाई बाक्लो बनाऊ भन्‍ने कुरा भयो ।’

बामपन्थी धुव्रीकरण र एकताका विषयमा समेत आफूहरूले पहल गर्ने उनले बताए । यसविषयमा पार्टीमा समेत छलफल गर्ने उनको भनाइ थियो । राजनीतिक विश्लेषक हरि रोक्का चन्दको दौडधुप बन्दी कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताकै विषयमा केन्द्रित हुनसक्ने बताउँछन् । त्योबाहेक अहिले तत्कालै राजनीतिक उपलब्धी नहुने उनको भनाइ छ । ‘रिहाइका लागि गएका होलान् । त्यो स्वाभाविक हो,’ उनले भने, ‘जनमत संग्रह त्यतिकै हुँदैन । त्यति सजिलो पनि छैन । चाहना राख्‍न पाइने भयो । त्यो भनेको के हो ? त्यसको आवश्यकता किन हो ? त्यो कस्तो प्रणाली हो ? त्यसका अवयवहरू के हुन् भन्‍ने प्रष्ट नभइ हुन्छ जस्तो लाग्दैन । ‘अन्यथा पान्डोराज बक्स’ खोलेको जस्तो पनि हुन्छ सक्छ । सबै राजनीतिक पार्टी सहमत हुनुपर्यो । त्यसका लागि सजिलो विषय त होइन । 

राजनीतिक मुद्दामा सहमति खोज्दै
चन्दको दौडधुपममा तीन बुँदे कार्यान्वयन मात्रै होइन अन्य केही विषय पनि छलफलका विषय हुन् । पहिलो प्राथमिकतामा तीन बुँदे नै भए पनि राजनीतिक मुद्दामा सहमति खोज्ने प्रयास पनि उनीहरूको छ । चन्द नेकपाका एक नेताकाअनुसार पार्टीको पहिलो सर्त हिरासतमा रहेका नेता-कार्यकर्ताको रिहाइ नै हो । उनीहरूमाथिका मुद्दा फिर्ता नै हो । तर, सँगसँगै राजनीतिक मुद्दामा पनि नेताहरूसँग छलफल भइरहेको छ । ‘हामीले बन्दी रिहाइ र मुद्दा फिर्ताका लागि मात्रै सरकारसँग सहमति गरेका होइनौँ,’ इकागजसँग उनले भने, ‘मुख्य मुद्दा नै राजनीतिक विषय हो । जुन कुरा तीन बुँदेमा पनि उल्लेख छ । राजनीतिक मुद्दा छलफल र संवालका माध्यमबाट हल गरिने भनिएको छ । राजनीतिक मुद्दा समाधान भएन भने पूरानै अवस्थामा फर्किनुपर्ने हुन्छ । त्यो नहोस् भन्‍ने हाम्रो चाहना हो । यही कुरा स्पष्ट रूपमा संसदवादी दलका नेताहरूसँग राख्‍ने पार्टीको नीति हो । कुनै पनि हालतमा वर्तमान व्यवस्थामा हामी चुनावमा जाँदैनौँ । हाम्रो राजनीतिक मुद्दा यथावत छ । संसदीय चुनाव त हामीले फेरि पनि बहिस्कार गर्नुपर्ने अवस्था आउन सक्छ ।’

अबको एक डेढ वर्षमा आवधिक निर्वाचन हुन्छ । त्यतिबेलासम्म वा अघि नै जनमत संग्रह गर्नुपर्ने वा त्यसका लागि सहमति खोज्नुपर्ने उनीहरूको नीति छ । अन्यथा संसदीय चुनाव फेरि पनि बहिस्कार गर्नुपर्ने अवस्था आउनेतर्फ उनीहरू सचेत छन् । सोही कुरा महासचिव चन्दले बुधबार सार्वजनिक रूपमै व्यक्त गरे । जनमत संग्रह होला र ? गर्न देलान् र ? यो दिने कुरा हो र ? यो त लिने कुरा हो,’ बुधबार उनले भने, ‘तपाईं हामीले गल्लीगलीमा भन्‍नुपर्छ । घरघरमा भन्‍नुपर्छ । नभए खोसेर ल्याउने हो । लड्ने हो युवाहरू ।’


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x