राजनीति

मन्त्रिपरिषद् विस्तार

जसपाले नाम नदिए कांग्रेसकै सांसदलाई स्वास्थ्यमन्त्री बनाउने तयारीमा देउवा

इकागज |
साउन १०, २०७८ आइतवार १४:९ बजे

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वास्थ्यमन्त्री तोक्ने तयारी गरेका छन् ।  गठबन्धनको नेतृत्व गरेका देउवाले आफ्नै पार्टीबाट स्वास्थ्यमन्त्री बनाउन लागेका हुन् । 

‘महामारीको बेलामा स्वास्थ्यमन्त्री लामो समय रिक्त भयो । प्रधानमन्त्रीले आज नै स्वास्थ्यमन्त्री नियुत्तिको तयारी गर्नु भएको छ,’ जसपाका एक कार्यकारिणी सदस्यले भने, ‘हाम्रो जसपा एक भए पनि अभ्यास दुई पार्टीको भइरहेको छ । तर, औपचारिक रुपमा दल विभाजन भएको छैन । गठबन्धनको सरकारमा जसपालाई स्वास्थ्यमन्त्रीको भाग परेको चाहिँ सत्य हो । तर, हाम्रो दलको विवादका कारण हामीले नाम टुंग्याउन सक्ने अवस्था छैन । यस्तो अवस्थामा प्रधानमन्त्रीले आफ्नै पार्टीबाट स्वास्थ्यमन्त्री बनाउने पनि भन्नु भएको छ ।’  


कांग्रेसमा कोइराला परिवारबाट स्वास्थ्यमन्त्री बन्ने सम्भावना उच्च छ । ‘महामन्त्री शशांक कोइराला उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्रालयको नेतृत्व गर्न जाने भन्ने कुरा पनि भएको हो । तर, पार्टीको महाधिवेशन पनि आएकोले नजिकै आएकाले उहाँले निर्णय गर्न सक्नुभएको छैन । उहाँले सुजाता कोइरालालाई स्वास्थ्यमन्त्री बनाउने विषयमा छलफल गर्नु भएको छ,’ कांग्रेस स्रोतले भन्यो । 

कोभिड १९ को महामारीको समयमा पनि स्वास्थ्यमन्त्री नियुत्ति नगरेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना हुन थालेपछि देउवाले आज (आइतबार) नै स्वास्थ्यमन्त्री नियुक्त गर्न लागेका हुन् ।  

देउवा कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल समूह) जनता समाजवादी पार्टी (उपेन्द्र समूह) र राष्ट्रिय जनमोर्चाको समर्थनमा संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री बनेका हुन् । उनले संसद्‍बाट विश्वासको मत पनि लिइसकेका छन् । 

देउवाले असार २९ गते राष्ट्रपतिबाट शपथ ग्रहण गर्दा कांग्रेसबाट २ र नेकपा माओवादी केन्द्रबाट २ जना गरी चारसदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए । 


Author

थप समाचार
x