राजनीति

कांग्रेसमा सर्दै ओलीकै रोग, जताततै देउवा हावी भएपछि अर्को पक्ष असन्तुष्ट

इकागज |
साउन १०, २०७८ आइतबार १५:१८ बजे

काठमाडौँ– एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादीको सदिच्छाले सत्ताको नेतृत्व गर्न पुगेपछि नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा हावी भएको भन्दै अर्को समूह असन्तुष्ट बनेको छ । 

प्रदेश मन्त्रीपरिषद गठनदेखि केन्द्रसम्म र पार्टीको क्रियाशील वितरणसम्म देउवा हावी बनेपछि असन्तुष्टी चुलिएको हो । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गण्डकी प्रदेशमा डोबाटे विश्वकर्मालाई मन्त्री नबनाउनु कांग्रेसको अक्षम्य गल्ती भएको बताएका छन् । ‘पार्टीभित्र योगदान, त्यागको मूल्यांकन नै नहुने रवैया ठीक भएन,’ उनले भनेका छन्, ‘कांग्रेसले समाजलाई जवाफ दिनुपर्छ ।’ 


पार्टीको १४औं महाधिवेशनको मुखमा देउवा प्रधानमन्त्री बनेपछि उनले पार्टीभित्र शक्ति सन्तुलन र समायोजनभन्दा पनि सबैलाई पेलेर जाने रणनीति बनाएको कोइराला पक्षको बुझाइ छ । सरकार गठन भएको लामो समय बितिसक्दा पनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । देउवाले आफ्ना समूहबाट अझै मन्त्री थप्न खोजेका छन्, शुरुवातमै गृहमन्त्री र कानुन मन्त्री उनले आफैंले रोजेर बनाएका थिए । अब अरु मन्त्री पनि उनको समूहबाट थप्ने कुरा अर्को पक्षलाई मान्य छैन ।देउवाले रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्ण सिटौला तथा पूर्णबहादुर खड्का लगायतसँग मन्त्रीको नाम दिन भनेका छन् । 

त्यो भन्दा पनि ठूलो असन्तुष्टी महामारीको समयमा राम्रो प्रतिकार्य गर्नसक्ने काबिल व्यक्तिलाई स्वास्थ्य मन्त्री बनाउनुपर्नेमा देउवाले त्यसलाई प्राथमिकतामा नराखेको भन्दै अर्को पक्षले असन्तुष्टी जनाएको छ । त्यसपछि देउवाले शशांक कोइरालालाई उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्री प्रस्ताव गरेका थिए । तर उनले निर्णय नगर्दै त्यसलाई प्रचार गराएर देउवा पक्षले महाधिवेशन लक्षित खेल खेलेको उनीहरूको बुझाइ छ । 

कोइरालाका सहयोगी अतुल कोइरालाले प्रस्ताव आउनेबित्तिकै प्रचारप्रसार समेत भएको देखेर अचम्मित भएको बताए । जसका कारण महामन्त्री शशांक कोइराला असमञ्जसमा परेका छन् ।

सबैभन्दा ठूलो समस्या पार्टीको क्रियाशील सदस्यता वितरणमा छ । पार्टी कार्यालयमा आमरण र रिले अनशन सुरु भएको छ । अन्य दलका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदा समायोजनका नाममा मनपरी क्रियाशील सदस्यता वितरण भएको देउवा इतर पक्षले निष्कर्ष निकालेको छ । सदस्यता छानबिन समितिबाट यो विवाद नटुङ्गीने हुँदा शीर्ष नेताको रोहवरमा बैठक गरेर यसलाई टुङ्गो नलगाउने हो भने महाधिवेशन प्रभावित हुने कोइराला पक्षका एक नेताले बताए । 

क्रियाशील सदस्यतामात्र होइन, देउवाले विभाग र विभिन्न समितिमा पार्टीका योगदानभन्दा आफूप्रति भक्तिभाव (लोयल्टी) देखाउनेलाई मात्र अवसर दिएको आरोप अर्को पक्षले लगाउँदै आएको छ । नजिकिदों महाधिवेशनले कांग्रेसभित्रको विवाद झनै चुलिएको बेला देउवा सरकारको नेतृत्वमा पुगेपछि पूर्ववर्ती सरकारका प्रधानमन्त्री ओलीको रोग कांग्रेसमा सर्ने आकलन गरिएको छ ।


Author

थप समाचार
x